PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

क्यान निलम्वन फुकुवाको बाटोमा



पहिलोपोस्ट

क्यान निलम्वन फुकुवाको बाटोमा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभाले सल्लाहकार समितिले बनाएको संशोधित विधान हुबहु परित गरेपछि क्यानको निलम्बनको बाटो खुलेको छ।

इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)का प्रतिनिध अमर शेखको उपस्थितिमा बिहिवार काठमाडौंमा भएको विशेष साधारण सभाले विधान जस्ताको तस्तै पारित गरेको हो।

निर्वचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जिल्ला संघका केही रिजरभेसनहरु रहेपनि अहिलेलाई सबै विषयत थाँती राखेर विधान हुबहु पारित गरेको बताए।

'साधारण सभामा धेरै विषयमा छलफलहरु भए। जिल्लातिरको साथीहरुको पनि आफ्नो केही रिजर्भेसन थिए होलान् तर हामीले क्यान निलम्वन फुकुवाको लागि लचकता अपनायर अहिले जस्ताको तस्तै पारित गरेका हौँ। अहिले धेरै कुरा थाँती राखेका छौँ। पछि हुने साधारण सभाहरुले पनि त्यसलाई सम्बोधन गर्नेछ।' प्याकुरेलले भने।

यसअघि भएको विशेष साधारण सभामा क्यानले सल्लाहाकार समितिले बनाएको विधानमा केही बुँदा संसोधन गर्दै पारित गरेको थियो। तर आइसीसीले उक्त संसोधनलाई स्वीकार नगरेपछि क्यान निलम्वन फुकुवा हुन सकेको थिएन।

क्यानका पूर्व अध्ययक्ष विनयराज पाण्डेको संयोजकत्वमा रहेको ८ सदस्यी सल्लाहकार समितिले विधान बनाएको हो। सुरुमा उक्त समितिमा ६ जना रहेकोमा पछि क्यानकै अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल थपिएका थिए।

अब पारित भएको विधान राष्ट्रिय खेलकुद परिषद्ले अनुमोदन गरेपछि आइसीसीमा पठाइनेछ। त्यसपछि आइसीसीले क्यान निलम्वन फुकुवाबारे निर्णयक गर्नेछ। 'अब पारित विधानलाई राखेपले स्वीकृति गर्नुपर्‍यो। अनी आइसीसीमा पठाउनुपर्छ। त्यसपछि आइसीसीले पनि एउटा टाइमलाइन बनाउनेछ। त्यसपछि आइसीसीबाट पनि अप्रुभ भएर आउनुपर्‍यो। सबै प्रकिया अगाडी बढेमा अबको ३/४ महिनामा क्यान निलम्वन फुकुवा हुनेछ।' प्याकुरेलले भने।

यही शनिवार र आइतवार बस्ने आइसीसीको बोर्ड बैठकमा नेपालको घटनाक्रमबारे पनि छलफल हुने जनाइएको छ।

आइसीसीले ओके गरेपछि क्यान निर्वाचनको बाटो समेत खुल्नेछ। निर्वाचनका लागि ५ सदस्यीय मनिटरिङ कमिटी बन्नेछ। त्यसमा आइसीबाट ३ तथा राखेप र क्यानबाट १-१ जना सदस्य हुनेछन्। उनीहरुले यसअघि नै सम्पन्न भइसकेका ३७ जिल्लाको निर्वाचनको पनि मनिटर गर्नेछ र बाँकी रहेको दुई जिल्लाको निर्वाचन प्रक्रिया अगाडी बढाउन समेत काम गर्नेछ।

मनिटरिङ कमिटीले जिल्लाका साथै प्रदेश निर्वाचनको लागि पनि अनुगमन गर्ने महासचिव प्याकुरेलले जानकारी दिए।

सरकारी हस्तक्षेप भएको भन्दै आइसीसीले २०७३ वैशाखमा क्यान निलम्वन गर्दै सम्पूर्ण फण्ड बन्द गरेको थियो। तर नेपाली क्रिकेट टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर भने प्रदान गरेको थियो।

यसबीचमा आइसीसीकै उच्च पदाधिकारीहरु समेत बारम्बर नेपाल आएर क्यान विवाद सुल्झाउन छलफलमा जुटेका थिए। तैपनि सफल हुन सकेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell