PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वाह क्या शृङ्गार छ!!



स्वेच्छा राउत

वाह क्या शृङ्गार छ!!

अर्धनग्‍न आकाशले
सानो त्यान्द्रो बादललाई
घरी यता
घरी उता तान्दै,
छोप्‍न खोज्दैछ
आफ्नो लाज।

बैरी नै सही छिमेकबाट 
आउँदै छन् पाहुना
उनैलाई रिझाउन
सडक र गल्लीहरुमा पोतिँदैछन् 
ठुस्स गन्हाउने इनामेल।

चीर निन्द्रामा रहेका बल्ब 
अनि खियाले खाएका ल्याम्प पोस्टहरु
मौसमी विकासको साक्षी बन्दै
रातरात भर जाग्दैछन्।

बुङ्ग बुङ्ग… उड्ने, 
सडक पेटीका फा-पाउडरहरु
एकाएक कैद हुन थाले
महङ्गा मेकप किटहरुमा।

गरेर शहीद घोषणा
बुढा हाँगाहरु,
सारिन थाले बिमा नगरेरै
नर्सरीबाट उखेलिएका
कलिला बुट्यान। 

तिर्खाएर आँ~~~ गरेका मुहानहरु
अलकत्रा घुट्काएर 
लम्पसार पर्दैछन्
गल्ली गल्लीमा,
जहाँ अलिपछि देखिन थाल्नेछन्
खाल्डा खाल्डा डिम्पलहरु। 

त्यही डिम्पलमा
भरिनेछन् जनताका आँसु

नाच्नेछन्
ढिकिल्च्याउ, ढिकिल्च्याउ गर्दै
सत्ताका गाडी। 

जनतालाई
श्वास फेर्न नि बन्देज लगाएर।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell