PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विश्वकै कान्छा निर्देशक सौगात भन्छन् - म लिडर हुँ



विश्वकै कान्छा निर्देशक सौगात भन्छन् - म लिडर हुँ

  • रीना मोक्तान -

४ वर्षअघि ...

सौगात विष्ट उमेरले साना थिए, ७ वर्षका। तर, लक्ष्य केही ठूलो। उनले एक वर्षको अवधिमा फिल्म निर्देशन गर्नु थियो। त्यो पनि भारतका योङ्गेस्ट डाइरेक्टर किषण श्रीकांतलाई हराउनका लागि। विश्व योङ्गेस्ट डाइरेक्टरमा आफ्नो नाम लेखाउनु सौगातको लक्ष्य।

'केयर अफ फुटपात' निर्देशन गरेर श्रीकांत विश्व योङ्गेस्ट डाइरेक्टर बनेका थिए। र, सौगातलाई योङ्गेस्ट डाइरेक्टरमा वर्ल्ड रेकर्ड तोड्नु थियो। त्यसपछि उनले पहिलो फिल्म 'लभ यू बाबा' बनाए। यही फिल्म मार्फत् उनी विश्वकै कान्छा निर्देशक बने।

उनमा फिल्म निर्देशनको हुटहुटी घरको फिल्मी वातावरणले पैदा गर्‍यो। बाबा अभिनेता, काका नृत्य निर्देशक। घरमा कलाकार र फिल्मकर्मीको बाक्लै आवतजावत। उक्त वातावरणले सौगतमा गहिरै प्रभाव पारेको थियो।

कान्छा निर्देशक बनिसकेपछिको दिन सम्झन्छन् सौगात ,'७ वर्ष ३ सय ४० दिनको थिएँ म जब गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएँ।'

उनले वर्ल्ड रेकर्डबारे बाबु गजित बिष्टबाट सुनेका थिए। बुबा-छोरा मिलेर सम्बन्धित विषयको खोजी गर्दा थाहा भयो- विश्वका कान्छा निर्देशकको रुपमा चिनिन एक वर्षभित्रमा फिल्म बनाइसक्नु पर्ने रहेछ। 'मलाई गिनिज बुकमा नाम लेखाउनु थियो। परिवारले साथ दिनु भयो र फिल्म तयार भयो,' उनले भने।

फिल्म 'लभ यू बाबा' फ्लप भयो। अल नेपाल ग्रस ७ लाख  कलेक्सन गर्‍यो,' उनी नधकाइ भन्छन्। किनकि उनको लक्ष्य, दाम होइन नाम थियो।

 

अहिले ...

सौगात अहिले १२ वर्षका भए। अक्षरा स्कूलमा कक्षा ६ मा पढ्छन्। पढाइमा अब्बल  छन्। 'मलाई स्कूलमा भने कान्छा निर्देशक भन्दा सौगात भनेर बोलाइएको मनपर्छ। किनकि त्यहाँ त म विद्यार्थी हुँ। सबै ठाउँमा आफ्नै पहिचान हुन्छ नि।' तर, आफ्नो रुची र कामबाट स्कूलमा पनि टाढा रहन कहाँ सक्छन् र? उनले स्कूलमा विभिन्न नाटक निर्देशन गरेका छन्।

 

कसरी सिके निर्देशन ?

सौगातले सानो उमेरमै डकुमेन्ट्रीहरुमा अभिनय गर्ने मौका पाएका थिए। 'त्यही बेलादेखि यही क्षेत्रमा काम गर्छु भन्ने भएको हो। झन् परिवार पनि फिल्मतिरै हुनुले धेरै सहयोग गर्‍यो,' भने। डकुमेन्ट्री गर्दा होस् वा अन्य सुटिङको समयमा निर्देशकले गरेको कामलाई खुब ध्यान दिएर हेर्ने गरेको बताउँछन् उनी।

 तर, औपचारिक सिकाइ भने गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने निर्णय गरेपछि मात्र पाए। पाँच महिना  निर्देशन  सम्बन्धि कोर्स लिए। निर्देशक नवल नेपाल, गोविन्द सिंह भन्डारी, काका गम्भीर बिष्ट उनी फिल्डमा उत्रनु अघिका 'कोच'हरु हुन्। इन्टरनेट पनि उनको राम्रो निर्देशन गुरु बन्यो।

'निर्देशन च्यालेन्जिङ काम हो भन्ने बुझ्दै छु,' नामभन्दा काम राम्रो हुनुपर्ने बुझेका बिष्ट भन्छन्,'सक्दिन भन्ने सोच चाहिँ आएन।'

यस्तैबीच सौगातको निर्देशन रहेको दोश्रो फिल्म 'हैरान' प्रदर्शनमा आएको छ।  कमेडी जनराको फिल्मका लागि आफूले पहिलो फिल्मभन्दा बढी मेहेनत गरेको बताउँछन्। भन्छन्, 'एउटा पहिचान बनाएपछि त्यसलाई सम्हाल्न पर्छ भन्ने लाग्दो रहेछ। यसबीचमा मैले धेरै खोजै, पढेँ।'

फिल्ममा सत्यराज आचार्य, गजित बिष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय छ। डान्स फेभरको व्यानरमा निर्मित फिल्ममा गम्भीरको कथा/कोरियोग्राफी, स्वरूपराज आचार्य र सत्यराज आचार्यको संगीत रहेको छ। फिल्मका मुख्य कलाकार गजित, सौगातका बुबा हुन्। उनलाई सबै काममा आफ्ना बुबाले सहयोग गरेको बताउँछन्। थप्छन्, 'तर निर्देशन चाहिँ मेरै हो। म फिल्मको लिडर।'

 

चुनौतीका कुरा...

सौगात निडर लाग्छन्, आत्मविश्वासी सुनिन्छन्। तर, निर्देशनको शिलशिलामा भोग्न परेको चुनौतीहरु बारे बोल्न पछि पर्दैनन्।

'१२ वर्षियाले फिल्म बनाउने? यो  प्रश्न धेरैले उठाए। तर मैले ७ वर्षको उमेरमा गरेको मिहेनत र कामले अहिले निकै सहयोग गर्‍यो। स्कूल जानेले कसरी फिल्म बनाउने? ५० जनाको टिमलाई कसरी सम्हाल्ला? जस्ता प्रश्नको जवाफ हो फिल्म हैरान।'

हैरान बनाउँदा उनी २ महिना स्कुल गएनन्।  'फिल्म छायाँकनको समयमा मेरो फाइनल एक्जाम परेको थियो। तर पछि कभर गरेँ,' पढाईमा पर्ने असर बारे भने उनी केही सतर्क छन्।

भविष्यमा

सौगातको रहर भने एक्सन डिरेक्टर बन्नु हो। 'अब केहि वर्ष  ब्रेक लिन्छु र धेरै सिकेर मात्र फर्कन्छु,' सुनाए।

अभिनय र नृत्यमा पनि रुची भएका उनी फिल्म इन्डस्ट्रीबाट टाढिने पक्षमा छैनन्। उनी उत्साहित हुँदै सुनाउँछन्, 'हैरान चल्यो भने राम्रै हुन्छ। चलेन भने पनि ठीक छ त। ट्राइ राम्रै थियो तर भएन भन्छु र अझै मिहेनत गर्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell