PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

के जग्गा किनबेचमा मन्दी नै हो? मालपोत कार्यालयमा घट्यो चाप, साना लगानीका कारोबारी समस्यामा



अमर बडुवाल

के जग्गा किनबेचमा मन्दी नै हो? मालपोत कार्यालयमा घट्यो चाप, साना लगानीका कारोबारी समस्यामा
फाइल फोटो

काठमाडौं : सधैंजसो भिडभाड हुने मालपोत कार्यालयहरुमा मानिसहरुको भिड ह्वात्तै घटेको छ। नयाँ वर्ष लागेपछि कारोबार माथितिर उकासिने अपेक्षामा रहेका घरजग्गाका कारोबार गर्नेहरु यतिखेर निरास छन्। 

काठमाडौं उपत्यकाको घरजग्गा कारोबारमा सबैभन्दा बढी मन्दी लागेको छ। गत महिना उपत्यकामा भएको घरजग्गा कारोबार चालू आर्थिक वर्षकै सबैभन्दा न्यून रह्यो।

विगतमा उपत्यकाभित्रमात्रै मालपोत कार्यालयबाट कम्तिमा ७० करोड रुपैयाँदेखि बढीमा ९६ करोड रुपैयाँसम्म राजश्व संकलन हुँदै आएको थियो। वैशाखमा उपत्यकाका ८ वटा मालपोत कार्यालयले ६३ करोड रुपैयाँमात्रै राजश्व संकलन गरे। गत चैतमा ८६ करोड ३६ लाख रुपैयाँ राजश्व संकलन भएको थियो। उपत्यकाका ८ वटै मालपोत कार्यालयको राजश्वमा ठूलो गिरावट आएको छ।

सबैभन्दा बढी राजश्व संकलन गर्ने डिल्लीबजार, ललितपुर, कलंकी, भक्तपुर, चाबहिललगायत ८ वटै मालपोत कार्यलयको कारोबारमा उल्लेख्य गिरावट आएको छ। कुनै पनि मापलोत कार्यालयले चैतको तुलनामा वैशाखमा बढी राजश्व संकलन गर्न सकेनन्। हरेक महिना २० करोड रुपैयाँ हाराहारी राजश्व संकलन गर्ने डिल्लीबजार मालपोत कार्यालयले चैतमा २१ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो।

डिल्लीबजार मालपोतले वैशाखमा १२ करोड रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ। ललितपुर मालपोत कार्यालयको कारोबार पनि निकै खस्किएको छ। हरेक महिना २० करोड रुपैयाँ हाराहारी राजश्व संकलन गर्ने ललितपुर मालपोत कार्यालयले वैशाखमा १२ करोड मात्रै राजश्व संकलन गरेको छ। गत चैतमा १५ करोड राजश्व संकलन गरेको थियो। कलंकी मालपोत कार्यालयले पनि चैत्रको भन्दा पाँच करोड रुपैयाँ कम राजश्व संकलन गरेको छ। चैतमा १४ करोड ८१ लाख रुपैयाँ राजश्व संकलन गरे पनि वैशाखमा ९ करोड ८२ लाख रुपैयाँ राजश्वमात्रै संकलन गरेको छ।

चाबहिल मालपोत कार्यालयले चैतमा १३ करोड रुपैयाँ राजश्व संकलन गरेकोमा वैशाखमा ११ करोड रुपैयाँ मात्रै संकलन गर्न सक्यो। भक्तपुर मालपोत कार्यालयले पनि चैतमा ९ करोड ७८ लाख रुपैयाँ राजश्व संकलन गरेकोमा वैशाखमा ८ करोड ९५ लाख रुपैयाँ मात्र संकलन गरेको छ। मनमैजु मालपोत कार्यलयले चैत्रमा ४ करोड ७१ लाख रुपैयाँ संकलन गरेकोमा वैशाखमा ३ करोड ४२ लाख रुपैयाँ मात्र संकलन गरेको छ।

साँखु मालपोत कार्यालयले पनि चैतमा तीन करोड ७३ लाख रुपैयाँ संकलन गरेकोमा, वैशाखमा दुई करोड ४६ लाख रुपैयाँ र टोखा मालपोत कार्यालयले चैतमा तीन करोड रुपैयाँ राजश्व संकलन गरेकोमा वैशाखमा दुई करोड १९ लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको छ।

घरजग्गाको कित्ताकाटमा रोक लगाउने सरकारी निर्णयका कारण विगत लामो समयदेखि घरजग्गाको कारोबार प्रभावित भइरहेको थियो। सर्वोच्च अदालतको पूर्ण फैसलाले पनि कृषियोग्य जमिनको खण्डीकरणमा रोक लगाउने निर्णय सदर गरेपछि घरजग्गाको कारोबार अझै खस्किने व्यवसायीले बताए।
 

समस्यामा साना लगानीका कारोबारी

कित्ताकाट रोकिएपछि साना घरजग्गा व्यवसायी समस्यामा पर्न थालिसकेका छन्। वैनामाथि वैना लगाएर कारोबार गर्ने व्यवसायी संकटमा छन्। उनीहरुले बैना हालेर जग्गाको प्लटिङ सुरु गरेका थिए। कित्ताकाट रोकिएपछि जग्गा बिक्री गर्न पाएका छैनन्। 

एक कारोबारीका अनुसार राष्ट्र बैंकले २०६५ मा घरजग्गा कर्जामा सीमा तोकेपछिको मन्दीजस्तो अवस्थामा पुगिसकेको छ अहिलेको अवस्था। 

‘घरजग्गाको मन्दी २०६५ सालको जस्तै छ। अहिले व्यवसायीले घटेर भए पनि जग्गा बिक्री गरेर उम्किने प्रयास गरिरहेका छन्। तर किन्ने मान्छे नभएकोले समस्या अझै बढ्ने देखिएको छ,’ ती व्यवसायीले भने।
 

काठमाडौं बाहिर उस्तै

कित्ताकाटमा प्रतिबन्ध र वित्तीय क्षेत्रमा तरलता अभावले उपत्यका बाहिर पनि घरजग्गा कारोबारमा मन्दी छाएको छ।

गत साउन २६ गते भूमिसुधार मन्त्रालयले कृषियोग्य जग्गाको खण्डिकरण रोक्न अनुमति लिएर वा नलिएर कुनै पनि किसिमले जग्गा प्लटिङमा रोक लगाउने निर्णय गरेपछि कारोबारमा ब्रेक लागेको थियो। वैशाखमा देश भरि नै घरजग्गा कारोबारको राजश्व ४३ करोडभन्दा कम उठेको छ। वैशाखमा १ अर्ब ६३ करोड रुपैयाँ राजश्व संकलन भएको छ। चैतमा २ अर्ब ६ करोड घरजग्गा कारोबारबाट राजश्व उठेको थियो। उपत्यका बाहिर मात्रै वैशाख महिनामा १ अर्ब मात्रै राजश्व उठेको छ। चैतमा उपत्यका बाहिर १ अर्ब २० करोड राजश्व उठेको थियो।

तीनै तहको निर्वाचन सकिएपछि अस्थायी प्रदेश राजधानी सिफारिस भएपछि कारोबार केही बढ्यो तर यो स्थायी भने भएन। वैशाखमा सबैभन्दा धेरै प्रदेश ३ को राजधानी हेटौंडाको कारोबारमा गिरावट आएको छ। वैशाखमा हेटौंडामा ३ करोड ६५ लाख रुपैयाँ मात्रै राजश्व संकलन भएको छ। चैतमा ५ करोड ४० लाख राजश्व संकलन भएको थियो।

प्रदेश २ को राजधानी जनकपुरमा वैशाखमा २ करोड ६४ लाख रुपैयाँ मात्रै राजश्व संकलन भएको छ। जनकपुरमा चैतमा ३ करोड ४९ लाख रुपैयाँ राजश्व संकलन भएको थियो। वैशाखमा प्रदेश १ को राजधानी विराटनगरबाट ४ करोड ५३ लाख रुपैयाँ मात्रै राजश्व संकलन भएको छ। विराटनगरमा चैतमा चार करोड ७३ लाख रुपैयाँ राजश्व संकलन भएको थियो।

कर्णाली प्रदेशको राजधानी सुर्खेत मालपोत कार्यालयले २ करोड ५१ लाख रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ। यो कार्यालयले चैतमा दुई करोड ९३ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो। 

प्रदेश ४ को राजधानी पोखराले भने दुवै महिनामा समान चार करोड ६० लाख रुपैयाँ राजश्व संकलन गरेको छ। प्रदेश ७ को राजधानी धनगढीको कारोबारमा भने सामान्य वृद्धि भएको छ। चैतमा दुई करोड ८० लाख रुपैयाँ मात्र राजश्व संकलन भएको वैशाखमा दुई करोड ९२ लाख रुपैयाँ राजश्व संकलन भएको छ।

त्यसैगरी प्रदेश ५ को राजधानी बुटवलको कारोबारमा पनि समान्य वृद्धि भएको छ। बुटवलले चैतमा चार करोड ४५ लाख रुपैयाँ राजश्व संकलन गरेकोमा वैशाखमा चार करोड ६० लाख रुपैयाँ संकलन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell