PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चीनसँगको नाका खोल्ने कसरतमा कर्णाली प्रदेश: 'तीन नाका प्रम ओलीले अवलोकन गरिसके'



पी बी खड्का

चीनसँगको नाका खोल्ने कसरतमा कर्णाली प्रदेश: 'तीन नाका प्रम ओलीले अवलोकन गरिसके'
हिल्सा नाका

सुर्खेतः कर्णाली प्रदेश सरकार उत्तरी छिमेकी चीनसँग जोडिएका नाका सञ्चालनमा ल्याउने कसरतमा लागेको छ। दक्षिणमा भारतसँग कुनै पनि सिमा नाका नजोडिएकाले कर्णाली प्रदेश सरकारले उत्तरी नाका सञ्चालन गर्ने योजना प्राथमिकतामा राखेको हो।
 
कर्णालीको समृद्धिका लागि नाका सञ्चालन गर्न आवश्यक औल्याउँदै प्रदेश सरकारले संघिय सरकारलाई समेत नाका सञ्चालनका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ। दुई वर्ष अघि केन्द्र सरकारसँग नाका सञ्चालन गर्ने सहमति भए पनि नाका सञ्चालन हुन सकेको थिएन।

प्रदेशको आर्थिक स्तर माथि उठाउनका लागि र व्यापारीक गतिविधि बढाउने भन्दै उक्त नाका सञ्चालन गर्न प्रदेश सरकार लागी परेको छ। कर्णालीमा ५२ प्रतिशत गरिवी रहेको भन्दै यसलाई तल झारी प्रदेशको विकास र समृद्धिका लागि नाका सञ्चालन गर्न लागेको हो। 

हुम्ला जिल्लाको हिल्सा नाका, मुगुको नाक्चे नाग्ला र डोल्पाको ढोर मोरिला नाका खोल्ने तयारी थालेको छ। कर्णालीको दक्षिणमा भारत संग कुनै पनि सिमाना नजोडिएकाले चीनसंगको नाका सञ्चालन गर्नु एक मात्र विकल्प रहेको छ। चीनसंग अवको एक वर्ष भित्र नाका सञ्चालन गरी प्रदेशको आर्थिक गतिविधि र व्यापार विस्तार गर्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउँदै आएका छन्। 

एक वर्षअघि नै प्रदेश सरकारले हुल्लाको हिल्सा नाका सुरुवात गर्ने र त्यस लगत्तै अन्य स्थानका नाका खोल्ने मुख्यमन्त्री शाहीको भनाई छ। 

‘कर्णाली–रारा पर्यटन वर्षको उद्घाटनको अवसरमा पारेर प्रधानमन्त्री केपी शर्मा ओली ज्यु,लाई पनि अवलोकन गराईसकेका छौँ।’ उनले भने,‘प्रदेश सरकार पनि लागि परिरहेको छ र केन्द्र सरकारले पनि पहल गर्ने छ र नाका छिट्टै सञ्चालनमा आउँछ।’

प्रदेश सरकारले यस अघि नै प्रधानमन्त्री ओलीलाई हुम्लाको हिल्सा नाका, मुगुको नाक्चे नाग्ला र डोल्पाको ढोर मोरिला नाका अवलोकन गराईसकेको छ। उक्त अवलोकन पश्चात प्रधानमन्त्री ओलीले भनेका थिए,‘कर्णालीको विकास र समृद्धिका लागि केन्द्र सरकार सकारात्मक छ, यसका लागि आफुले नाका सञ्चालन गर्न तत्काल प्रक्रिया अघि बढाउँछु।’

यसरी जोडिन्छ तिब्बतसँग सडक सञ्जाल 


नाका सञ्चालनका लागि सरकारले सडक स्तरोन्नति गरी सडक सञ्जाल जोड्न आवश्यक देखिन्छ। कतिपय स्थानमा अहिले सम्म सडक सञ्जालनै सुरु भएका छैनन्। सडक सञ्जालनै सुरु नगरी नाका सञ्चालन गर्न निकै चुनौति पनि छ। सरकारले नाका सञ्चालन गर्नु अगावै सडक सञ्जाल मजबुत बनाउनुपर्ने हुन्छ। 

हुम्लाको सिमीकोट हुदै लिमी र लाप्चा सडकका लागि ९० किलोमिटर रहेको छ भने हुम्लाकै सिमीकोट हुदैँ हिल्सा सम्म ७८ किलोमिटर सडक सञ्जाल जोड्नु पर्ने छ। त्यस्तै, मुगुको गमगढी हुदैँ नाक्चेनांग्ला सडकका लागि ८५ किलोमिटर निर्माण कार्य गर्नु पर्ने छ। 

डोल्पाको दुनै हुदैँ ढोर मोरिला सडक १ सय ६० किलोमिटर निर्माण गरे मात्र चीनको तिब्बतसँग जोड्नुपर्ने छ। 

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णालीको समृद्धिका लागि चीनसंगको नाका व्यापारीक हुने बताए। आर्थिक रुपमा कर्णालीलाई सवल सक्षम बनाउन नाका सञ्चालन छिटो भन्दा छिटो सञ्चालन गर्न तर्फ प्रदेश सरकार लागेको उनले बताए। ‘अहिले प्रदेशको आर्थिक गतिविधि हुने ठाउँ छैन्।’ उनले भने,‘चिनसंगको नाका एक मुख्य विकल्प हो यसले प्रदेशको आर्थिक आम्दानिको बाटो खुल्छ।’ उत्तरी चीनको नाकाले कर्णाली प्रदेशलाई मात्र नभएर प्रदेश ५ को बाँके र बर्दियालाई समेत फाईदा पुग्ने उनको भनाई छ।
 

नाका खोल्न स्थानीय सरकारको माग 


प्रदेशको सिमानासँग जोडिएको चीनसंगको उत्तरी नाका छिटो भन्दा छिटो खोल्न स्थानीय तहका जनप्रतिनिधीहरुले समेत माग गरेका छन्। प्रदेश र स्थानीय सरकारको आम्दानी स्रोत नभएको भन्दै नाका सञ्चालन गरे आर्थिक क्रियाकलाप बढ्ने अपेक्षा गरेका छन्। हुम्ला, मुगु र डोल्पाको नाका तत्काल खोल्न माग गरेका छन्। प्रदेशमा आर्थिक गतिविधि बढाउने महत्वपूर्ण नाका नै भएकाले यसको सञ्चालन गर्नुपर्ने मुगु छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग रोकायले बताए। 

‘प्रदेशको आम्दानी हुने कुनै स्रोत छैन्।’ उनले भने, ‘छिटो भन्दा छिटो नाका सञ्चालन गर्नुपर्छ र प्रदेशको आर्थिक आम्दानीको स्रोत बन्छ।’
 
चीनसंग व्यापारीक सम्झौता गरेर कर्णालीका उत्पादीत बस्तु चीनमा र चीनका सामान कर्णालीमा ल्याउने वातावरण बनाउनु पर्ने बताए। नाका सञ्चालनका लागि स्थानीय सरकारले के गर्नुपर्छ सदैव तयार रहेको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell