PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अन्नपूर्ण म्याराथन जेठ २० गते हुने



पहिलोपोस्ट

अन्नपूर्ण म्याराथन जेठ २० गते हुने

काठमाडौं : अन्नपूर्ण सेन्चुरी महोत्सवको अवसरमा यही जेठ २० गते अन्नपूर्ण म्याराथन आयोजना हुने भएको छ।

पहिलो पटक अन्नपूर्ण हिमालयको सफल आरोहण भएको अवसर पारेर अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण काठमाडौं समाजको सहआयोजनामा म्याराथन हुन लागेको हो।

सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस हरेजक र लुइस लाछनले पहिलो पटक अन्नपूर्णको सफल आरोहण गरेका थिए र त्यही मितिमा म्याराथन हुन लागेको हो।

अन्नपूर्ण आधार शिविरबाट सुरु भइ कास्कीको अन्नपूर्ण नगरपालिकास्थित घान्द्रुकमा पुगेर म्याराथनको समापन हुने अन्नपूर्ण समाज नेपालका उपाध्यक्ष झलकराम अधिकारीले जानकारी दिए।

आधार शिविर रहेको स्थान झण्डै ४२ सय मिटरको उचाईमा छ र त्यहाँबाट सुरु भएको दौड १६९० मिटर उचाईमा रहेको घान्द्रुकमा पुगेर समापन हुनेछ।

पर्यटनका लागि सबै मौसम भन्ने नाराका साथ अन्नपूर्ण सेन्चुरी महोत्सव जेठ १७ देखि २० सम्म आयोजना हुने र त्यसको अन्ति दिन म्याराथन हुने अधिकारीले बताए।

पहिलो पटक म्याराथन आयोजना गर्न लागेका कारण यसपटक पुरुष खेलाडी र बढीमा १०० खेलाडीलाई सहभागि गराउने समानजका कोषाध्यक्ष ऋषी भण्डारीले जानकारी दिए। 'हिमाली क्षेत्रमा पहिलो पटक म्राथन गर्न लागेका कारण स्वदेशी र विदेशी गरी सय खेलाडीलाई सहभागिता गराउने छौँ। हामी अर्को वर्ष देखि जुन ३ कै दिन यस म्याराथनलाई निरन्तरता दिनेछौँ।' भण्डारीले भने।

म्याराथनमा सहभागि हुने खेलाडीलाई खाना, बस्ने र ट्रान्पोर्टेसनको सम्पूर्ण खर्च आयोजकले नै बेहोर्ने भण्डारीले जानकारी दिए। म्याराथनमा सहभागि हुने खेलाडीले सय रुपैयाँमा नाम दर्ता गर्न सक्नेछन्।

म्याराथनका लागि अन्नपूर्ण गाउँपाकलिका, नेपाल सरकार लगायत स्थानिय व्यावसायी र विभिन्न संघ/संस्थाहरले सहयोग गर्ने समाजका उपाध्यक्ष अधिकारीले बताए।

म्याराथनको विजेताले नगद १ लाख हात पार्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमश: ७० र ५० हजार पाउनेछन्। यस्तै चौथो देखि दशौँ हुने ७ जनालाई सान्त्वाना स्वरुप ८-८ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell