PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'क्लब सेभेन' दोहोरो चरित्र देखाउने ऐना



स्वेच्छा राउत

'क्लब सेभेन' दोहोरो चरित्र देखाउने ऐना

आजको समाज देखाउन र सुनाउनमै रमाउँछ - भए पनि, नभए पनि। कुनै पैसावाल बाबुले आफ्नो बच्चाको जन्मोत्सव धुमधामले मनाइदिन्छ राम्रैसँग पैसा खर्चेर। अनि अर्को पैसा नभएको बुबाको छोरोलाई पनि त्यसैगरी बर्थडे मनाउन रहर लाग्छ। छोरोले देखेर गरेको रहरसँग बुबाको इज्जतको प्रश्न धेरथोर जोडिन्छ नै। र, ऋण काडेरै भए पनि बर्थडे सेलिब्रेट हुन्छ। नेपालको समकालीन समाजमा देखिने यी सामान्य दृश्यहरु हुन्। 

धेरैको होड आफू खुशी हुनुभन्दा बढी अरुलाई खुशी बनाउनुमा हुन्छ। आफू सन्तुष्ट हुनुभन्दा अरुको चित्त बुझाउनुको होड बेग्लै छ। समग्रमा देखिनु र देखाउनुको आडम्बरमा रमाउँछ समाज। विशेषगरी आधुनिक जीवन जिउँने शहरीयाहरु। जसको लागि उचित केन्द्र बनेका छन् - पार्टी प्यालेस र ब्याङ्क्वेट। न्वारनदेखि चुडाकर्म, विवाह र मृत्यु संस्कारसँग जोडिएका कार्यक्रम ब्याङ्क्वेटमा गर्नु खर्च गर्न सक्नेका लागि फेसन र पैसा नहुनेहरुका लागि बाध्यता बनेको छ। यस्तैमा दोहोरो चरित्र निभाइरहेको समाजलाई व्यङ्ग्य गर्ने नाटक हो 'क्लब सेभेन' - जसले देखावटी र खोक्रोपनलाई अङ्गालेकाहरुको जीवनको फरक पक्षलाई प्रस्तुत गर्छ। 



नाटकले तीनवटा घटनाहरुमार्फत् ढोंगी समाजको कथा भन्छ। घटना धेरै पात्रहरु बीच एउटै केन्द्र ब्याङ्वेट 'क्लब सेभेन'मा घट्छ। एडप्टेड 'जेनी'को जन्मोत्सवमा युवावस्थाको प्रेमीदेखि फेसबुकमा भेटिएकी साथीसम्मलाई बोलाउने गोमा नामकी पात्र, जो पार्टी आयोजना त गर्छिन् तर उनीसँग ब्याङ्क्वेटमा तिर्ने पैसा हुँदैन। 

त्यस्तै विदेश गएर पनि पैसा कमाएन भन्ने आफन्तहरुको मुख टाल्न 'किन्दै नकिनेको घर'को पूजा ब्याङ्क्वेटमा गर्ने बरुण नामको पात्र। श्रृलङ्कन युवती बिहे गरेर ल्याएको उसले आफन्त, ठेकेदारदेखि जग्गा दलालसम्मलाई भोजमा बोलाएको हुन्छ। उसँग पनि ब्याङ्क्वेटमा तिर्न पैसा हुँदैन। 

यो सब भइरहँदा मारमा पर्छन् ब्या ङ्क्वेटका कर्मचारीहरु। उनीहरु तलब बेगर काम गरेको दुई महिना भइसक्दा पनि म्यानेजरले केही गर्न सक्दैन। काम गरेर खाने वर्गको समस्या र देखावटी जीवनशैलीमा रमाउनेहरुको ढोंगबीच सिर्जना हुने द्वन्द्व प्रस्तुत हुन्छ। ब्याङ्क्वेट म्यानेजरको मानसिक द्वन्द्व फरक ठाउँमा छ। उसले कर्मचारी र ग्राहक दुवैलाई सम्हाल्नु छ। 



नाटकको मुल उद्देश्य आडम्बरी र ढोंगी बन्दै गएको समाजलाई व्यङ्ग्य गर्नु हो। पात्र केन्द्रित नाटकमा तेस्रो घटनामा सर्वाधिक पात्रहरु छन्। सबैको सामाजिक प्रतिष्ठा र रवाफ छ। हरेक समस्या बुझेँ भन्ने मन्त्री, आफ्नो किताब नपढेकालाई पनि मैले यस्तो गरेको छु भन्दै सुनाउने लेखक, भलाद्मी प्रस्तुत हुन खोज्ने पत्रकार, नेपाली र अङ्ग्रेजी भाषा मिलाएर नारी सशक्तिकरणको कुरा गर्ने महिलादेखि रक्सीमा रमाउने डाक्टरसम्म। सबैजना क्लव सेभेनमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा उपस्थित छन्।

सबैको आ-आफ्नो कुरा र एकअर्काको तारिफ। यसबीच सम्मानित हुन लागेको पात्र 'संगीतकार सबिन', जो कार्यक्रममा छ तर उसको उपस्थितिको मतलव छैन। आयोजकदेखि आगन्तुक कसैलाई पनि। पारिवारिक दवावका कारण संगीतकर्म छोडेर मासु व्यापार गरेर बसेका सबिनका बारेमा आयोजक ईश्वरदेव भन्छन्, 'अहिले यो मासुसँगै फ्रस्टेसन छ्याप छ्याप काट्छ'। 

संगीतकार सबिनको जीवनको अवस्था यस्ता संवादहरुले मात्र होइन उसको हुलियाले पनि झल्काउँछ। तर, व्यङ्ग्यात्मक त के छ भने नगद राशीसहितको सम्मान आयोजना गर्ने ईश्वरसँग न त उसलाई दिने पैसा छ न पार्टी प्यालेसमा दिने नै। तर, पनि उ शानले उभिन्छ। आफ्नो तारिफमा ताली बजाउँदै र आफैलाई राज्यले सम्मान गर्नुपर्ने तर्कमा हो हो मिलाउँदै। 



आधुनिकताको नाममा खोक्रो बन्दै गएको समाजमा नाटक 'क्लब सेभेन'को विषय उठान आवश्यक लाग्छ। तर, घटनाहरु तन्काउन र अनावश्यक पात्रहरुका लागि पनि जबरजस्ती स्पेस दिनाले नाटक धेरै लामो बनेको छ। जति गहन नाटकको विषय छ, त्यति नै सतही अभिनयको पाटो। केन्द्रीय पात्रहरुले समेत दर्शकलाई इन्गेज्ड तुल्याउन सक्दैनन्। तर, केही पात्रको व्यक्तिगत प्रस्तुति प्रशंसनीय छ। प्रशिक्षार्थीहरुको अभिनय रहेकाले हुनसक्छ डायलग डेलिभरीको पाटो कमजोर लाग्छ, जसका कारण प्रतिकात्मक र गम्भीर बन्न सक्ने दृश्यहरु जिवन्त लाग्दैनन्। पात्रहरुको लुक्स, बोल्ने तरिका र घट्ने घटनाहरु दोहोरिएको भान गराउँछ। 

पात्रहरुको पृष्ठभूमि र घटनामा उनीहरुको ठाउँ, नाटकमा प्रयोग यस्ता विम्ब र व्यङ्ग्यले भने केही सोच्न लगाउँछ। विशेषत: नाटकको अन्त्यमा सम्मानित पात्रको लुगा खोलिन्छ र उनको सम्मानको साक्षी बस्छन् आडम्बरको खोल ओडेका तिनै डाक्टर, पत्रकार, लेखक, डाक्टर र समाजसेवी। उक्त दृश्य भावुक छ र उस्तै गम्भीर पनि। डेढ घण्टा लामो नाटकको सार एउटा दृश्यले समीक्षा गर्छ। 



निर्देशकहरु दयाहाङ राई र राजन खतिवडाले सेटको प्रयोग चलाखीपूर्ण रुपमा गराएका छन्। तर, संगीत र अभिनयको तालमेल केही हल्का लाग्छ।

सोमनाथ खनाल र सिजन दाहालले लेखेको नाटक मण्डला थिएटरले वार्षिक रुपमा सञ्चालन गर्ने तीन महिने अभिनय प्रशिक्षणको छैंठौं संस्करणका प्रशिक्षार्थीहरुको अभिनय रहेको छ। इम्प्रोभाइजेशन भनिने आशुरचनाको विधि र परम्परागत नाट्यनिर्माणको विधिबीचमा रहेर नाटक तयार पारिएको छ। नाटकमा २७ कलाकार छन्। वैशाख २३ गतेसम्म मञ्चन हुने नाटक सोमबारबाहेक हरेक साँझ ५:३० मा शुरु हुनेछ। शनिबार १ बजे अतिरिक्त सो पनि छ।


फोटो: मण्डला थिएटरको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell