PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जुम्लामा १४ हजारले गरे स्वास्थ्य बिमा, चार हजारले लिए सेवा



पहिलोपोस्ट

जुम्लामा १४ हजारले गरे स्वास्थ्य बिमा, चार हजारले लिए सेवा

सुर्खेतः जुम्लामा १४ हजार ५८ जनाले स्वास्थ्य बिमा गरेका छन्। बिमाबाट ५७ लाख रुपैयाँ संकलन भएको छ।

गत असार १ गतेबाट शुभारम्भ भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्लाका २० हजार घरधुरी संख्यामध्ये दुई हजार २०० घरधुरीका १४ हजार ५८ जनाले बिमा गरेका छन्। स्वास्थ्य बिमा गरेका मध्येबाट हालसम्म चार हजार ४२८ जनाले स्वास्थ्य बिमा सेवा लिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल रेकर्डर मेघराज बुढाले जानकारी दिए।

“कर्णाली प्रदेशका जुम्ला, सुर्खेत र जाजरकोटमा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्ला नै अगाडि रहेको छ,” मेडिकल रेकर्डर बुढाले भने।

उनका अनुसार जुम्लाको कूल एक लाख आठ हजार ९२१ जनसंख्यामा १०.११ प्रतिशतले स्वास्थ्य बिमा गरेका छन्। जहाँ तीन लाख ५० हजार ८०४ कूल जनसंख्या भएको सुर्खेतमा ४.०१७ र कूल जनसंख्या एक लाख ७१ हजार ३०४ भएको जाजरकोटमा ६.१७ प्रतिशतले मात्र स्वास्थ्य बिमा गरेको उनले बताए।

कर्णाली प्रदेशका स्वास्थ्य बिमा कार्यालयका संयोजक अर्जुन पण्डितले ३३ जिल्लामा स्वास्थ्य बिमा लागू भएको र ४० जिल्लासम्म यो अभियान पुर्‍याउने लक्ष्य रहेको बताए।

नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले यो अभियानलाई विस्तार गर्नाका साथै प्रभावकारी बनाएर लैजान अहिले जनप्रतिनिधिलाई स्वास्थ्य बिमासम्बन्धी अभिमुखीकरण दिन थालेको छ। अछाम बैतडी, कैलाली, बाग्लुङ, म्याग्दी, पाल्पा, इलाम, जुम्ला, जाजरकोट र सुर्खेतमा यो कार्यक्रम सुरु भएको जनाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell