PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राउटेले पाएनन् भत्ता



राउटेले पाएनन् भत्ता

कञ्चनपुर : कञ्चनपुरमा बसोबास गर्दै आएका लोपोन्मुख राउटे जातिका तीन परिवारले विगत आठ महिनायता भत्ता पाएका छैनन्। 

सरकारले राउटेलाई मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरेको थियो। तर विगत आठ महिनादेखि भत्ता नपाएपछि आर्थिक अभाव झेल्नु परेको राउटे परिवारको गुनासो छ। 

झण्डै पाँच लाख जनसंख्या भएको कञ्चनपुरमा तीन परिवारमात्रै राउटे समुदायको बसोबास छ। भीमदत्तनगरपालिका–९ खल्लामसेट्टीमा दुई तथा सोही वडाको मटेनामा एउटा राउटे परिवार डेढ दशकदेखि बस्दै आएको छ। दार्चुलाको साविक लाली गाविसबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको उत्तरी क्षेत्रमा अवस्थित खल्लामसेट्टीमा बसाइँ सरेका राउटे परिवार भत्ताकै सहारामा बाँचिरहेका छन्।
 
“गाउँका पसलबाट उधारोमा खाद्यान्न मागेर छाक टार्दैआएका छौँ,” खल्लामसेट्टीका ६६ वर्षीय जयलाल राउटेले भने, “भत्ताको रकमले उधारो तिर्ने गर्छौँ।” लामो समयदेखि भत्ता नपाउँदा परिवारको खर्च टार्न समस्या भइरहेको उने बताए। 

“पहिले त महेन्द्रनगर बजार पुगेर भत्ता लिन्थ्यौँ,” उनले भने, “अहिले वडामै वितरण हुन्छ भन्ने सुनेका छौँ, पाएका भने छैनौँ ।” उनका दुई छोरा मजदूरीका लागि भारत र दार्चुलामा छन्। वन जंगल सामुदायिक वन बनाएपछि काठका सामग्री बनाएर बिक्री गर्न समस्या भएको उनले बताए।

“जोगबुढा बस्दासम्म जंगलबाट काठ ल्याएर विभिन्न सामग्री बनाएर गाउँमा बेचेर खर्च चलाउँथ्यौँ,” उनले भने, “गाउँमा सुख होला भनेको, यहाँ त पानीको प्यास मेटाउन पनि गाह्रो छ।” गाउँमा ज्याला मजदूरीको काम गर्दै आएका उनले स्थानीयदेखि प्रतिनिधिसभाको निर्वाचनसम्म नेताहरुले घरबासको व्यवस्था मिलाइदिने आश्वासन दिएको बताए।

“चुनाव जितेपछि हाम्रो झुपडीमा कोही पनि नेता आएका छैनन्,” उनले भने, “संस्थाको सहयोगले धारा जडान हुँदा धन्न पानी पाएका छौँ।” गाउँमा बिजुली, खानेपानी, सडकलगायत धेरै समस्या रहेको सुनाउँदै उनले तत्काल राउटे भत्ता उपलब्ध गराइदिन मागसमेत गरेका छन्।

“जंगलका जुँ, मँइ, हलो, बनाएर बेच्नुको आनन्द नै बेग्लै थियो।” जयलालले विगत सम्झँदै भने, “कहिलेकाहीँ दुम्सीको मासुसमेत खान पाइन्थ्यो।” 

त्यसैगरी घर नजिकैको खोलामा तटबन्ध निर्माणमा जुटेकी जयलालकी पत्नी कुणीदेवीले भत्ता नपाउँदा पसलेले उधारोमा सामान दिन छाडेको बताए। “कमाइ खान जग्गा छैन, उही उधारोमा बाँचेका छौँ,” उनले भने, “गाउँघरमा मजदूरी गर्दा पाइने रकमले सहयोग पुग्छ।” 

गरिबी निवारण कोषले गाउँमा सञ्चालन गरेको बाख्रापालन तालिममा जयलालकी बुहारी कमला सहभागी भइन। तालिम लिएपश्चात् समूह बनाएर ऋण उपलब्ध गराए बाख्रापालन गर्ने योजनामा रहेकी कमलाले आम्दानी बढ्ने बताइन्। टहरा छाएको त्रिपाल च्यातिएकाले यसपालीको वर्षात् कसरी गुजार्ने भन्ने चिन्ताले जयलाल रहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell