PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नर्सको व्यथा अझै उस्तै: पढाई खर्च बढ्दो, पारिश्रमिक घट्दो



नर्सको व्यथा अझै उस्तै: पढाई खर्च बढ्दो, पारिश्रमिक घट्दो
फाइल फोटो

काठमाडौं : आज विश्व नर्स दिवस। इटालीकी फ्लोरेन्स नाइटेङ्गलको जन्म दिन पारेर विश्वभर झै नेपालमा पनि यो दिवस मनाइदैछ।

नेपालमा नर्सिङ पेसालाई आकर्षक मानिए पनि नर्सहरु श्रम शोषणमा परेको भन्दै नर्सहरुले बेलाबेला आन्दोलन गर्दै आएका छन्।

नर्सिङ संघकी महासचिव लक्ष्मी केसी कतै ५ हजार तलब र कतै विना तलब नर्सहरु काम गर्न बाध्य भएको बताउँछिन्। 'तलब कम छ, बढी समय काम गर्नुपर्छ। पढाई खर्च भने बढेको बढ्यै छ।' उनले भनिन्।

केही समयअघि आन्दोलनमा नर्सहरुले सडकबाटै आफ्नो व्यथा सुनाएका थिए। अधिकांशको एउटै आशय थियो, ‘१० लाख खर्च गरेर पढ्यो। भोलिन्टियर काम गर्यो। ५ हजारको जागिर। न सम्मान, न सुरक्षा। धेरैजसो त बेरोजगार नै छन्।’

-सन्दर्भ विश्व नर्स दिवस-

नर्सहरु सडकमा आएको भोलिपल्ट स्वास्थ्य मन्त्रालयले वार्ता गर्यो। ११ वटै बुँदे देखाएर थमथमायो। तर,  केही बुँदा कार्यान्वयन भए पनि अन्य बुँदा कार्यन्वयन हुन अझै समय लाग्ने देखिन्छ। 

सन् २०११ को जनगणना अनुसार नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ। विश्व स्वास्थ्य संगठन भन्छ, ‘हरेक १० हजार जनसंख्याका लागि चिकित्सक, नर्स र मिड्वाइफ समेत गरेर २३ जना चाहिन्छ।’

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार १० हजार जनसंख्याका लागि १४ जना मात्रै स्वास्थ्यकर्मी रहेका छन्। अर्थात्, नेपालमा पर्याप्त स्वास्थ्यकर्मीहरू छैनन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा भएको छैन। जनशक्ति धेरै उत्पादन छ तर बेरोजगार। 

अहिले १.३५ का दरले नेपालको जनसंख्या वृद्धिदर भइरहेको छ। यसैलाई आधार मान्ने हो भने सन् २०३० मा नेपालको जनसंख्या ३ करोड ५५ लाख पुग्नेछ। विश्व स्वास्थ्य संगठनको मापदण्डलाई मान्ने हो भने थप ७० हजार नर्सहरु आवश्यक पर्छन्।

तर, अहिलेको उत्पादनलाई आधार मान्ने हो  भने सन् २०२३ मै नर्सिङ जनशक्ति ८२ हजार २ सय ७४ पुग्ने देखिन्छ। अहिले भन्दा भविष्यमा नर्सहरुको बेरोजगार दर बढ्ने तथ्याकंले देखाउँछ।

देशभर ८ हजार ३ सय १४ स्वास्थ्य संस्था रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। अहिलेको  जनसङ्ख्यालाई आधार मान्दा ६८ हजार ४ सय ९० जना नर्सको आवश्यकता देखिन्छ। नेपाल नर्सिङ परिषदको तथ्यांक भन्छ, ‘७४ हजार ८ सय ४० नर्सिङ जनशक्तिमा ५० हजार भन्दा बढी नर्सहरु बेरोजगार छन्।’ यो तथ्यांकले स्पष्ट पार्छ, स्वास्थ्य संस्थाहरुले आवश्यक पर्ने जति नर्सिङ जनशक्ति राखेको देखिँदैन।

तथ्यांलाई नै आधार मान्ने हो भने ७ हजार ७ सय ४० नर्स वर्षेनी बाहिर निस्किन्छन्। यही अनुपातमा सन् २०३१ सम्ममा १ लाख ६७ हजार ७ सय नर्सहरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यही तथ्यांकले पनि भविष्यमा नर्सहरुको बेरोजगार दर भयानक रुपमा बढ्ने देखिएको छ।

तर, स्वास्थ्य संस्था र मापदण्ड अनुसार स्वास्थ्यकर्मी राख्ने पद्धती बस्यो भने यस्तो नहुन पनि सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell