PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

केन्द्र र प्रदेश दुईबीच सम्बन्ध चिस्याउने ४ प्रकरण, मुख्यमन्त्रीको यात्रा रोकिँदा सत्ता र प्रतिपक्षी दुवैको एक स्वर



बीपी साह

केन्द्र र प्रदेश दुईबीच सम्बन्ध चिस्याउने ४ प्रकरण, मुख्यमन्त्रीको यात्रा रोकिँदा सत्ता र प्रतिपक्षी दुवैको एक स्वर

काठमाडौं : मुलुकका सातवटा प्रदेशमध्ये प्रदेश २ मा मात्र केन्द्रीय सत्तारुढ दलको सरकार छैन भलै वाम गठबन्धनको समर्थनमा सरकार बनेको होस्। अन्य छ वटा प्रदेशमा केन्द्रीय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको एकल सरकार छ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको समर्थनमा सरकार गठन भएको भए पनि प्रदेश २ सरकार र केन्द्रीय सरकारबीच सधैँजसो खटपट चलिरहेको छ। हाल एक भएका दुई वाम शक्तिले समर्थन गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेस बन्यो यस प्रदेशमा। सत्तालाई समर्थन गर्दै प्रतिपक्ष पाउने तत्कालीन नेकपा एमालेको प्रयास खेर गएपछि केन्द्रीय सरकारसँगको सम्बन्ध चिसिँदै गएको हो।

अमेरिकामा रहेका मधेशीहरुले आयोजना गर्न लागेको एक कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत जाने तयारी गरेपछि केन्द्रीय सरकारले रोक्यो। यो घटनापछि प्रदेश र केन्द्रबीचको सम्बन्ध थप चिसिएको छ।
 
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका क्रममा मुख्यमन्त्री राउतले दिएको अभिव्यक्ति पनि विवादित भएको थियो।

सत्तारुढ दलका नेताहरुले मुख्यमन्त्री राउतसँग स्पष्टिकरण सोध्नुपर्ने मागसमेत गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि मुख्यमन्त्रीको आलोचना गरेका थिए।

मुख्य चार टकराव

प्रमुख प्रतिपक्षी हुन नपाउँदाको रोष

प्रदेश २ मा मधेशी गठबन्धनको सरकार छ। जसलाई नेकपाको समर्थन छ। नेकपाले समर्थन गरेपछि कांग्रेस विपक्षमा गएको थियो। तर, तत्कालीन एमालेले प्रमुख प्रतिपक्षी पाउनुपर्ने दाबी गर्दै आएको थियो।

संसदमा विवाद जारी हुँदा सभामुख सरोज यादवले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षीको पत्र दिए जसले नेकपालाई चोट पर्योर।

नेकपा अन्तर्गत एमालेका प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले पहिलोपोस्टसित आज भने, ‘सभामुखले एकतर्फी काम गरे। उनीविरुद्ध हामीले महाअभियोग पनि लगाउन सक्छौं।’

नेकपाको प्रदेशका सांसदहरु पनि प्रदेश २ को सरकार तथा मुख्यमन्त्रीसँग रुष्ट छन्।

नामाकंन विवाद

प्रदेशको नामाकंनका विषयमा अहिलेसम्म प्रदेशसभामा छलफल भएको छैन। सरकारले प्रदेशसभामा नामाकंन र भाषाको विषय प्रवेश गराएको छैन।

मधेशी गठबन्धनले प्रदेश २ को नाम मधेश प्रदेश राख्ने सहमति गरिसकेको छ। तर, नेकपा र नेपाली कांग्रेस त्यसको विरुद्धमा छन्।

नेकपा र नेपाली कांग्रेस प्रदेश २ को नाम मिथिला अथवा भोजपुरा राख्ने पक्षमा छन्।
 
मधेशी दलको प्रतिष्ठा बनेको ‘मधेश’ शब्दलाई कुनै पनि हालतमा स्वीकार गर्ने पक्षमा कांग्रेस र नेकपा छैन।

नेपाली कांग्रेस प्रदेश २ को संसदीय दलका नेता रामसरोज यादवले पहिलोपोस्टसँग भने,‘मधेश प्रदेश नाम राख्ने पक्षमा कांग्रेस पनि छैन, वाम दल पनि छैन। अहिलेसम्म सरकारले प्रस्ताव पनि ल्याएको छैन।’

यादवले मुख्यमन्त्रीले धेरै कुरा एकलौटी गर्न खोजेकाले सहयोगमा कमी आएको बताए।

मोदीको कार्यक्रममा भाषण

कांग्रेस संसदीय दलका नेता यादव भन्छन्, ‘मोदीको जनकपुरधाम भ्रमणबारे हामीसँग कुनै छलफल भएन। प्रदेश सरकारले एकलौटी गर्यो। यहाँसम्म कि कार्यक्रममा बस्ने व्यवस्था पनि हाम्रो भएन।’

तत्कालीन नेकपा एमालेको संसदीय दलका नेता मण्डल भन्छन्, ‘मुख्यमन्त्रीले आन्तरिक कुरा मोदीको कार्यक्रममा गर्न हुँदैन थियो। तर, उहाँले गरेर हाम्रो बेइज्जती गराउनु भयो। झण्डा लगायतका विवाद पनि आयो। त्यसबारे अहिलेसम्म स्पष्ट पारिएको छैन।’

मोदीको भ्रमणका क्रममा भएको खर्चको प्रत्येक हिसाब संसदमा मागिने कांग्रेसका संसदीय दलका नेता यादवले बताए।

राउतको भ्रमण अस्वीकृत

मधेशी एसोसिएसन अफ अमेरिकाको पहिलो साधारणसभामा अमेरिका जाने तयारी गरका मुख्यमन्त्री राउतको भ्रमणलाई केन्द्र सरकारले अस्वीकृत गरेको छ।
 
मुख्यमन्त्रीको भ्रमण अस्वीकृत भएपछि प्रदेश सरकारले केन्द्र सरकारसँग कारण माग गर्ने तयारी गर्दैछ। प्रदेश सरकारका प्रवक्ता तथा मन्त्री विजय यादवले केन्द्र सरकारसँग जानकारी लिइने प्रतिक्रिया दिए।

केन्द्र सरकारले पछिल्लो घटनाक्रमहरु बदला लिने उद्देश्यले मुख्यमन्त्रीमाथि अंकुश लगाउन खोजेको आरोपसमेत यादवले लगाए।

केन्द्र सरकारको निर्णयप्रति कांग्रेसको प्रदेश २ का संसदीय दलका नेता यादवले पनि आपत्ति जनाए। 

‘केन्द्र सरकारले मुख्यमन्त्रीको भ्रमण रोक्नु उचित होइन। समाजिक कार्यक्रममा जान लागेका मुख्यमन्त्रीलाई रोकेर केन्द्र सरकारले राम्रो गरेन,’ उनले भने।

उनले पहिले जस्तै रातोपासपोर्ट दिइएका व्यक्तिहरुलाई भ्रमण गर्न दिइनुपर्ने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell