PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आइपीएल र बलिउड कनेक्सन : मैदानमा सेलिब्रेटी, हलमा दर्शक नाइ



गोविन्दराज नेपाल

आइपीएल र बलिउड कनेक्सन : मैदानमा सेलिब्रेटी, हलमा दर्शक नाइ

गत आइतवार दिउँसो स्टार स्पोर्ट्स च्यानलमा भारतका दुई चर्चित व्यक्तित्व अमिताभ बच्चन र कपिल देव एकआपसमा बातचित गरिरहेका थिए। दुवैले प्रश्न सोध्न पाउने र जवाफमा दिन पाइने छुट थियो।

अमिताभ बलिउडका सबैभन्दा ठूला स्टार हुन् भने कपिल देव भारतलाई पहिलो वान डे वर्ल्डकप जिताउने कप्तान।

भारतमा चलिरहेको आइपीएलको ११औँ संस्करणकै बीच यी दुई हस्ती एक आपसमा फिल्म र क्रिकेटका कुरा गरिरहेका थिए।

यसले भारतीय सिने बजार र क्रिकेटलाई कति कनेक्टेड छन् भन्ने देखाउँछ। तर, भारतमा सिनेस्टार र क्रिकेटको सम्बन्ध यतिमा मात्र सीमित छैन। 

यी दुई क्षेत्रबीच सम्बन्ध नै गाँसिएको छ। आइपीएलमा कतिपय बलिउडकर्मीको लगानी रहेको छ।

बलिउड स्टार साहरुख खान कोलकता नाइट राइडर्सको मालिक हुन् भने डिम्पलवाली प्रिती जिन्टा किंग्स एलेभेन पञ्जावकी मालिक्नी। यी दुई आइपीएलको सुरुवातदेखि नै क्रिकेटमा जोडिएका छन्।

यस्तै केही समयअघि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले बलिउडमै नायिका अनुष्का शर्मासँग विवाह गरे। त्यसो त विवाह अघि नै अनुष्का विराटको खेल हेर्न मैदानसम्म नै पुग्ने गर्थिन् अहिले झनै यो क्रम बढेको छ। विराटले छक्का चौका वर्षाउँदा अनुष्का मोहित हुन्छिन्, क्यामरा पर्सनले मैदानबाटै एउटा क्यामरा अनुष्कालाई फोकस गर्न छुट्याउँछ। 

यी त भए क्रिकेट र बलिउडसम्म जोडिएको केही किस्सा। आइपीएलले गर्दा कतिपय सेलेब्रेटीको ध्यान फिल्ममा भन्दा पनि क्रिकेटमा बढी केन्द्रित छ। भारतका क्रिकेटलाई नै भगवान् मान्नेहरु पनि छन्। भारतमा सिनेमा र क्रिकेट सबैभन्दा लोकप्रिय विषय बनेको छ। तर, सिनेमालाई समेत क्रिकेटले उछिनेको छ।

आइपीएलको ओपनिङ सेरेमोनीमा समेत बलिउड स्टारहरु ऋत्तीक रोशन, वरुण धवन, ज्याकलिन फर्नान्डेज, तब्बु लगायतले आफ्नो प्रस्तुति दिएका थिए।

अहिले बलिउड स्टार वरुण धवनको अक्टोबर फिल्म हलमा प्रदर्शन भइरहेको छ। तर, दर्शकहरुमा हलमा भन्दा बढी क्रिकेट मैदानमा केन्द्रित छन्। मैदानसम्म नपुग्नेहरु पनि टेलिभिजनको ठूला स्क्रिनमा क्रिकेट हेर्न र आफ्ना स्टार खेलाडीलाई समर्थन गर्नमा व्यस्त छन्। 

आइपीएलकै समयमा अमिताभ बच्चन र ऋषी कपुरको अभिनय रहेको कमेडी ड्रामा १०२ नटआउट फिल्म रिलिज हुँदैछ। उनै अमिताभले टेलिभिजन शो मा गएर आफ्नो फिल्मको बारेमा अलिकति भएपनि विज्ञापन गरे। अमिताव आफै पनि क्रिकेट हेर्न मैदानसम्म पुग्छन्। मुम्बई र चेन्नाईबीचको उद्घाटन खेल हेर्न वानखडे स्टेडियम पुगेका अमिताभलाई टेलिभिजन क्यामेराले बारम्बर देखाइरहेको थियो। अमिताभ आफैले पनि आफूले एक भन्दा धेरै टीमको सपोर्ट गर्ने तर मुम्बई र चेन्नाईको खेल हुँदा भने निर्णय लिन कठिन हुने प्रतिक्रिया दिएका थिए।

आइपीएलको समयमा ठूला बजेटका फिल्म रिलिज हुने छैनन् र ठूला स्टारलाई हलमा देख्न पाइने पनि छैन। यस समयमा सानो बजेट र अफबिटका फिल्महरु रिलिज हुने गर्छन्। गत वर्ष आइपीएलकै समयमा प्रदर्शन भएको इरफान खान अभिनित फिल्म हिन्दी मिडियमले हलबाट उत्रेपछि बढी चर्चा बटुलेको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell