PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सरकारमा सहभागी हुन फोरम नेपालको तयारीः वार्ता समिति गठन हुँदै



बीपी साह

सरकारमा सहभागी हुन फोरम नेपालको तयारीः वार्ता समिति गठन हुँदै

काठमाडौं: नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएलगतै संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागिताका लागि प्रक्रिया अगाडि बढाएको छ।

एकीकृत प्रस्तावित पार्टी ‘नेपाल कम्युनिस्ट पार्टी’बाट पुनः फोरम नेपालसँग सरकारमा सहभागिताका लागि अनौपचारिक छलफल सुरु भएको छ। शनिवार नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट फोरमलाई सरकारमा सहभागी हुन पुनः प्रस्ताव गरेको थियो।

उक्त प्रस्तावसहितको विषयमा छलफल गर्न शनिवारबाट फोरम नेपालको कार्यसम्पादन समितिको बैठक चलिरहेको छ।

शनिवार नै नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि तयारी भइरहेको जानकारी गराएका थिए। उनले संविधान संशोधनको गर्ने नहुने भन्ने नरहेको बताउँदै औचित्य पुष्टि गरेर संविधान संशोधन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको बताएका थिए। 

प्रधानमन्त्री ओलीले संविधान संशोधनका विषयलाई उठाएर मधेसी दल पनि सरकारमा सहभागी हुन लागेको संकेत गरेका थिए।

यता फोरम नेपालको कार्यसम्पादन समितिको बैठकमा सरकारमा सहभागिताका विषयमा अन्तिम निर्णय लिने फोरम नेपालका एक नेताले बताए।

‘बैठकमा मुख्य दुईवटा विषयमाथि छलफल हुँदैछ,’ बैठकमा सहभागी एक नेताले पहिलोपोस्टलाई भने,‘मुख्य रूपमा सरकारमा सहभागी हुने विषयमा छलफल हुँदैछ। सरकारमा सहभागी हुने सम्भावना बढेको छ। सम्भव भए तत्कालै वार्ता समिति गठन पनि हुन सक्छ।’

स्रोतका अनुसार यसअघि सरकारमा सहभागी हुने निर्णय भइसके पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति पत्रमा हस्ताक्षर गर्न मानेका थिएनन्। 

सहमति पत्रमा हस्ताक्षर गरेरै जाने अथवा मुख्य-मुख्य एजेन्डामाथि अनौपचारिक सहमति गरेर सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको ती नेताले बताए।

‘प्रधानमन्त्री ओली पनि संविधान संशोधनप्रति सकारात्मक देखिनु भएको छ। उहाँले नै पुनः सरकारमा सहभागिताका लागि आग्रह गर्नु भएको छ। त्यसकारण हामी सरकारमा सहभागी हुने सम्भावना बढेको छ,’ उनले बताए। 

फोरमले आज साँझसम्म केही औपचारिक निर्णय गर्न सक्ने बताइएको छ। वार्ता समिति गठन गरेर छलफल अगाडि बढाउने र दुई दिन पछि फोरम अध्यक्ष उपेन्द्र यादव धनगढीबाट फर्केपछि अन्य छलफल अगाडि बढ्ने स्रोतले जनायाे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell