PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

केपीएल : आर्मी र केसीटीसीको पहिलो जित



पहिलोपोस्ट

केपीएल : आर्मी र केसीटीसीको पहिलो जित

सुर्खेत : कर्णाली प्रिमियर लिग (केपीएल) मा त्रिभुवन आर्मी र काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले पहिलो जित हात पारेका छन्।

केपीएलको चौथो दिन सम्पन्न खेलमा आर्मीले महाकाली क्रिकेट क्लबलाई ५ विकेटले  तथा काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले रोयल राइजिंग क्रिकेट क्लबलाई ८ रनले हरायो।

 

पहिलो खेल

पहिलो खेलमा काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले रोयल राइजिंग क्रिकेट क्लबलाई ८ रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले (केसीटिसी) निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको थियो।

खराब सुरुवात गरेको केसीटिसीले मात्र ३२ रनको स्कोरमा ५ विकेट गुमाएको थियो। तर छैटौँ विकेटको लागि बिपिन आचार्य र बिबेक राना मगरले ७६ रनको साझेदारी गर्दै टिमको स्कोर उकेका थिए। बिपिनले ५७ तथा बिबेकले ४५ रन बनाए। बिपिनले ३९ बलमा ७ चौका र १ छक्का तथा बिबेकले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

रोयल राइजिंगका बलर प्रकाश जैसीले ३ विकेट तथा बिबस सिरी र विजय बिस्टले २/२ विकेट लिए।

१४१ रनको लक्ष्य पछ्याउने क्रममा रोयल राइजिंगले पुरै २० ओभर ब्याटिङ गर्दै ८ विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो। राइजिंगको लागि ओपनिङ्ग ब्यट्सम्यान प्रकाश जैसीले ४७ बल खेल्दै ९ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५६ रन बनाए।

केसीटिसीका बलर आदील खानले सर्वाधिक ३ विकेट र संजय बस्नेतले २ विकेट लिए। खेलको बिपिन आचार्य प्लेयर अफ द म्याच घोषित भए।

दोश्रो खेल

दोस्रो खेलमा आर्मीले प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा महाकाली क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो।

टस जितेर पहिले ब्याटिङ गरेको महाकाली क्रिकेट क्लबले पुरै २० ओभर ब्याटिङ गर्दै ७ विकेट गुमाएर १२९ रन बनाएको थियो।

उसको लागि कप्तान सुरेन्द्र चन्दले सर्वाधिक २९ रन बनाए भने दिपेन्द्र चन्द र प्रकाश सिंहले १९/१९ रन बनाए। किरन ठगुन्नाले १६ तथा नरेश बोहराले १३ रन योगदान दिए। आर्मीका सुशन भारी, बिक्रम सोब र हरिकृष्ण झाले १/१ विकेट हात पारे।

१३० रनको लक्ष्य आर्मीले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। ५५ रन बनाउँदा ५ विकेट गुमाएको आर्मीको लागि बिक्रम सोब र नरेश बुढायरले छैठौं विकेटको लागि नटआउट ७९ रनको साझेदारी गरेका थिए। बिक्रमले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे भने नरेशले ३७ बलमा २ चौका र १ छक्का प्रहार गरे। महाकालीका बलर बिकाश आग्रीले ३ विकेट तथा रोबिन क्षेत्री र महेन्द्र ठगुन्नाले समान १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell