PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आइपीएल ११ : प्लेअफ खेल्ने ४ टोली नै पूर्व विजेता, यस्ता छन् विशेषता



गोविन्दराज नेपाल

आइपीएल ११ : प्लेअफ खेल्ने ४ टोली नै पूर्व विजेता, यस्ता छन् विशेषता
फोटो : इएसपिएनक्रिकइन्फो

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ संस्करणको सबै लिग खेल समाप्त भइसकेको छ। अब आएपीएल-११ ले विजेता पाउन चार खेल मात्र बाँकी छ।

लिग चरणको ५६ खेलपछि सहभागी ८ मध्ये अंक तालिकामा शीर्ष चारमा रहन सफल टोली प्लेअफमा पुगेका छन्। ती चारमध्ये एक टिम च्याम्पियन बन्ने पक्का छ।

सनराइजर्स हैदरावाद १४ खेलबाट १८ अंक जोड्दै शीर्ष स्थानमा रहेर प्लेअफ पुगेको हो भने समान १८ अंक नै जोडेको चेन्नाई रनरेटमा पछि पर्दै दोस्रो भएको हो। १६ अंक जोडेको कोलकता नाइटराइडर्स तेस्रो तथा राजस्थान रोएल्स १४ अंक जोड्दै चौथो भयो।

अब प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा हैदरावादले चेन्नईसँग खेल्नेछ। यस खेलको विजेता फाइनल पुग्नेछ। यस्तै कोलकताले पहिलो इलिमिनेटरमा राजस्थानसँग खेल्नेछ यस खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित हुने टोली बाहिरिनेछ।

प्लेअफमा पुग्ने ४ टोलीमा यस पटक अनौठो संयोग समेत जोडिएको छ। चारवटै टोली आइपीएलका पूर्व च्याम्पियन हुन्। यी चार टोलीले १० मध्ये समग्रमा ६ पटक उपाधि जितेका छन्।

यस्तै प्लेअफ पुगेका चेन्नाई र राजस्थान दुई वर्षको प्रतिबन्धपछि यसै सिजन आइपीएलमा फर्केका हुन् र पुनरागमनमै यी दुई टोलीले प्लेअफमा स्थान बनाउन सफल भए।

चेन्नाई र कोलकाताले समान २ पटक उपाधि जितिसका छन् र यी दुई मध्ये एकले यस पटक उपाधि जित्ने सर्वाधिक ३ पटक च्याम्पियन बन्ने मुम्बईको कीर्तिमान बराबरी गर्नेछ।

साविक विजेता मुम्बईसँगै किंग्स एलेभेन पञ्जाव, रोएल च्यालेन्जर्स बैंगलोर र दिल्ली डेयरडेभिल्स भने लिग चरणबाटै बाहिरिएका छन्।

सनराइजर्स हैदरावाद

१४ खेल : ९ जित, ५ हार - १८ अंक

आइपीएल सुरु हुनुअघि नै सन् २०१६ को विजेता हैदारवादलाई कप्तान डेविड वार्नरको प्रतिबन्धले झड्का लागिसकेको थियो। दक्षिण अफ्रिका विरुद्धको टेष्ट क्रिकेटमा बल टेम्परिङ गरेको आरोपमा वार्नर १ वर्षको प्रतिबन्धमा परेपछि उनले आइपीएल खेल्न नपाउने भए। तर हैदरावादलाई वार्नरको अनुपस्थिति खड्किन नदिन नयाँ कप्तान केन विलियम्सनले नेतृत्व र ब्याटिङ दुवैमा शानदार प्रदर्शन गरे। नतिजा, हैदरावादले १४ मध्ये ९ खेल जित्दै शीर्ष स्थानमा रहेर लिग चरण सकायो।

हैदरावादले यसपटक उत्कृष्ट बलिङ प्रदर्शन गर्दै कम स्कोर पनि डिफेण्ड गर्दै खेल जित्यो।

हैदरावदलाई प्लेअफसम्म पुर्‍याउन केन विलियम्सन र शिखर धवनले ब्याटिङमा राम्रो गरे। विलियमसनले १४ खेलबाट ६६१ तथा धवनले १३ खेलमा ४३७ रन बनाएका छन्। यस्तै आइपीएलकै उत्कृष्ट बलिङ अट्याक भएको यो टिमका सिद्धार्थ कौउले १७ तथा रासिद खानले १६ विकेट लिएका छन्। अलराउण्डर सकिब अल हशनले पनि १३ विकेट लिइसकका छन्। सन्दीप शर्माको नाममा ९ विकेट छ। चोटका कारण यस सिजन ९ खेल मात्र खेलेकबा भुवनेश्वर कुमारले ८ विकेट लिएका छन्।

 

चेन्नाई सुपर किंग्स

१४ खेल : ९ जित, ५ हार - १८ अंक

आइपीएलमा अहिलेसम्म खेलेको ९ वटै संस्करणमा प्लेअफमा पुग्ने टोली हो चेन्नाई। सन् २०१० र २०११ मा लगातार दुई पटक च्याम्पियन बनेको चेन्नाई दुई वर्षको प्रतिबन्धपछि आइपीएलमा फर्केको हो। तर महेन्द्र सिंह धोनीको नेतृत्मा रहेको भेट्रान्स खेलाडीहरुको यो टोली यस पटक सहजै शीर्ष चारमा रहँदै प्लेअफमा स्थान बनाउन सफल भयो।

चेन्नाईका लागि यस सिजन ब्याटिङमा ओपनर अम्बाटे राएडुका साथै कप्तान धोनी र शेन वाट्सनले गज्जबको प्रदर्शन गरिरहेका छन्। राएडु ५८६, धोनीले ४४६ तथा वाट्सनले ४३८ रन बनाएका छन्।

यस्तै बलिङमा भने यो टोलीको खेलाडीको प्रदर्शन मिश्रित रह्यो। ११ खेल खेलेका शार्दुल ठाकुर १३ चेन्नईका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्। यस्तै ड्वाने ब्राऐवले १४ खेलमा ११ तथा लुंगी एनगिदीले ९ विकेट लिएका छन्। एनगिदीले आइपीएलको सेकेण्ड हाफको ५ खेल मात्र खेलेका थिए।

 

कोलकता नाइट राइडर्स

१४ खेल : ८ जित, ६ हार - १६ अंक

अक्सनअघि यस सिजनका लागि कोलकताले सुनिल नारिन र आन्द्रे रसेललाई मात्र रिटेन गरेको थियो भने कप्तान गौतम गम्भिर सहित मनिष पाण्डे युसुफ पठान उमेश यादव शकिब अल हशन जस्ता खेलाडीलाई रिलिज गरेको छ।

नयाँ कप्तानका रुपमा विकेटकिपर ब्याट्म्यान दिनेश कार्तितकलाई भित्र्याएको थियो भने यू-१९ का केही युवा खेलाडीलाई अक्सनबाट लिएको थियो। जसकारण यस पटक कोलकताको टिम कस्तो बन्छ, टिम कम्बिनेशन के होला भन्ने क्रिकेट विश्लेषकहरुको कौतुहलता थियो।

तर, कप्तान कार्तिकले सही नेतृत्व प्रदान गर्दै कोलकतालाई प्लेअफमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेले। ‌क्रिस लिन र नारिनको ओपनिङ जोडी अनि रोविन उथापा र कार्तिकको प्रदर्शनमा कोलकताले ८ खेल जित्यो। यस्तै रसेल र युवा खेलाडीहरु शुभमन गिल, कुलदिप यादव र सिवम मावी अनि प्रसिद कृष्णले पनि कोलकताका लागि राम्रो खेले।

कोलकताका लागि लिग चरणमा कप्तान कार्तिकले नै सर्वाधिक ४३८ रन बनाएका छन् भने लिनले ४२५ तथा उथापाले ३४६ रन बनाएका छन्। यस्तै कोलकातालाई गतिलो सुरुवात दिलाउने क्रममा आक्रमक ब्याटिङ गर्ने नारिनले दुई अर्धशतकसहित ३२५ रन बनाइसकेका छन्।

बलिङमा पनि नारिनले नै कोलकाताका लागि सर्वाधिक १६ विकेट लिएका छन्। यस्तै कुलदिपले १४ तथा रसेलले १३ विकेट लिएका छन् भने पियुष चावलाले ११ तथा ५ खेल खेलेको प्रसिदको नाममा ९ विकेट छ।

 

राजस्थान रोएल्स

१४ खेल : ७ जित, ७ हार - १४ अंक

अन्तिम लिग खेलको १६ ओभरसम्म पनि प्लेअफ पुग्ने चौथो टोलीको टुङ्गो लागेको थिएन। तर, अन्तिम खेलमा चेन्नाईले पञ्जावलाई हराउनु तथा त्यसअघि दिल्लीले साविक विजेता मुम्बईलाई पराजित गर्दै आइपीएलबाट आउट गर्नाले राजस्थानको भाग्य चम्कियो।

अन्तिम दिनको दुवै लिग खेल आफ्नो पक्षमा आएपछि राजस्थान प्लेअफ पुग्ने चौथो टोली बनेको हो।

चेन्नाईसँगै दुईवर्षे प्रतिबन्धपछि आइपीएलमा फर्केको राजस्थान सन् २००८ मा भएको पहिलो संस्करणको विजेता समेत हो। त्यतिबेलाको कप्तान शेन वार्नले नै अहिलेको राजस्थान टिम हेरिरहेका छन्।

राजस्थानले अक्सनमा बलर जयदेव उनादकाट र अलराउण्डर बेन स्टोकलाई मँहगो रकममा खरिद गरेको थियो। तर दुवै खेलाडीको प्रदर्शन राम्रो हुन समेन।

राजस्थानलाई प्लेअफसम्म पुर्‍याउन जोस बटलरले सर्वाधिक ५४८ रन बनाए भने सन्जु सामसनले ३९१ तथा कप्तान अजिन्का रहानेले ३२१ रन जोडे।

हैदरावाद जस्तै राजस्थानलाई पनि आइपीएलअघि नै झड्का लागेको थियो। वार्नरसँगै बल टेम्परिङ काण्डमा परेपछि राजस्थानले आफ्नो कप्तान स्टिभ स्मिथलाई गुमाएको थियो।

त्यसका बावजुद पनि नयाँ कप्तान रहानले टिमको नेतृव गर्दै राजस्थानलाई शीर्ष चारमा पुर्‍याउन भूमिका खेले।

राजस्थानका लागि लिग चरणमा ९ खेलमात्र खेले पनि जोफ्रा आर्चरले सर्वाधिक १३ विकेट लिएका छन्। जयदेव उनादकाटले ११ तथा श्रेयास गोपाले १० विकेट लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell