PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मन्त्री, सांसद, सरकारी कर्मचारी नै ठेक्कापट्टामा लागेका छन्, देश कसरी उभो लाग्नु? : चित्रबहादुर केसी



चन्द्रकान्त खनाल

मन्त्री, सांसद, सरकारी कर्मचारी नै ठेक्कापट्टामा लागेका छन्, देश कसरी उभो लाग्नु? : चित्रबहादुर केसी

रुपन्देही: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई मागी खाने भाँडो बनाइएको बताएका छन्। सत्तामा बसिरहन मनपराउने कांग्रेस, एमाले र माओवादीहरूले राजनीतिलाई मागी खाने भाँडो बनाएको बताएका हुन्। 

शुक्रवारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले राजनीति गर्ने मान्छेहरू जोगी हुन पनि तयार हुनुपर्ने बताए। 

उनले राजनीति गर्ने मान्छेले निष्ठाको राजनीति नगरे व्याक्तिहरु मोटाउँदै जाने र देश टाट पल्टिने बताए। कांग्रे, एमाले, माओवादीले सत्ता र शक्तिको राजनीति गरेकाले देशमा भ्रष्टाचार र अराजकता मौलाउँदै गएको उनको दाबी थियो। 

पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले नेपाली जनताले संघीय प्रणालीको खर्च पुर्‍याउन नसक्ने बताए। संघीय प्रणालीको आफूहरू विरोधी नभएको उल्लेख गर्दै अध्यक्ष केसीले देशको आर्थिक र भौगोलिक अवस्थाले धान्न नसक्ने भएकाले त्यसको विरोध गरिएको उल्लेख गरे। 

उनले तराईलाई पहाडबाट अलग गराई नेपालमा अस्थिर कायम गर्न भारतले नेपालमा संघीयता ल्याउन खोजेको र जातीयता, क्षेत्रीयता भित्र्याएर नेपाललाई रुवाण्ड बनाउने गरी पश्चिमाहरूले नेपालमा संघीयता ल्याउन चाहेको बताए। शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारन्टी राज्यले गर्नुपर्ने बताउँदै राज्यले जनताप्रतिको आफ्नो दायित्व पुरा गर्न नसकेको बताए। 

उनले मन्त्री, सांसद र कर्मचारीहरु नै सहकारी, बैंक, शिक्षण संस्था, एनजीओ, आईएनजीओको ठेक्का पट्टामा लागेकाले सबै क्षेत्र डुब्दै गएको बताए। 

एनजीओ, आईएनजीओले नेपालमा समान्तर सरकार चलाएको बताउँदै उनले भने, 'एनजीओ र आइएनजीओहरु जातीय र क्षेत्रीय भारी बोकेर आएका छन्। स्वास्थ्यलाई नीजिकरण गरेर समाजवादको सपना देख्ने एमाले, माओवादी र कांग्रेसबाट ठुलो आशा गर्न हुदैन।' 

सोही कार्यक्रममा अखिल नेपाल शिक्षक संघका नेताहरूले पेशागत सुरक्षाको माग गरेका छन्। संघका केन्द्रीय अध्यक्ष सानोभाई कार्कीले अहिलेको शिक्षाले २१ सौं शताब्दी चुनौतीहरूको सामना गर्न नसक्ने बताए। 

कार्यक्रममा शिक्षा विभाग प्रमुख बोमबहादुर खत्री, संघका पूर्व अध्यक्ष नरेन्द्र थापा, अखिल नेपाल शिक्षक संगठनकान अध्यक्ष घनश्याम पाठक, नेपाल राष्ट्रिय शिक्षा संगठनका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका धादिन्द्र क्षेत्री, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष जीवन शर्मा, जनजाति सम्मेलनका हनुमान चौधरी, अखिल नेपाल युवक संघका कोषाध्यक्ष बाबुराम आचार्य, उद्योग व्यापार संगठनका अध्यक्ष ढुण्डीराज पौडेल, वामवन्थी बुद्विजीवी दुर्गानाथ खरेल लगायतले बोल्दै शिक्षामा आमूल परिवर्तन हुन आवश्यक रहेको बताएका थिए। 

संघका अध्यक्ष सानुभाई कार्कीको अध्यक्षता र महासचिव चक्रपाणी पौडेलको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न जिल्लाका शिक्षकहरूलाई सम्मान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell