PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बिहान आधा घण्टा गीत सुन्छु, आधा घण्टा एक्सरसाइज, एउटा कोठामा हार्मोनियम बज्छ, अर्कोमा गितार: प्रचण्ड



पहिलोपोस्ट

बिहान आधा घण्टा गीत सुन्छु, आधा घण्टा एक्सरसाइज, एउटा कोठामा हार्मोनियम बज्छ, अर्कोमा गितार: प्रचण्ड

काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनलाई संगीत, कला, साहित्य र संस्कृतिले नै जीवन्त तुल्याउने बताएका छन्।

शुक्रवार साँझ राजधानीमा आयोजित मेची महाकाली साङ्गीतिक अभियानको उद्घाटन गर्दै प्रचण्डले भने, ‘यदि संगीत, कला, साहित्य र संस्कृति जीवन्त नतुल्याउने हो भने राजनीति निरस भएर जान्छ।’

मेची महाकाली साङ्गीतिक अभियानको सुरुवात समय सान्दर्भिक भएको र यसले नेपाली जनताले गरेको नयाँ समृद्धि र सभ्यतासहितको नयाँ युगको अपेक्षामा ठुलो टेवा मिलोस् भन्दै शुभकामना दिए।

प्रचण्डले संगीतकार र कलाकारहरूलाई रोयल्टीको अधिकार स्थापित गर्न पुरै सहयोग हुने विश्वास दिए। उनले भने, ‘शान्ति सम्झौतामा हस्ताक्षर गरेर यो राजनीतिक प्रक्रियामा समावेश भैसकेपछि कलाकार र संगीतकारलाई राज्यको तर्फबाट प्रोत्साहन गर्न, सहयोग गर्न र उनीहरूको अधिकार स्थापित गर्न हमेसा मेरो ध्यान रहेको छ ।’

‘मैले पहिलो पटक प्रधानमन्त्री हुँदा कलाकारको अक्षयकोषमा एक करोड रुपैयाँ सहयोग गरेको थिएँ। अब म संगीतकार कलाकारहरूलाई त्यसरी नै राज्यको तर्फबाट सहयोगका लागि पहल गर्ने विश्वास दिलाउन चाहन्छु’, प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले आफ्नो परिवारमा पनि संगीत र संवेदनाको स्थिति रहँदै आएको बताए। युद्धका समयमा र शान्ति प्रक्रिया पश्चात् पनि गीत सङ्गीतप्रति आफ्नो संवेदनशीलता र भावुकता राष्ट्रले देखिसकेको उनको भनाइ थियो।

अध्यक्ष दाहालले आफ्नो बिहानको सुरुवात नेपाली गीत संगीतबाट हुने उल्लेख गर्दै भने, ‘मेरो बिहान ५ बजेबाट सधैँ नै आधी घण्टा पुुराना संगीतकार र नयाँ संगीतकार त्यसै गरी पुराना गायक र नयाँ गायकका गीत संगीत सुनेपछि सुुरु हुन्छ।'

हरेक दिन बिहान बिहान ५ बजे प्रेमध्वज प्रधान र अरू धेरै वरिष्ठ पुराना संगीतकारका गीत र संगीतबाट र आधुनिक गीतका नयाँ कलाकारहरूका गीत संगीत सुनेर आघी घण्टा बिताउने आफ्नो तालिका भएको उनले बताए। 'गीतपछि र आधी घण्टा फिजिकल एक्ससरसाइज गर्छु।  आधी घण्टाले गीतले मानसिक ‘रिफ्रेस्मेन्ट’ भएको महसुस गर्छु। र आधी घण्टाको ‘फिजिकल एक्सरसाइज’ले भौतिक ‘रिफ्रेस्मेन्ट’ भएको महसुस गर्छु । मेरो घरमा एउटा कोठामा हार्मोनियम बज्छ, अर्को कोठामा गितार बज्छ यस्तै गर्दैगर्दै जीवन अगाडि बढिरहेको छ ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell