PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एमाले केन्द्रीय सदस्यहरु बालुवाटारमा बैठकको प्रतीक्षामा, बेलुका खुशी साट्न एकताको 'पार्टी'



विधुर ढकाल

एमाले केन्द्रीय सदस्यहरु बालुवाटारमा बैठकको प्रतीक्षामा, बेलुका खुशी साट्न एकताको 'पार्टी'

काठमाडौं : पार्टी एकताको औपचारिक तयारीका लागि बसेको वाम एकता संयोजन समितिको बैठकपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ। 

बैठकका लागि बालुवाटारमा एमाले केन्द्रीय कमिटी सदस्यहरु उपस्थित हुन नेताहरु जम्मा हुनेक्रम बढेको छ। एकता संयोजन समितिको बैठक सकिनासाथ केन्द्रीय कमिटी बैठक बस्नेछ। 

नेकपा माओवादी केन्द्रको बैठक भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्नेछ। प्रचण्ड अहिले बालुवाटारमा जारी एकता संयोजन समितिको बैठकमा छन्।

पार्टीको तल्लो कमिटीलाई माथिल्लो कमिटीको कार्यदलले अध्ययनका आधारमा सिफारिस गर्ने र त्यही आधारमा एकता गर्ने तयारी भइरहेको एमाले नेता गोकर्ण विष्टले जानकारी दिए। केन्द्रीय कमिटी बैठकपूर्व पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टी एकतापछि बन्ने स्थायी कमिटीले समायोजनका लागि कार्यदल बनाउने बताए। 

‘हामीले जनताको चाहनालाई केन्द्रमा राखेर संख्यामा रिजिड भएनौं,’ एकताको विषयमा उनले भने,  ‘समग्रमा नेपाली जनताले दिएको जनमतलाई ध्यानमा राखेर एकतामा अगाडि बढ्यो।‘

विष्टका अनुसार आज दुवै दलको पार्टी निर्णय र दुवै दलका अध्यक्षका हस्ताक्षर पत्र निर्वाचन आयोगमा बुझाउने तयारी छ। साथै एकतापछिको केन्द्रीय कमिटी बैठक पनि आजै बस्ने तयारी छ।   

यसैबीच एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ जसमा प्रतिशत नभने पनि ४५ प्रतिशत माओवादी केन्द्रले पाउने र बाँकी ५५ प्रतिशत एमालेले राख्नेसमेत सहमति भएको छ।

सहमति अनुसार २०० सदस्य माओवादीको भागमा र २४१ सदस्य एमालेको भागमा पर्ने छन्।

त्यस्तै पार्टीको स्थायी समितिमा ४३ सदस्य रहने सहमति जुटेको छ। सहमति अनुसार स्थायी समितिमा २५ जना एमालेबाट र १८ जना माओवादी केन्द्रबाट रहने बैठकमा अध्यक्ष ओलीले जानकारी गराएको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए।

पार्टी एकताको 'पार्टी' तयारी

एमालेका एक नेताले दिएको जानकारी अनुसार दुई दलको एकता भएको खुशीयालीमा आज बेलुका कुनै रिसोर्टमा बैठक बस्ने छ। ‘एकताको खुशीयालीसाथ मनाउने तयारी हुँदैछ, ठाउँ तय गर्दैछौं,’ ती नेताले भने। 

आज बिहान दुवै दलका शीर्ष नेता बालुवाटामा पुगेर वृक्षारोपण गरेका थिए। आज बस्ने दुवै दलको बैठक अन्तिम हुने बताइएको छ। त्यसपछि दुई पार्टीको संयुक्त बैठक बस्नेछ। लगत्तै निर्वाचन आयोगमा पार्टी एकीकरणको जानकारी गराउने कार्यक्रम छ। 

मदन आश्रित स्मृति दिवसका अवसर पारेर एकता घोषणा गर्ने दुबै दलका दोस्रो तहका नेताको प्रयासमा बुधबार एकता प्रक्रियाले गति लिएको हो। सैद्धान्तिक सिद्धान्त लगायतका केही विषयलाई एकता महाधिवेशनसम्म थाती राखेर एकीकरण हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell