PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बालुवाटारको तीन घण्टे 'गोप्य' वार्ता, आज पनि हात लाग्यो शून्य



विधुर ढकाल

बालुवाटारको तीन घण्टे 'गोप्य' वार्ता, आज पनि हात लाग्यो शून्य

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका विषयमा रहेका विवाद सुल्ट्याउनका लागि बसेको दुई पार्टीका अध्यक्षहरुको 'वान अन वान' वार्ता आज पनि विना निष्कर्ष सकिएको छ। 

एकताका लागि कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रुप दिन प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि बालुवाटारको बन्द कोठमा तीन घण्टा सक्रिय रहे। तर, पनि दुई अध्यक्ष प्रतिवेदनलाई अन्तिम रुप दिन भने असफल भए।
 
बैठक भोलि पनि बस्ने सहमतिमा सकिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 

गत मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले प्रतिवेदनमा देखिएका विवादित विषय टुंग्याउने अधिकार दुई पार्टीका अध्यक्षलाई दिएको थियो। दुई अध्यक्षले विवादित विषयलाई टुंग्याएर आगामी संयोजन समितिको बैठकमा पेश गर्ने निर्ण भएको थियो। सोही अनुरुप हिजो बिहीवार पनि दुई अध्यक्ष बालुवाटारमा चार घण्टा गोप्य बैठकमा बसेका थिए। 

यद्यपि, दुई अध्यक्षले यसपटक पनि सहमति जुटाउन सकेनन्। ‘दुई अध्यक्षबीच एकताका लागि गठन भएका दुई कार्यदलले बुझाएको पार्टी एकता सम्बन्धी प्रतिवेदनमाथि आजको छलफल सकिएको छ,’ प्रचण्डका प्रेस संयोजक सापकोटाले भने, ‘दुवै अध्यक्षहरुबीच आज सौहार्दपूर्ण छलफल भयो। छलफललाई भोलि पनि निरन्तरता दिने सहमति भएको छ।’ 

पार्टी एकताको आधार तयार गर्नका लागि दुई दलले गत फागुन ७ गते एमाले नेता माधवकुमार नेपालको संयोजकत्वमा राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल तथा माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजकत्वमा विधान मस्यौदा कार्यदल गठन गरेका थिए। 
दुवै कार्यदलले गत चैत २२ गते बसेको एकता संयोजन समितिको बैठकमा प्रतिवेदन बुझाएका थिए। 

प्रतिवेदनमा विधानको प्रस्तावनामा जनयुद्ध र अन्य आन्दोलनको सम्बोधन कसरी गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन्। त्यस्तै एकतापछि बन्ने पार्टीको चुनाव चिन्ह र पार्टी कमिटी गठनको मोडालिटीको विषयमा सहमति जुट्न नसकेपछि विवादित विषयलाई यथावत राखेर प्रतिवेदन बुझाएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell