PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मणिराज उपाध्यायको स्मृतिग्रन्थ : पत्रकारिता र इतिहास बुझ्न गहन पुस्तक



पहिलोपोस्ट

मणिराज उपाध्यायको स्मृतिग्रन्थ : पत्रकारिता र इतिहास बुझ्न गहन पुस्तक

काठमाडौं : नेपाली अखबारी पत्रकारितामा विशिष्ट योगदान दिन सफल समाज दैनिकका संस्थापक मणिराज उपाध्यायको स्मृतिग्रन्थ हालै सार्वजनिक भएको छ। व्यवसायिक पत्रकारितालाई संस्थागत उपाध्यायको सम्पादनमा २०११ सालदेखि २०५३ सालसम्म समाज दैनिक सञ्चालनमा रहेको थियो। गोरखापत्र दैनिक बन्नुपूर्व नै समाज दैनिक पत्रिकाका रुपमा स्थापित भएको थियो। अहिलेसम्म पनि सबैभन्दा लामो टिकेको निजी क्षेत्रको दैनिक पत्रिकामा समाज नै पर्छ। समाज सुरु भएको ६ वर्षपछिमात्रै गोरखापत्र अर्ध साप्ताहिकबाट दैनिक बनेको थियो। 

उपाध्याय र समाज दैनिकको परिचय पुराना पत्रकारका लागि कुनै नौलो होइन तर अहिलेको पुस्तामा उनी र उनको नेतृत्वको समाजको पहिचान धुमिल बन्दै गएको छ। सायद, त्यसैलाई मध्यनजर गरेर हुनुपर्छ स्मृतिग्रन्थ तयार गरिएको हो। उपाध्यायका छोरा ब्रजेशराज शर्मा, पत्रकारहरु रघु मैनाली, घमराज लुइँटेल र जीवनाथ खनालको सम्पादनमा प्रकाशित ‘पत्रकारिताका सतिसाल’मा मणिराज उपाध्यायको जीवन, पत्रकारितामा उनको योगदान, समकालीन नेपालमा समाजको उपस्थितिलाई प्रस्तुत गरिएको छ।  

नेपाली मिडियाको इतिहासलाई मणिराज उपाध्याय र समाजबाट हेर्ने अवसर यो स्मृतिग्रन्थले जुटाएको छ। तत्कालीन समाज, व्यवसायिक पत्रकारिता, पत्रकारिता र राजनीतिको सम्बन्ध बुझ्न चाहनेका लागि पुस्तक गहकिलो खुराक बनेको छ। यसको महत्व यसकारण पनि छ कि मणिराज उपाध्यायविना नेपाली पत्रकारिताको इतिहास अपूरो छ।   

नेपालको अखबारी पत्रकारितामा समाजलाई पाठशाला नै मानिन्थ्यो। समाजसँग एकसे एक पत्रकार जोडिएका थिए। २०४६ सालपछि पत्रकारिताले अर्को चरण प्रारम्भ हुँदा समाजको स्कुलिङबाट बाहिरिएका पत्रकारहरुले नै त्यसलाई थेगेका थिए। ब्रोडसिट आकारको यो पहिलो निजी क्षेत्रको दैनिक पनि हो। लामो समय ब्रोडसिटमा टिकिरहन भने समाज असफल रह्यो। खुला अर्थनीतिसँग सुरुवात भएको कर्पोरेट पत्रकारितासामु समाज टिक्न सकेन। प्रजातन्त्र पुनर्स्थापना, पञ्चायती व्यवस्थाको कठोर अवस्था र त्यसपछि पुनर्स्थापित प्रजातान्त्रिक व्यवस्थाको साक्षी रहेको समाजको इतिहास मणिराज उपाध्यायको निस्क्रियतासँगै बन्द हुन पुग्यो। गत वर्ष उपाध्यायको निधन भएको हो। उपाध्याय निष्ठाका धनी थिए। पत्रकारिताका सिद्धान्त र आदर्शलाई उनले सदैव पछ्याइरहे। हिन्दी साप्ताहिक सही रास्ताबाट पत्रकारिता थालेका उनको पत्रकारिता समाजको प्रकाशन बन्दसँगै समाप्त भयो। 

स्मृतिग्रन्थमा उपाध्यायका जीवनका विविध पाटा, पत्रकारितामा उनले पुर्‍याएको योगदान, संघर्ष आदि समेटिएका छन्। सँगै उनीसँग जोडिएर काम गरेका, उनलाई नजिकबाट चिनेका र सँगत गरेकाहरु सबैलाई समेट्न सम्पादकहरुले मेहनत गरेका छन्। त्यतिमात्र होइन अनुसूचीमा पत्रिकाका अंशहरु, परेका मुद्दा, सम्पादकीय टिप्पणीहरु पनि राखिएको छ। यसले अखबारी पत्रकारिताको विषयमा शोध गर्न चाहनेका लागि सहज पनि बनाएको छ। ब्रजेशराज शर्मा प्रकाशक रहेको पुस्तकमा ९० वटा आलेख, स्मरण, अविच्युरी आदि समेटिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell