PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एपेक्स बैंक घोटालाः १४८ जनाविरुद्ध मुद्दा दायर, एक अर्ब २३ करोड बिगो दाबी



सविन ढकाल

एपेक्स बैंक घोटालाः १४८ जनाविरुद्ध मुद्दा दायर, एक अर्ब २३ करोड बिगो दाबी

काठमाडौँः प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले तत्कालीन एपेक्स बैंक घोटालाको अनुसन्धान सकेको छ।

व्यूरोले सरकारी वकिल कार्यालयमार्फत १४८ जनाभन्दा बढी विरुद्ध उच्च पाटन अदालतमा बैकिङ कसुर मुद्दा दर्ता गराएको हो। १४८ जनाको नाम ठेगाना यकिन भए पनि अन्य केहीको नाम ठेगाना यकिन भएको छैन।

दुई महिनाको अनुसन्धानपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमार्फत बुझाइएको व्यूरोका एसपी बुद्धि तामाङले बताए।

प्रतिवादीहरूमा एपेक्स बैकका अध्यक्ष विष्णु धिताल, इच्छाबहादुर गुरुङ, सुवर्ण राजभण्डारी, वधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर न्यौपाने, मानबहादुर राउत, विनितमणि उपाध्याय, मोहन खरेल र सुदीप थापा लगायत रहेका छन्।

एक अर्ब २३ करोड ५० लाख ५४ हजार ४ सय बिगो दाबीसहित मुद्दा दर्ता भएको हो। व्यूरोले घोटाला प्रकरणमा २१ जनालाई पक्राउ गर्ने सफल भएको छ। बाँकी १३७ जना अझै फरार रहेका छन्। तत्कालीन बैकका सिइओ गोविन्द उपाध्याय अझै फरार नै रहेका छन्।

उनीहरूले १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ बराबरको आर्थिक अनियमिता गरेको देखिएको हो।

 

करोडौँ ऋणको लागि खोलाको बगर र नक्कली ऋणी

प्रहरीले पक्राउ गरेकोमा बैंक सञ्चालकदेखि भ्यालुयटर तथा मतियारसमेत रहेका छन्। उनीहरूले २०७२ साल कार्तिकमा एपेक्स बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक एनसीसीमा मर्ज हुनुभन्दा अगाडि घोटाला गरेको देखिएको हो।

उनीहरूले काठमाडौँ, ललितपुर, भक्तपुर, इटहरी, सुर्खेत लगायतका स्थानमा रहेका खोला छेउका जग्गा, पाखोबारी कमसल जग्गालाई महँगो मूल्यमा भ्यालुयसन गरी ऋण दिएको फेला परेको हो।

'धेरैजसो जग्गा कमसल किसिमको देखियो। कति त खोला र पाखोबारी मात्र छन्' अनुसन्धानमा संलग्न एक अधिकारीले भने। 

उनीहरूले नक्कली ऋणी बनाएर लाखौँ रुपैयाँ ऋण प्रवाह गरेका छन्। धेरै जसो ऋण लिने व्यक्ति खोज्दा कतै भेटिएन। नक्कली ऋणी बनाइएको भेटिएको हो।

 

निर्माण व्यवसायी समेत प्रतिवादी

बैंक घोटाला काण्डमा क वर्गका निर्माण व्यवसायी समेत परेका छन्। ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरी प्रतिवादी बनाएको हो।

भेटवालले बैंकका कर्मचारीको मिलेमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको प्रहरी अनुसन्धानमा देखिएको छ। भेटवालले राजधानीका कलंकी लगायतका आकासे पुल निर्माणका लागि भन्दै इनोभेटिभ कन्सेप्ट नेपालका नामबाट ऋण लिएको देखिएको छ।

पुरानो बसपार्कमा बन्दै गरेको २१ तले भ्युटावरका ठेकेदार पनि हुन् उनी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell