PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

धमलामाथि गीतबाटै हमला : नचिन्ने त को होला र ऋषि धमला …



रीना मोक्तान

धमलामाथि गीतबाटै हमला : नचिन्ने त को होला र ऋषि धमला …

“साँझ दिउँसो बिहान सँधै मिडियामा कराउने

किन होला सबै नेता तिमीदेखि डराउने

धमला धमला ऋषि धमला …  

चर्का कुरा नगर बोली सम्हाल …

नचिन्ने त को होला र ऋषि धमला …”


रिपोटर्स क्लबका ‘स्थायी अध्यक्ष’ ऋषि धमलामाथि बनेको गीतको एक अन्तरा हो यो। धमलामाथि बनेको गीतको रेकर्डिङमा उनी नाचेको भिडियो यतिखेर युट्युबमा निक्कै चर्चित छ। फुरुङ्ग हुँदै गायक, गायिकासँगै रेकर्डिङ स्टुडियोमा ताली पिट्दै गरेका ऋषिको स्थापित थेगो छ - ‘जनता जान्न चाहन्छन्’।

त्यसैले हामीले ऋषिलाई सोध्यौं – कसरी बन्यो गीत, जनता जान्न चाहन्छन्?

+++

६ महिनाअघि धमलालाई फोन आयो - उनीमाथि गीत बनाउने भनेर। टेलिभिजनका क्यामरापर्सनका लागि फ्रेमभन्दा बाहिर पुर्‍याउनै कठिन पात्र गीतका लागि तयार नहुने त कुरै भएन। त्यहीबाट सुरु भयो गीत लेख्न। कुनै पत्रकारलाई केन्द्रमा राखेर गीत तयार भएको सायद यो पहिलो हो। गीत रेकर्डिङ भयो।


‘मेरा साथी र संचारकर्मी सन्तोषले फोन गरेर म तपाईँबारे गीत बनाउँछु। आइदिनु पर्‍यो,’ धमलाले युट्युबमा छाइरहेको गीत रेकर्डिङको प्रसङ्ग सुनाए, ‘बबरमहलको प्रिज्म रेकर्डिङमा गएँ। म त सर्प्राइज भएँ - राधिका हमाल र त्रिपाठी (प्रदीप)जीले गीत बनाएर लगातार गाउँदै हुनुहुँदो रहेछ। मलाई नचाउनुभो।' गीत सुनेपछि मख्ख परेका धमला नाच्न किन पछि हट्थे।


सन्तोष देउजाले धमलामाथि गीत लेखे। लेख्नुअघि ऋषिलाई सोधे – ‘तपाईँबारे गीत बनाएका छौँ, आपत्ति छ कि छैन?’

धमलाले जवाफ फर्काए -  'तपाईँ गीत बनाउनुस्, मेरो आपत्ति छैन।'

जति आलोचना गरे पनि नरिसाउने ऋषिमाथि जोक्स त बनिरहेकै हुन्छ। ट्रोलहरु उत्तिकै। अब गीत। त्यसमा धमलामाथि नै हमला। तै पनि उनी नकारात्मक बनेनन्। उनीमाथिका टिकाटिप्पणीमा उनी कहिल्यै सिरियस भएनन्। वीरगञ्जबाट गीतको सुत्रपात हुँदा उनले आपत्ति जनाउने कुरै थिएन किनकि – नाम होस् या बदनाम, गुमनाम चै हुन चाहन्नन् उनी।


तर, रोचक के भयो भने धमलालाई गीत उल्कै मन परेको छ। गीतपछि पनि उनीमाथि टिप्पणीहरु नओइरिएका होइन। आलोचना सहर्ष स्वीकार्ने बताउँदै भने, 'म आलोचना खेपेको मान्छे हो। म भगवान त होइन। कमी कमजोरी हुन्छन्। गीतको माध्यमबाट मेरा कमी कमजोरी औँल्याइदिएकोमा धन्यवाद।'

नेतामा कमी कमजोरी भएकाले उनीहरुमाथि पनि यस्तै गीत बन्ने तर्क गर्दै गीतलाई सजिलै सामान्यीकरण गर्दिए उनले।

'मैले पत्रकारिता गर्दा मैले बोकेको एजेण्डा कतिलाई मन नपर्ला। गिरिजाप्रसाद कोइरालाले मलाई भन्नुभएको थियो - जो मान्छेको आलोचना हुन्छ, त्यो सफल हुन्छ,' उनले भने।

धमलाको गीत त रेकर्ड भइसक्यो, भिडियो बनिसकेको छैन। धमला आफैं भिडियोमा देखिने तयारी पनि भएको छ। अब उनको अपोजिटमा को होला? पत्नी एलिजा आफैँमा ‘हिरोइन’ छँदैछिन्। के धमलाले एलिजालाई फिचर गर्लान् त गीतमा?

यसबारे कुनै निर्णय भएको छैन। गायक गायिकाले धमला पत्नी नै राख्न सुझाव दिइसकेका छन्। धमलाले भने यसबारे पत्नीसँग कुरा नभएको बताए।

'मलाई धेरैले फिल्मले अभिनयका लागि प्रस्ताव ल्याएका छन्। मैले नकारेको पनि छु। तर, यो गीतका लागि भने समय निकाल्छु,’ उनले भने, ‘आखिर ममाथि बनेको गीत हो।'


उनको विचारमा गीतमा एलिजा हुनैपर्छ भन्ने छैन। ‘गीत युवतीविनाको पनि हुनसक्छ,’ धमलाले भने, ‘शीर्ष नेताहरुसँगको अन्तर्वार्ता राख्ने कुरा पनि छ।‘

गीतमा ऋषिको नयाँ अवतार पाउँदा धमला पत्नी एलिजा दङ्ग छिन्। युट्युबमा अपलोड भएको धमलाको नाच एलिजाका लागि पनि नयाँ रहेछ। यसअघि उनले धमलाको यस्तो अवतार देखेकी थिइनन्। ‘ओहो! खुब नाच्नुहुँदो रहेछ,’ एलिजाको पहिलो प्रतिक्रिया थियो, ‘यसरी नाचेको त मैले देखेकै थिइन।'

यस्तै गीतको कुरा अरुले ल्याए भने ऋषि के गर्लान?

भने, 'नमस्कार गर्छु।'

अर्को अफर आवश्यकता नभएको सुनाए।  

भोलि नजिक रहेका गायक गायिका रिसाउला नि नगर्ने भन्दा?

गायक/गायिका रिसाउलान भनेपछि ऋषि सम्हालिए। अनि भने, ‘राम्रो विषयवस्तु हेरेर गीतमा अभिनय गर्न सकिन्छ।‘

त्यसका लागि तर्क पनि सारे – ‘पत्रकार सबै विधामा पोख्त हुनुपर्छ।‘

धमलाले नछोएको विधा के होला? कला क्षेत्रमा कलम चलाएको पनि दावी गर्न भ्याए उनले। तर, पछिल्लो समय राजनीतिमा केन्द्रित छन्।

'मेरो विषयवस्तु राजनीति नै हो। राजनीतिक पत्रकारिता गर्नेले कला क्षेत्रमा लेख्नु हँदैन, भिडियो खेल्नु हुँदैन भन्ने होइन,’ भने, ‘जनताको माग छ भने गर्नुपर्छ।'

यहाँनेर उनको ‘जनता जान्न चाहन्छन्…’ शैली सुनियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सेलेब्रिटी पत्रकार बताएको सुनाउन भ्याइहाले उनले। ‘धादिङको ज्याम्रुङमा जन्मेको एक सामान्य किसानको छोरो हुँ,’ सेलिब्रिटीमाथि थप ब्याख्या गर्दै भने, ‘बाटोमा हिँड्दा सेल्फी लिनेहरु कति छन् कति।‘ उनी संगीतको पारखी हुन्।

त्यसैले गीत गाउनुस् त भन्नै पर्‍यो। गीत गाउनु उनका लागि ‘जनता जान्न चाहन्छन्…’ भनेजस्तो रहेनछ। तै पनि आफूमाथि बनेको गीत छोटै भए पनि गाए।

त्यसो त धमलाको जोडी म्युजिकल्लीमा नजोडिएको होइन। रिपोटर्स क्लबमै दुवैले म्युजिकल्ली बनाएका थिए। त्यसलाई ठूलो कुरो ठान्दैनन् उनी। 

भारतीय प्रधानमन्त्री, अमेरिकी राष्ट्रपतिमा पनि गीत संगीतप्रति मोह रहेको बताए।

बाध्यता र आवश्यकताका कारणले पनि आफ्नो पत्नीलाई अभिनय गर्न दिएको बताए। तर, वाध्यता के हो? त्यो जनता जान्न चाहे पनि उनले हाँसेरै टारे। अबको २ महिनामा उनको गीतमाथि भिडियो बन्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell