PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सुन तस्करीका पर्दा पछाडिका पात्र : जो सधैं कानुनको नजरमा ओझेल रहे 



सुन तस्करीका पर्दा पछाडिका पात्र : जो सधैं कानुनको नजरमा ओझेल रहे 

काठमाडौं : ३३ केजी सुन प्रकरणमा यस पटक प्रहरीदेखि गाडी चालक समेतलाई फन्दामा परे। दुबईबाट सुन पठाउनेदेखि विमानको ट्वाइलेटबाट सुन निकाल्दा छेक्नेसम्म अनुसन्धानको दायरा तानिए।

जिल्ला अदालत विराटनगरमा ६३ जनालाई प्रतिवादी बनाएर अहिले थुनछेक बहस चलिरहेको छ। सुन तस्करीका मुख्य नाइके भनिएका चुडामणि उप्रेति ‘गोरे’ सहित ३२ जना अझै फरार छन्।

यसअघि २०७३ पुस २१ गते प्रहरीले बरामद गरेको ३३ केजी सुन प्रकरणमा अध्यागमनदेखि भन्सारका कर्मचारी समेत अनुसन्धानको फन्दामा परेका थिए। यो पटक भने अध्यागमन र भन्सारका कोही पनि पोलिएनन्। 

गत माघ ९ गते भित्रिएको ३३ केजी सुनमा धेरैजसो सुन तस्करी गर्ने समूह पहिलेकै भएको खुलेको छ। तर केही पात्र यो पटक पनि अनुसन्धानको दायराबाट बच्न सफल भए।

पर्दा पछाडिका पात्रहरु

लामो समयदेखि दुबईमा बसी नेपालमा सुनको अवैध कारोबार गर्ने किसन अग्रवाल, केशव चापागाई, सञ्जय भनिने दुर्गाप्रसाद खरेल, राजन पन्थी, गोपी भुसाल, छविलाल कुँवर र पवन कुँवर भने अनुसन्धानको दायरामा नै परेनन्। उनीहरुलाई प्रतिवादी समेत बनाइएन।

उनीहरु दुबईमा बसेर सुनको नेपालमा अवैध सुनको कारोवार गर्ने गरेको ३३ केजी सुन प्रकरणमा २०७३ पुस २१ गते पक्राउ परेका दिलबन्धु थापाले नै बयानमा खुलाएका थिए। 

उनले त्यतिखेरको बयानमा भनेका थिए, ‘दुबईमा बसी सुनको अवैध कारोबार गर्ने कार्यमा मैले चिनेका किशन अग्रवाल, हरि खड्का, केशव चापागाई, अर्जुन खरेल, सीताराम खरेल गोरे भनिने चूडामणि उप्रेती, सञ्जय भनिने दुर्गाप्रसाद खरेल, राजन पन्थी, गोपी भुसाल, छविलाल कुँवर र पवन कुँवरहरू हुन्।

प्रहरीले बुझाएको अभियोग पत्रमा समेत गोपी भुषाल, किसन अग्रवाल लगायतले पटक पटक सुन मगाएको देखिएको छ। उनीहरुले सन् २०१५ देखि सुनको अर्डर गर्ने गरेको देखिएको छ। यति हुँदा पनि उनीहरुलाई किन सुन प्रकरणमा प्रतिवादी बनाइन?

अभियोग पत्रमा उल्लेख गरिएको रेकर्ड अनुसार सन् २०१५ जुलाई  देखि २०१८ सम्म ५२१ नेपाल भित्र्याएको देखाइएको छ जसमा भुषालले मात्र २८ पटक सुन मगाएको देखिएको छ। 
 
सुन तस्करीका भरिया दिलबन्धु थापा मात्र होइन, रामहरी कार्कीको बयानमा समेत यी व्यक्तिले सुन तस्करी गर्ने गरेको खुलेको थियो। कार्कीले बयानमा उनीहरुको नाम नै तोकेर सुन तस्करी भएको बयान दिएका थिए। तर उनीहरुको प्रहरी र वकिलसँगको राम्रो सेटिङ भएको कारण कानुनी दायरबाट उम्किँदै आएको स्रोतले जानकारी दिएको छ। 

अहिले मुख्य अभियुक्त बनाइएका गोरेको त्यतिखेर पनि सुन तस्करीमा संलग्नता देखिएको थियो। तर उनको नाम सीताराम खरेल भएको देखाउँदै उनलाई प्रतिवादी बनाउनबाट बचाइएको थियो। गोरेले वकिलदेखि प्रहरीसँग सेटिङ मिलाएको देखिएको छ। 

देखाउन मोबाइल पसल, असली धन्दा सुन तस्करी

अनुसन्धानबाट बच्दै आएका गोपी भुषालदेखि किसन अग्रवालको दुबईमा मोबाइलको पसल तथा विभिन्न काममा आवद्ध रहेका छन्। तर उनको असली काम भने सुन तस्करी नै भएको स्रोतले जनाएको छ। 

स्रोतले दिएको जानकारी अनुसार उनीहरुले वैदेशिक रोजगारीमा भएका युवालाई समेत प्रयोग गर्ने गरेका छन्। उनीहरुले युवामार्फत् दैनिक १ किलो सुन नेपाल पठाउने गरेको स्रोतले जनाएको छ।
 
एक जना युवालाई उनीहरुले २ देखि ५ तोलासम्म काँचो सुन बोकाएर पठाउने गरेका छन्। यसरी पठाएको सुनमा किलोमा ४ देखि ५ लाख रुपैयाँसम्म फाइदा हुन्छ। त्यसै उनीहरु हुन्डीको कारोबारी समेत हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell