PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दक्षिण एसियाली जुडो : ६ स्वर्ण थप्दै भारत च्याम्पियन, इन्द्रले दिलाए नेपाललाई दोस्रो स्वर्ण

दक्षिण एसियाली जुडो : ६ स्वर्ण थप्दै भारत च्याम्पियन, इन्द्रले दिलाए नेपाललाई दोस्रो स्वर्ण

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : आठौँ दक्षिण एसियाली जुडो च्याम्पियनसिपको दोस्रो दिन भारतले ६ स्वर्ण जित्दा घरेलु टोली नेपालका लागि इन्द्र बहादुर श्रेष्ठले मात्र स्वर्ण जिते।

अघिल्लो दिन ४ स्वर्ण जितेको भारत समग्रमा १० स्वर्ण जित्दै च्याम्पियन बनेको हो। नेपालले पहिलो दिन पनि १ स्वर्ण जितेको थियो। भारतले कूल १० स्वर्ण र ३ कास्य जित्यो।

नेपालले २ स्वर्ण, ६ रजत र १३ कास्य जित्दै दोस्रो स्थान हात पार्दा २ स्वर्ण ३ रजत र ३ कास्य जितेको पाकिस्तान तेस्रो भयो। श्रीलंका, बंगलादेश र भुटानले स्वर्ण जित्न सकेनन्।

दोस्रो दिन अन्तिम प्रतिस्पर्धाको रुपमा रहेको पुरुष ६६ केजी मुनी तौल समूहमा नेपालका इन्द्रले पाकिस्तानका बाबर हुसेनलाई पराजित गरे।

उनले सेमिफाइनलमा भारतका अंकित बिस्टलाई हराएका थिए। भारत र पाकिस्तानका खेलाडीलाई पराजित गर्दै घरेलु भुमीमा स्वर्ण जितेका इन्द्रले एकदमै खुशी लागेको प्रतिक्रिया दिए। 'सेमिफाइनलमा भारतीय खेलाडीलाई हराएपछि स्वर्ण जित्छु भन्ने मनोबल बढेको थियो। गुरुहरुको मेहनत र समर्थनले गर्दा स्वर्ण जित्न सफल भएँ। गुरुहरुलाई धन्यवाद।' इन्द्रले भने।

भारतमा भएको १२औँ साग गेम्समा कास्य जितेका १९ वर्षीय इन्द्र एसियन गेम्सको तयारीमा छन्।

६६ केजी मुनी भारतका अंकित र श्रीलंकाका रोशन मदुसंकाले कास्य जिते।

पुरुष ७३ केजी मुनी र ८१ केजी मुनी तथा महिला ७८ केजी मुनी नेपालका खेलाडीहरु भारतका खेलाडीसँग पराजित भए।

पुरुष ७३ केजीमुनी भारतका अजय यादवले नेपालका सन्जित डंगोललाई इप्पोन र वाजरीमा पराजित गर्दै स्वर्ण जिते। नेपालका जंग बहादुर सरु र पाकिस्तानका नदिम अक्रमले कास्य जिते।

पुरुष ८१ केजीमुनी भारतका दिवेशले नेपालका सन्जय महर्जनलाई पराजित गर्दै स्वर्ण जिते। पाकिस्तानका अब्बास मुहमद र श्रीलंकाका श्रीहर्ष पिरेसले कास्य जिते।

महिला ७८ केजी मुनी भारतका जिनादेवी चाङ्गतोमले नेपालका पुनम श्रेष्ठलाई हराउँदै स्वर्ण जितिन्। नेपाली खेलाडी पुनमले लगातार ३ फल खेल्दै खेलमा डिस्क्वालिफाई भएपछि भारतीय खेलाडीले गोल्डेन स्कोरमा खेल जितेको हो। निर्धारित ४ मिनेटको समयमा दुवै खेलाडीले बराबरी खेलेका थिए। नेपालकी भावना घर्ती मगर र पाकिस्तानका बिनिस खानले कास्य जिते।

महिला ७८ केजी माथि भारतीय खेलाडी तुलिका मानले श्रीलंकाका मालिनी शिल्भालाई पराजित गर्दै स्वर्ण जितिन्। बंगलादेशका लोपा तहमिना अख्तर र नेपालका आकृती जोशीले कास्य जिते।

यसैगरी पुरुष ६० केजी मुनी भारतका विजय यादवले श्रीलंकाका मिलिन्दा नेविरत्नेलाई हराउँदै स्वर्ण जिते। नेपाली खेलाडीद्वय रोसन बहादुर दोङ र उमेर मगरले कास्य पदक हात पारे।

महिला ७० केजी मुनी भारतकी गरिमा चौधरीले लिग चरणका चार वटै खेल जित्दै स्वर्ण पदक जितिन्। उनले नेपालकी सुनिता मगर र सम्झना चौधरी, बंगलादेशकी फरिना खानोन र श्रीलंकाकी रुवानी जयारत्नलाई पराजित गरिन्।

३ खेल जितेकी बंगलादेशकी परिनाले रजत तथा २ खेल जितेकी श्रीलंकाकी रुवानीले कास्य जितिन्।

च्याम्पियनसिपको तेस्रो दिन सोमवार टिम च्याम्पियनसिपतर्फ प्रतिस्पर्धा हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell