PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

स्याफ्रुबेसी-मैलुङ सडकखण्ड उद्घाटन, गल्छीबाट रसुवागढीको दूरी २५ किमी छोट्टियो



स्याफ्रुबेसी-मैलुङ सडकखण्ड उद्घाटन, गल्छीबाट रसुवागढीको दूरी २५ किमी छोट्टियो

काठमाडौँ : रक्षामन्त्री ईश्वर पोखरेलले आज स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड उद्घाटन गरेका छन्। राष्ट्रिय प्राथमिकतामा रहेको यो सडकखण्ड बनाउने जिम्मा नेपाली सेनाले पाएको थियो। 

सेनाले आजै गल्छी—त्रिशुली—मैलुङ—स्याफ्रुबेशी—रसुवागढी सडक योजनाका प्रमुख सुबोध कुमार देवकोटालाई औपचारिक रुपमा उक्त सडक हस्तान्तरण गरेको छ।
 
२०७१ माघ ९ गते तत्कालीन अर्थमन्त्री रामशरण महतले शिलान्यास गरेको सडक खण्डमा नेपाली सेनाले २०७२ वैशाख १ गतेदेखि निर्माण कार्य थालेको थियो। सुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएकोमा भूकम्पपछि १० किलोमिटर थप गरी जम्मा १७ कि.मि. को डबल लेन सडक निर्माण गर्ने जिम्मेवारी दिइएको थियो।

बेत्रावती—धुन्चे—स्याफ्रुबेशी सडक खण्ड भन्दा हाल निर्माण सम्पन्न गरिएको मैलुङ—स्याफ्रुबेशी सडक खण्डको दुरी करिव २५ कि.मि. कम भएकोले यस सडक खण्डले गल्छीलाई रसुवागढी नाकासँग नजिक बनाउनुको साथै उत्तरमा रहेको रसुवागढी नाका र दक्षिणमा रहेको ठोरी नाकालाई जोड्ने महत्वपूर्ण सडकको रुपमा समेत रहेको छ। यो सडक खण्डमा घुम्तीहरु नहुनुका साथै ग्रेडिएन्ट समेत मिलेको हुँदा तुलानात्मक रुपमा बेत्रावती—धुन्चे—स्याफ्रुबेशी सडक खण्ड भन्दा सजिलो र सुरक्षित समेत रहेको छ।
 
गल्छीदेखि सदरमुकाम धुञ्चेदेखि रसुवागढीसम्मको अन्तर्राष्ट्रिय राजमार्ग १०६ किमी रहेकामा नवनिर्मित सडकखण्ड खुलेपछि २५ किमी घटी ८१ किमीमा आउनेछ। गल्छीदेखि स्याफ्रुबेंसीसम्म भने साविकमा ९० किमी भएकामा अब ६५ किमी हुनेछ।

नेपाली सेनाले मार्ग खोलिसकेको स्याफ्रु–मैलुङ सडकखण्डमा अब छिट्टै थप व्यवस्थापनका काम सरकारले अघि बढाई नेपाल–चीनको व्यापार अघि बढाउने छ । 

सडक निर्माणको लागत रु ७० करोड ६९ लाख ९० हजार रहेको नेपाली सेना सडक निर्माणका प्राविधिक सेनानी सञ्जय केसीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell