PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सत्ता साझेदार एमाले र माओवादीबीच बजेटमा बखेडा?



पहिलोपोस्ट

सत्ता साझेदार एमाले र माओवादीबीच बजेटमा बखेडा?

काठमाडौं : आगामी आर्थिक वर्षको बजेटको प्राथमिकतामा एमाले हावी भएको भन्दै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेताहरुको असन्तुष्टि बाहिर आउन थालेको छ। 

गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट सम्बन्धि छलफलमा पूर्व प्रधानमन्त्रीको हैसियतमा प्रचण्डलार्इ बोलाए, जबकि प्रचण्डले सत्ता साझेदारको हैसियतमा आफूसँग बजेटका बारेमा प्रधानमन्त्रीले छुट्टै छलफल गर्लान् भन्ने अपेक्षा राखेका थिए। 
 
सत्ता साझेदार दलका नेताका हिसाबले नबोलार्इ पूर्व प्रधानमन्त्रीका हैसियतले प्रचण्डलार्इ बोलाएपछि माओवादी केन्द्रका नेताहरुले औपचारिक रुपमा असन्तुष्टि जनाए।
 
माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री ओलीले एकलौटी हिसाबले सत्ता संचालन गर्न खोजेको भन्दै दुर्इ पार्टीको एकीकरणमा समेत ब्रेक लाग्नसक्छ भन्ने आशयका धारणाहरु सार्बजनिक भए। 
 
सचिव सरुवा, राष्ट्रिय योजना आयोगमा नियुक्ति हुँदै अहिले बजेट निर्माणमा एमाले हाबी भएको माओवादी पक्षका नेता तथा मन्त्रीहरुको धारणा छ। 
 
बजेट निर्माणमा अहिले अर्थमन्त्री डा. युवराज खतिवडा जोडतोडले लागिपरेका छन्। प्रधानमन्त्रीले वेवास्ता गरेको विषय छरपस्ट हुँदा अर्थमन्त्री खतिवडाले पनि माओवादीलाई बाहिरै राखेर बजेट निर्माण गरिरहेका छन् त? 
 
स्रोतका अनुसार, बजेट निर्माणको क्रममा अर्थमन्त्री खतिवडाले माओवादी केन्द्रका सबैजसो मन्त्रीसँग छलफल गरिसकेका छन्। 
 
‘अर्थमन्त्री खतिवडाले माओवादीबाट प्रतिनिधित्व गरेका सबै मन्त्रीलार्इ एक/एक गर्दै छलफल गरेर बजेटका कार्यक्रम मागिरह्नुभएको छ,’ खतिवडा निकट स्रोतले भन्यो, ‘माओवादी मन्त्रीले ल्याएका कार्यक्रमलार्इ बजेटमा राख्ने प्रतिवद्धता समेत गर्नुभएको छ।‘ 
 
माओवादी सत्ता साझेदार रहेकै हिसाबले पनि अर्थमन्त्री खतिवडाले बढी प्राथमिकता उनीहरुलाई दिइरहेको स्रोतको दावी छ। बजेटमा सत्ता साझेदारीमा पर्ने प्रभावलार्इ समेत आँकलन गरेर अर्थमन्त्रीले सचेतना अपनाउँदै बजेट बनाइरहेका छन्। ‘राजनीतिक ब्यालेन्स गरेर नै बजेट निर्माण गर्ने पक्षमा अर्थमन्त्री हुनुहुन्छ,’ स्रोतले भन्यो। 
 
कतिपय माओवादी मन्त्रीहरुले आफ्नो दललार्इ फाइदा हुने कार्यक्रम अर्थमन्त्रीलाई प्रस्ताव गरेका छन्। ‘आफ्नो दललार्इ फाइदा हुने कार्यक्रममा समेत खतिवडाले खासै विमति जनाउनु भएको छैन,’ स्रोतले भन्यो, ’बाध्यात्मक अवस्थाका बारेमा उहाँ जानकार हुनुहुन्छ। कर्मचारीतन्त्रबाट आएकाले समेत यस्ता विषयमा बढी नै सचेत देखिनुहुन्छ।’ 
 
स्रोतको अभावले कतिपय कार्यक्रम अटाउन सक्ने अवस्था भने छैन। ‘भइरहेका कार्यक्रमलार्इ नै स्रोत र साधन पुर्याउन मुस्किल भएकाले धेरै कार्यक्रम अटाउनसक्ने अवस्था छैन। तै पनि राम्रा कार्यक्रमलार्इ समेटेर बजेटमा अटाउनुपर्छ भन्ने मान्यतामा अर्थमन्त्री हुनुहुन्छ,’ स्रोतको दावी छ। अर्थमन्त्री खतिवडाले आफू सरहका मन्त्रीसँग अर्थमन्त्रालयमै छलफल गरेका छन् भने आफूभन्दा सिनियरलार्इ आफैले भेटेर बजेटको सुझाब माग्दैछन्।
 
खतिवडाले वन तथा भू-संरक्षणमन्त्री शक्ति बस्नेत, उर्जामन्त्री वर्षमान पुन, उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, खानेपानीमन्त्री विना मगरसँग छलफल गरिसकेका छन्। ती मन्त्रीहरुले दिएका सुझाबलार्इ कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएका छन्।
 
गृहमन्त्री रामबहादुर थापा बादललार्इ भने अर्थमन्त्री खतिवडा आफै गएर भेट्दैछन्। अर्थमन्त्री खतिवडाले गृहसचिवलार्इ भने बोलाएर सम्भावित कार्यक्रमहरुको बारेमा प्रस्ताव लिइसकेका छन्। शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि बाहिर गएकाले सचिवसँग मात्र छलफल गरेका छन्। 
 

पूर्व अर्थमन्त्रीसँग पनि छलफल

अर्थमन्त्री खतिवडाले बजेट निर्माणका क्रममा पूर्व अर्थमन्त्रीहरुसँग पनि छलफल गरिसकेका छन्। विभिन्न दल सम्वद्ध पूर्व अर्थमन्त्रीहरुले बजेट निर्माणका बारेमा आ-आफ्नो राय सुझाब दिइसकेका छन्। पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टरार्इले समेत आफ्नो राय सुझाब अर्थमन्त्री खतिवडालार्इ दिइसकेका छन्।
 
स्रोतका अनुसार छलफलका बेलामा पूर्व अर्थमन्त्री डा.रामशरण महत श्रीलंका र एमालेका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे इजरायलको भ्रमणमा रहेकाले पूर्व बजेट छलफलमा सहभागी हुन सकेनन्। यी दुर्इ पूर्व अर्थमन्त्रीसँग पनि खतिवडाले राय सुझाब लिनेछन्। पूर्व अर्थमन्त्री विष्णु पौडेल लुम्बिनीको एउटा कार्यक्रममा सहभागी भएकाले पूर्व बजेट छलफलमा सहभागी हुन सकेनन्।
 
‘एमालेका पूर्व अर्थमन्त्रीले सुझाब दिन नगएको कुरा बाहिर आयो। तर, विष्णु पौडेलले आफू लुम्बिनीमा रहेको र छलफलमा भाग लिन नसक्ने जानकारी गराउनुभएको थियो। उहाँले अर्थमन्त्री खतिवडालार्इ फोन नै गरेर छलफलमा भाग लिन नपाए पनि छुट्टै सुझाब दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ,’ स्रोतले भन्यो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell