PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुर्खेतका बाढीपीडितलाई चार वर्षदेखि पालकै भर : नमुना वस्ती बनाइदिने प्रदेशमन्त्रीको आश्वासन



पहिलोपोस्ट

सुर्खेतका बाढीपीडितलाई चार वर्षदेखि पालकै भर : नमुना वस्ती बनाइदिने प्रदेशमन्त्रीको आश्वासन

            पूर्णबहादुर खड्का-

सुर्खेतः
सडकको छेउमा धुजा धुजा परेका त्रिपालको झुप्रो। 

पालले न पानी ओत लाग्छ, न घाम नै छेक्छ। यसरी नै चार वर्षदेखि घाम र पानी झेल्दै आएका छन्, सुर्खेतका बाढी पीडित। 

२०७१ साउन ३१ मा आएको बाढीले सुर्खेतमा झण्डै साढे ११ सयको घर खेत बगायो। अहिलेसम्म बाढीको चपेटामा परेका नागरिक वर्षा लागेसँगै ओत लाग्ने ठाउँको ठेगान छैन। 

यस्तै दुःख कष्ट भोग्दै छन् भेरीगंगा नगरपालिका लेखपराजुलका अमर सुनार। साउनको बाढीले घरवास बगायो। बाढीले घर बगाएपछि उनी रत्न राजमार्गको छेवैमा छिन्चु खोला नजिक पाण्डुलेमा पाल टाङेर बस्दै आए। ‘रातारात बाढी आयो,’ उनले भने, ‘परिवार जेनतेन बचाईयो, घर जग्गा केही पनि रहेनन्।’ 

उनी नजिकैको छिन्चु बजारमा मजदूरी गरेर आफ्नो दैनिकी टार्छन्। ‘परिवार पाल्नैका लागि अहिलेसम्म एक लाखभन्दा बढी ऋण लागिसक्यो’ सुनारले दुखेसो पोखाए, ‘सुरुसुरुमा राहत दिन आउँथे, अहिले सबैले विर्सिदै गएर दैनिकी कष्टकर बनेको छ।’ चार वर्षअघि राहतस्वरुप पाएका पाल च्यातिएपछि घाम र पानीबाट ओत लाग्ने ठाउँ पनि बाँकी नरहेको बताए। ‘शिविरको बास हाम्रा लागि राहत दिने भन्दा पनि पीडा दिने बन्दै गएको छ’ उनले भने, ‘जति सक्यो छिटो पालबाट मुक्ति पाउन पाए हुन्थ्यो।’

चुनावको बेला नेताहरुले भोटको शर्तमा सहयोग गर्ने वचन दिए पनि अहिले उनीहरुले विर्सेको उनको आरोप छ। ‘चुनावको बेला खुव आश्वासन बाँडेर भोट मागे,’ उनले भने, ‘अहिले न स्थानीय सरकार न सांसदहरुले घरवास बनाईदिए।’  

हरिहरपुर – ४ की अमृता गन्द्रमाको बाढीपहिरोले दैनिकी निकै कष्टकर बन्दै वितेको छ। गिरीघाटस्थित अस्थायी शिविरमा बस्दै आएकी अमृताको बाढीपहिरोले घरवास गुमाईन्। अमृताको श्रीमान् धन कमाउने खेत जोड्ने सपना लिएर विदेश हानिए। घरमा सासु र ससुराको स्याहार गर्दै दिन बिताउँदै आएकी छन्। पाल मुनीको बसाई बुद्ध सासुससुरासहित २ वर्षको छोरालाई हुर्काउदै आएकी छन्। 

‘यही छाप्रोमा दुई वर्षीय छोरो, सासुससुरा रेखदेख गर्दै दिन गुजारी रहेकी छु,’ अमृताले भनिन्, ‘०७१साउन २९ गते रातिको बाढीले घरबारसँगै खुसी पनि बगाएर लग्यो।’

छिमेकी हरि थापाले यही घटनाका कारण पीडा सहन नसकी आत्महत्या रोजेको उनले सुनाइन्। भनिन् ‘त्यही मानसिक तनावका कारण फागुन ५ गते बगाएको घर नजिकै गएर पासो लगाएर आत्महत्या गरे।’ नजिकैको गिरीघाट खोलामा गिट्टी कुट्दै दिन कटाउने गरेकी छिन् उनी। ‘गिट्टी विक्री भएको साँझ पेटभरी खान पाइन्छ, नभए भोकभोकै सुत्नुपर्छ’ उनले भनिन्।

सरकारले दिएको ५० हजार रुपैया ऋण तिर्दै सकाए। प्रदेश सरकार आएसँगै बाढीपीडितले यही सरकारबाट राहत पाउने आशा गरेका छन्।
सुर्खेतमा १८ वटा अस्थायी शिविरमा बाढीपीडितहरु बस्दै आएका छन्। बाढीपहिरोमा परेर सुर्खेतमा २४ जनाले ज्यान गुमाएका थिए। बेपत्ता भएका ९१ जनालाई पनि राज्यले मृत घोषणा गरेको थियो। 

जिल्ला बाढीपीडित संघर्ष समितिका सचिव बलबहादुर थापाले अब प्रदेश सरकार आएपछि केही आशा लागेको बताए। ‘हामीहरुले पठाएका जनप्रतिनिधि स्थानीय र प्रदेश सरकारमा छन्, अब बाढीपीडितका विषयमा केही निर्णय हुन्छन् कि!'

सरकारको प्राथमिकतामा बाढीपीडित : मन्त्री ज्वाला

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीका बाढीपीडितका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए।

‘प्रदेश सरकारले अहिले तत्काल बाढीपीडितलाई प्राथमिकता दिएर बजेट छुट्टाएका छौँ।’ उनले भने,‘बाढीपीडितका विषयमा संसदमा समेत छलफल भइरहेकाले अब तत्काल छानो हाल्ने तयारीमा छौ।’

प्रदेश सरकारले खास बाढीपीडितको तथ्यांक संकलन गरेर व्यवस्था गर्ने उनले बताए। 

नमूना बस्ती बनाउँछौं : मन्त्री भण्डारी

आन्तरिम मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बाढीपीडितका लागि एकीकृत नमूना बस्ती बनाउने बताए। 

वर्षाैदेखि कष्टकर जिवन विताएका बाढीपीडितहरुलाई जति सक्यो छिटो नमुना बस्ती बसाउने तयारीमा प्रदेश सरकार लागि पर्ने बताए।

‘बाढीपीडितहरुको अवस्था दयनीय छ,’ उनले भने, ‘अब एकीकृत बस्ती निर्माण गरेर बाढीपीडितका दीर्घकालिन समस्या समाधान गछौं।’ प्रदेश सरकार बाढीपीडितको व्यवस्थापनको काममा लागि रहेको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell