PahiloPost

Jul 16, 2018 | ३२ असार २०७५

पुस्तक अंश : किन बसेका थिए मनमोहन अधिकारी प्रयोजन लुकाएर तीन वर्षसम्म चीन?


पुस्तक अंश : किन बसेका थिए मनमोहन अधिकारी प्रयोजन लुकाएर तीन वर्षसम्म चीन?
  • ढाकाराम सापकोटा
वि.सं.२००७ सालको क्रान्तिको नेतृत्व गरेर ठूलो पार्टीमा स्थापित भएको नेकामा सत्तामोह बढ्दै जाँदा आन्तरिक विवाद पनि बढ्दै गएको थियो । राजनीतिक अन्यौलता दिन प्रतिदिन बढ्दै गइरहेको थियो । पार्टीहरूले उठाएका मागहरू विस्तारै ओझेल पर्दै जान थालेका थिए । देशमा राजनीतिक अन्यौलता कायम रहिरहेको अवस्थामा वि.सं.२०१३ साल श्रावण महिनाको दोस्रो सातामा चिनियाँ कम्युनिस्ट पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा भाग लिन नेकपाको तीन सदस्यीय प्रतिनिधिमण्डललाई निमन्त्रणा गरिएको थियो।   

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा भाग लिन जाने प्रतिनिधिको चयन गर्न बसेको केन्द्रीय कमिटीको बैठकले महामन्त्री मनमोहन अधिकारीको नाम सर्वसम्मतिले चयन गरी बाँकी दुई जना गोप्य मतदानद्वारा छानेको थियो। मतदान हुँदा पार्टीका संस्थापक महासचिव पुष्पलाल पराजित हुनुभयो भने शम्भुराम श्रेष्ठ र कमर शाह प्रतिनिधिमा छानिनु भयो। उक्त परिणामपछि पुष्पलाल आक्रोसित भएर आफू पार्टीको संस्थापक महासचिव भएको नाताले चीन जान पाउनु पर्ने दावि गरिरहनु भयो। तथापि परिणामलाई स्वीकार्नुको कुनै विकल्प थिएन। हुन पनि मतदानको परिणामपछि कोही जीत भएकोमा हौसिएका र कोही हार व्यहोर्नु पर्दा असन्तुलित हुन पुगेका थिए। तत्काल पार्टीमा गम्भीर खालका निर्णयहरू गर्न कोही पनि अघि सरेका थिएनन् । पार्टीका महामन्त्री चीन जाने भएपछि कार्यवाहक महामन्त्री तोक्ने निर्णय त्यसै बैठकबाट गर्नु पर्ने आवश्यकता थियो। त्यही अवस्थामा मनमोहन अधिकारीको अनुपस्थितिमा कायमुकायम महासिचव भएर काम गर्न पुष्पलाललाई प्रस्ताव गर्दा उहाँ तयार हुनु भएन। त्यही समयमा केशरजङ्ग रायमाझीले कसैले पनि काम गर्न नचाहे आफूले कार्यवाहक महासचिव भएर काम गर्ने इच्छा व्यक्त गरेपछि सबैले सोही प्रस्तावलाई स्वीकार गरेका थिए। यसरी नेकपालाई हाक्ने जिम्मेवारिमा पोलिटब्युरोका कनिष्ठ सदस्य केशरजंग रायमाझी नेकपाको कार्यवाहक महामन्त्री हुन पुगेका थिए। 

 मनमोहन अधिकारीको नेतृत्वमा चीन गएको तीन सदस्यीय नेपाली प्रतिनिधि मण्डल महाधिवेशनका विभिन्न समारोहमा सहभागी भएका थिए । त्यस क्रममा नेकपाको महामन्त्रीका हैसियतले मनमोहन अधिकारी महाधिवेशनलाई शुभकामना दिनु भएको थियो । महाधिवेशन चलिरहे पनि त्यसपछि उहाँ आफ्नो उपचारमा लाग्नु भएको थियो । मनमोहन अधिकारी उपचारका लागि चीनमा कति समय बस्नु भएको थियो भन्ने सम्बन्धमा फरकफरक धारणाहरू रहेको  पाइन्छ । मनमोहन अधिकारी वि.सं.२०१३ सालको असोजदेखि वि.सं.२०१६ सालको कार्तिक महिनासम्म करिव तीन वर्ष र एक महिना जति चीनमा बसेको देखिन्छ । 

मनमोहन अधिकारी लामो समयसम्म उपचारका क्रममा चीनमा नै बस्नु पर्ने खवर आएपछि केशरजंग रायमाझिले आपूm उक्त पदमा निरन्तरता पाउनका लागि नेकपाका केन्द्रीय कमिटीका केही पदाधिकारीहरूलाई आफ्नो पक्षमा ल्याउन सक्रिय हुन थाल्नु भयो । 
 मनमोहन अधिकारी कहिलेदेखि विरामी हुनुहुन्थ्यो भन्ने आधिकारीक तिथिमिति पाइदैन । तथापि उहाँ लामो समयदेखि बिरामी अवस्थामा हुनुहुन्थ्यो । उहाँको रोग के थियो भन्ने सम्वन्धमा स्वयम् मनमोहन अधिकारीले लुकाउने प्रयास गरेको देखिन्छ । बाहिरी रूपमा रोगलाई लुकाए पनि त्यसले स्वयम्लाई पार्ने प्रभावलाई रोक्न सक्ने स्थिति थिएन । उहाँ बेला बेलामा उपचारका लागि भारत जाने गरेका भए पनि रोगले क्रमशः कमजोर बनाउदै लगेको थियो । त्यसले गर्दा पार्टीमा छिटो छरितो रुपमा काम गर्न सकिरहनु  भएको थिएन । वि.सं.२०१२ सालको हिउँदमा मनमोहन अधिकारीले पार्टीसमक्ष आफ्ना कमजोरीहरू औँल्याउँदै आपूmमा छरितोपना नभएको र समस्यालाई मिहिन तरिकाले समाधान गर्न नसकेको साथै शारीरिक कमजोरीसमेत रहेको जानकारी दिनु भएको थियो मनमोहन अधिकारीलाई लागेको रोगका सम्बन्धमा उहाँका समकालीन ध.च.गोतामेले यसरी उल्लेख गरेको पाइन्छ ः 

        एकदिन हामी दुवै वार्दलीमा बसेर घाम ताप्दै थियौं । म कट्टुमात्र लाएर सर्बाङ्ग नाङ्गो जीउमा   थिएँ । मनमोहन भने कमिज छोडाउन मानेका थिएनन् । मलाई थाहा छ तिमीलाई कुष्ठरोग छ तर तिमी इलाज गराएर आएपछि त्यो धेरै मथ्थर भइसकेको छ । डाक्टरहरूको भनाई मैले सुनिसकेको छु त्यो कुनै सरूवा रोग होइन । यति भनेर मनमोहनको कमिज नखोले पनि मास्तिर पल्टाइदिँए नभन्दै राताराता साना ठूला डावरहरू थिए तर ती सुक्न लागेका घाउजस्तै ओवाइसकेका थिए,। हेर्दै केही दिनमा जाने क्रममा छन् जस्तो लाग्दथ्यो । आङ्को चक्ला उनले देखेका थिएनन् र मैले उनलाई उत्साहपूर्ण कुरा सुनाइदिँदा उनी धेरै आश्वस्त भएका थिए ।   

मनमोहन अधिकारीले लुकाई रहेको रोगका बारेमा सँगै रहेका साथीले त्यति कुरा भनी सकेपछि उहाँलाई पनि साँचो कुरा बताउन परिस्थितिले वाध्य बनाएको थियो । त्यसैबेला भएको कुराकानीलाई अझै अगाडि ध.च.गोतामे लेख्नु हुन्छ 

यो रोगै यस्तो हो । नाम सुन्नासाथ मानिस जिव्रो काढ्छन । पन्छिएर बस्न खोज्छन् । तिम्रो पनि के धारणा होला भनेर लुकाउन खोजेँ किनभने महिनौँ साथै वस्नुछ । तिमी भएर पो आयौ, मलाई स्नेह गरेकाले अरू कोही भए आउन मान्दैन थियौ । मनमोहनले स्वयम् सिङ्गो जीउ परीक्षण मबाट गर्न लगाए । पिठ्युँका केही चकताबाहेक कही कुनै रोगको लक्षण थिएन । 

उपर्युक्त भनाइबाट त्यतिबेलाको समाजले नकारात्मक रूपमा लिने रोग लागेको हुँदा मनमोहन अधिकारी त्यो रोग लुकाउँदै जानु भएको यिो भन्ने प्रष्ट देखिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा भाग लिन जाने क्रममा उहाँले कलकत्तामा उपचार गराउदाका डाक्टरी कागजपत्रहरू साथैमा लानु भएको थियो । पार्टी महाधिवेशनको उद्घाटन समारोह सकिए लगतै २४ सै घण्टा नेपाली प्रतिनिधिसँग रहने चिनियाँ कम्युनिस्ट पार्टीको हेर्डक्बाटरबाट खटिएर आएका व्यक्तिहरूलाई ती रीर्पोटहरू दिएलगतै उहाँको उपचार सुरु भएको थियो । त्यसपछि महाधिवेशनका अन्य कार्यक्रममा भाग लिन पाउनु भएन। महाधिवेशन सकिएपछि उपर्युक्त प्रतिनिधि मण्डलका दुई सदस्यहरू शंभुराम श्रेष्ठ र कमर शाह नेपाल फर्किनु भयो भने मनमोहन अधिकारी स्वास्थोपचारका निम्ति चीनमा नै बस्नु प¥यो । उहाँलाई के रोग लागेको थियो भन्नेबारे स्पष्ट रूपमा कतै पनि उल्लेख गरेको पाइदैन । बालचन्द्र्र मिश्रले चर्म रोगको उपचारका लागि चीनमा थिए भनि उल्लेख गनु भएको छ। शंभुराम श्रेष्ठले उनको उपचार गर्ने लेप्रीसी विशेषज्ञ डाक्टर रहेका थिए भनी उल्लेख गर्नु भएको छ। भरतमोहन अधिकारीले मनमोहन अधिकारी चर्मरोगबाट ग्रस्त भएका थिए भनी उल्लेख गर्नु भएको छ। ध.च.गोतामेले कुष्ठरोग भनी उल्लेख गनु भएको छ । कृष्णप्रसाद भट्टराइले विराटनगरका डाक्टरहरूले कुष्ठ रोग भएको शङ्का गरेकाले कलकत्ता जाँच गराउन भनी हिँडेका थिए भनि उल्लेख गर्नु भएको छ । यस सम्बन्धमा मनमोहन अधिकारीको भनाई यस्तो रहेको पाइन्छ ः

           मैले फोक्सोको उपचार गराउनु पर्ने थियो । मेरो नशाहरूले पनि राम्ररी काम गर्न सकिरहेका थिएनन् । अझ हात र गोडाका नशाहरू खुम्चिएका थिए । मलाई निकै समस्या थियो । उनीहरूले (चिनियाँहरू) मेरो स्वास्थ्य समस्याप्रति गम्भीर चासो देखाए । यदि तपाई केही समय यही बसेर उपचार गराउन चाहनुहुन्छ भने हामी उपचारको व्यवस्था मिलाउने छौं’ भनेपछि ६–८ महिना वा वर्षदिनसम्म चीनमा बस्दा के पो विग्रिहाल्ला र ? भन्ने ठानेर स्वास्थ्योपचारको निम्ति त्यहाँ बस्ने निर्णयमा पुगें । चीनको दक्षिणी भागमा रहेको ठूलो शहर क्यान्टन, नजिकै रहेको सैनिक अस्पतालमा राखेर मेरो उपचार गर्ने व्यवस्था मिलाइएको थियो । मलाई उनीहरूले नेपाल कम्युनिस्ट पार्टीको महासचिवको सम्मानकासाथ उपचार गराएका थिए । कतिपय औषधीहरू चीनमा उपलब्ध नभए हङकङ र अन्य ठाउँबाट ल्याएर भए पनि उपचार गरेका थिए।  
उपर्युक्त भनाइबाट पनि के रोग लागेको थियो भन्ने कुरा प्रस्ट छैन । तर उहाँलाई लागेको रोगको उपचार चीनमा भएको र त्यो पनि नेकपाको नेताको हैसियतमा गराइएको कुरा मात्र जानकारी पाउन सकिन्छ । मनमोहन अधिकारीकासँगै चीन जानेहरूमध्येका शंभुराम श्रेष्ठले उहाँको स्वास्थ्य स्थितिका बारेमा यसरी उल्लेख गरेको पाइन्छ ः        
 
         हामीहरू पेकिङ्मा रहुन्जेल मनमोहनलाई अन्त कही लगिएन पेकिङ् अस्पतालमै राखिछाडियो । हामीहरू स्वदेश लागेपछि उनलाई दक्षिणी चीनको क्वाङ्तुङ् प्रान्तको एउटा गाउँमा छुट्टै र सिङ्गो घरमा लगेर अरू उपाचारको लागि राखियो । जुन घरमा उनको उपचार गर्ने लेप्रोसि बिशेषज्ञ डाक्टर सुरक्षा फोर्सका जवानहरू र खाना सामानहरू लगायत पूरै स्टाफ चौविसै घण्टा रहने व्यवस्थासमेत गरिएको थियो । तीनवर्षसम्मको इन्टेसिभ उपचारपछि मात्र उनी पूर्णरूपले निको भएका थिए ।  

मनमोहन अधिकारीले जस्तै शंभुराम श्रेष्ठले पनि उनको स्वास्थ्य अवस्था कमजोर रहेको र चौवीसै घण्टा उपचार गर्नु परेको कुरा उल्लेख गरे पनि रोग के थियो भन्ने प्रस्ट पारेको देखिदैन । 

तत्कालीन समयमा पापी, अधर्मी जस्ता मानिसलाई मात्र कुष्ट रोग लाग्छ भन्ने सामाजिक मान्यता रहेको र त्यस्तो रोग लाग्ने मानिसलाई समाजले तिरस्कार गर्ने गर्दथ्यो । त्यसैले मनमोहन अधिकारीलाई लागेको रोग लुकाउने अभिप्रायका साथ फरकफरक धारणा व्यक्त गर्ने गरिएको पाइए तापनि उहाँलाई कुष्ठ रोग लागेको देखिन्छ । त्यतिबेला नेपालमा कुष्ठरोग लागेकालाई उपचार गराउने वातावरण नै थिएन । मनमोहन अधिकारी शिक्षित, राजनीतिज्ञ र भारतमा बेलावखत आवतजावत गरिरहने भएको हुँदा सुरुमा भारतमा उपचार गराउनु भएको र पछि चीन जाने अवसर पाएका बेला त्यही बसेर उपचार गराई स्वास्थ्य लाभ गर्नु भएको थियो । 

    मनमोहन अधिकारी उपचारकै क्रममा चीनमा रहेका बेला वि.सं.२०१४ साल जेठ १५–२५ गते नेकपाको दोस्रो महाधिवेशन काठमाडौं स्थित फोहोरा दरबारमा सम्पन्न भएको थियो । जुन अधिवेशनबाट केशरजंग रायमाझी महासचिवमा चुनिनु भयो । पुष्पलाल लगायतका केही नेताहरूले दोस्रो महाधिवेशनबाट पारित भएका नीतिहरूको कार्यान्वयनमा जोड दिन थाल्नु भयो तर नेतृत्व आफ्नै तरिकाले अघि बढ्दै थियो । मनमोहन अधिकारी चीनमा रहे पनि पार्टीको बारेमा चासो राखीरहेनु भएको थियो । पार्टीको दोस्रो महाधिवेशका लागि नरबहादुर कर्माचार्य मार्फत एउटा पत्र पठाउनु भएको थियो । अस्पतालको शैयाबाट लेखेर पठाइएको २२ पृष्ठको उक्त पत्र महाधिवेशनमा पढेर सुनाउने कि नसुनाउने भन्ने विषयमा केही समय छलफल भयो । अन्ततः सुनाउनु उपयुक्त हुने ठहर भएपछि मञ्चबाट पढेर सुनाइयो । जुन पत्रमाथि दुईजना प्रतिनिधिले टिप्पणी गरेका थिए । उक्त महाधिवेशनमा उपस्थित रहनु भएका र त्यस पत्रका सम्बन्धमा त्यहा देखिएको अवस्थाका बारेमा भरतमोहन अधिकारीले नरवहादुर कर्माचार्यमार्फत मनमोहन अधिकारीले चीनबाट महाधिवेशनको नाममा पठाएको पत्र पढेर सुनाइयो । पत्रमा उनले अहिले पनि दरवारिया षडयन्त्रबाट नै प्रमुख खतरा छ भनेर उल्लेख गरेका थिए । त्यो पत्रले हलको वातावरण तताइ दिएको थियो । सारा हलले ताली पिटेर पत्रको स्वागत गरेको थियो भनि उल्लेख गर्नु भएको छ  । उपर्युक्त भनाइलाई हेर्दा मनमोहन अधिकारी उपचारकै क्रममा रहँदा पनि पार्टी नीति र नेतृत्वका बारेमा गम्भीर हुनुहुन्थ्यो भन्ने देखिन्छ । त्यो पत्रका सम्बन्धमा स्वयम् मनमोहन अधिकारीको भनाई यस्तो रहेको पाइन्छ :

        मैले चीनबाट पनि पार्टीलाई एउटा चिठी पठाएको थिएँ । त्यो चिठी पार्टीको नीतिसँग सम्बन्धित थियो र नेपालमा कम्युनिस्ट पार्टी कसरी अघि बढ्नु पर्छ भन्ने कुरा त्यसमा उल्लेख गरिएको थियो । नरबहादुर कर्माचार्य टे«ड यूनियनको नेताका हैसियतले चीन पुगेका थिए । मैले उनको मार्फत नै त्यो चिठी पठाएको थिएँ ।...देशमा विद्यमान संसदीय व्यवस्था खतरामुक्त रहेको देखिन्न । माझी आएपछि जे मन लाग्यो त्यही गर्न थालेपछि पार्टीका सामु गम्भीर अन्यौल खडा गरेको भन्ने जानकारीका आधारमा मैले उक्त पत्र लेखेर पार्टी समग्र नीतिका बारेमा समेत बताउने प्रयत्न गरेको थिएँ । 

    उपर्युक्त भनाइबाट के देखिन्छ भने उपचारका क्रममा रहँदा पनि नेकपाले आफ्नो मूलबाटो छोड्दै गएको कुराबाट चिन्तित हुँदै पार्टीलाई सही मार्गमा अगाडि बढ्न सुझाव दिएको देखिन्छ । कार्यवहाक महासचिवका नाताले केशरजंग रायमाझिले जुन खालको गतिविधि गरि रहनु भएको थियो त्यसबाट मनमोहन अधिकारी असन्तुष्ट हुनुहुन्थ्यो । त्यो बेला पार्टी नीति अल्पमत र बहुमत गरी विभाजित भएको थियो अर्थात एक मतले पास हुन सकेको थिएन । उक्त महाधिवेशनमा नीति पुष्पलालको पास भएको र नेतृत्व केशरजंग रायमाझीमा पुग्यो  । महाधिवेशनमा गणतन्त्रको लक्ष्यसहितको संविधानसभाको माग राख्ने समूहको दस्तावेज पारित भए पनि पार्टीका पदाधिकारीहरू त्यो भन्दा फरक दृष्टिकोण राख्नेहरू निर्वाचित भएका थिए । फलतः उनीहरूले पारित दस्तावेजको खुलेरै विरोध गर्न थालेका थिए । त्यसपछि क्रमशः रायमाझी नेतृत्वले महाधिवेशनको निर्णयप्रति बफादार भएर काम गर्नुको सट्टा दरवार निकट रहेर काम गर्न थाल्नु भएको थियो । 

मनमोहन अधिकारी वि.सं २०१६ साल कार्तिक महिनामा स्वास्थ्य लाभ गरी नेपाल फर्किनु भएको थियो । नेपालमा आमनिर्वाचन भएर संसदीय सरकार गठन भए पनि तत्कालीन संविधानको धारा ५५ ले संसदीय सरकारको गर्धनमा जुनसुकै बेला तरवार बजारिने सम्भावना कायमै राखेको थियो । उक्त सम्भावनाका विषयमा चीनबाट फर्केपछि तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँग छलफल गर्दा भारतसँगको घनिष्टता, पश्चिमा शक्तिको स्वार्थ र चीनसँगको मित्रताका कारण सम्भावना नभएको भन्दै कम्युनिस्ट आँखाले यसरी हेर्नु गल्ती हुने तर्क प्रस्तुत गर्नु भएको थियो। 

(डा. ढाकाराम सापकोटाद्वारा लिखित मनमोहन अधिकारी : नेपाली राजनीतिका ६ दशक पुस्तकबाट सम्पादित अंश। मण्डप बुक्सबाट प्रकाशित यो पुस्तकको विमोचन वैशाख १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए)
 


पुस्तक अंश : किन बसेका थिए मनमोहन अधिकारी प्रयोजन लुकाएर तीन वर्षसम्म चीन? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट