PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगीमा नेपाल च्याम्पियन



पहिलोपोस्ट

दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगीमा नेपाल च्याम्पियन

काठमाडौं : दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपको ग्यरोगी विधामा नेपाल च्याम्पियन भएको छ। आइतबार सम्पन्न सिनियर, जुनियर र क्याडेट गरी तीन विधामै नेपाल च्याम्पियन भएको हो।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको अन्तिम दिनको खेलमा सिनियरतर्फ नेपाली राष्ट्रिय टिम ‘बी’ सम्मिलित टोलीले ८ स्वर्ण र १ कांस्य पदक जित्दै नेपाललाई च्याम्पियन बनायो। नेपाल आर्मी (उपत्यका डिभिजन)ले ३ स्वर्ण, ७ रजत र २ कांस्य पदक जित्दा दोस्रो स्थान हात पार्‍यो।

बंगलादेशले १ स्वर्ण, १ रजत र ३ कांस्य पदक जित्दै तेस्रो भयो। सिनियरतर्फ राष्ट्रिय टिम ‘बी’ का रेजिना कार्की र विक्रान्त डंगोल बेस्ट प्लेयर घोषित भए।

राष्ट्रिय टिमका लागि महिलातर्फ ४९ केजीमा रेजिना कार्की, ४६ केजीमा काजल श्रेष्ठ, ५३ केजीमुनि सन्ध्या सिंह, ७३ केजीमुनि अप्सरा कार्की र ७३ केजीमाथि सुमित्रा केसी र पुरुषमा ६८ केजीमुनि निश्चल श्रेष्ठले स्वर्ण दिलाएका थिए। नेपाल तेक्वान्दो संघको तत्वावधन एवं युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा भएको च्याम्पियनसिपमा क्याडेटतर्फ नेपालकै युनाइटेड तेक्वान्दो डोजाङले २ स्वर्ण र ४ रजत जित्दै पहिलो भयो। दोस्रो भएको भारतले २ स्वर्ण, १ रजत र ३ कांस्य तथा अस्ट्रेलियाले २ स्वर्ण र २ कांस्य पदकसहित तेस्रो भयो। क्याडेटतर्फ पुरुषमा भारतका लभनेस र महिलामा अस्ट्रेलियाकी कातिन्का पेनकेथ उत्कृष्ट खेलाडी घोषित भए।

च्याम्पियनसिपमा जुनियरतर्फ नेपाल नै हाबी हुँदा चुनदेवि डोजाङ ३ स्वर्णसहित पहिलो र २ स्वर्ण र १ कांस्य पदक जितेको कोटेश्वर डोजाङ दोस्रो भयो। त्यस्तै तेस्रो भएको आयोजक युनाइटेड डोजाङले १ स्वर्ण र ४ रजत पदक जित्न सफल भयो। जुनियरतर्फ पुरुषमा युनाइटेडका पुजन खड्का र महिलामा कोटेश्वरकी सुस्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए।

विधागतमा उत्कृष्ट खेलाडीले ट्रफी प्राप्त गरे। च्याम्पियनसिपमा विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डि शेर्पा, तेक्वान्दो संघका उपाध्यक्ष सञ्जिव रेग्मी, भानबहादुर चन्द, संघका केन्द्रिय सदस्य नोर्बु लामा, प्रतियोगिता संयोजक बद्रीप्रसाद घिमिरे र आयोजक डोजाङका प्रमुख कुमार लामा घिसिङले पुरस्कृत गरे। 

च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान, दक्षिण कोरिया, मलेसिया, इन्डोनेसिया, मकाउ, चीन, अस्ट्रेलिया, सिंगापुर र अफगानिस्तान गरी कुल १३ राष्ट्र सहभागी थिए। जसअन्तर्गत महिलामा २ सय ५० र पुरुषमा ३ सय ८३ (सिनियर, जुनियर र क्याडेट) गरी ग्यरोगीतर्फ ४६ तौल समुहमा प्रतिस्पर्धा भएको थियो। पुम्सेतर्फ (एकल पुम्से, पेयर र टिम पुम्से) गरी कुल ३८ इभेन्ट समावेश थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell