PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एभिसी सेन्ट्रल जोन भलिबल : स्वर्ण जित्ने नेपालको लक्ष्य



पहिलोपोस्ट

एभिसी सेन्ट्रल जोन भलिबल : स्वर्ण जित्ने नेपालको लक्ष्य

काठमाडौं : बंगलादेशमा हुने चौथो एभिसी मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्ने भएको छ।

अघिल्लो संस्करणमा तेस्रो भएको नेपालले यस पटक स्वर्ण जित्ने लक्ष्य लिएको छ। बुधवार भएको बिदाई कार्यक्रममा नेपाली टिमका कप्तान इम रानाले यसपटकको तयारी राम्रो रहेकाले फाइनलसम्मको यात्रा तय गरी उपाधि जित्ने टिमको लक्ष्य रहेको बताए।

आगामी अप्रिल २१ देखि २८ सम्म बंगलादेशको ढाकामा हुनेछ प्रतियोगितामा नेपाल र घरेलु टोली बंगलादेशसँगै साविक विजेता कीर्गिस्तान, तुर्कमिनिस्तान, माल्दिभ्स र अफगानिस्तान गरी कूल ६ टिमको सहभागिता रहनेछ।

इम रानामगरको कप्तानीमा रहेको नेपाली टोलीमा अनुभवी र नयाँ खेलाडीहरुको मिश्रण रहेको छ। टोलीलाई राष्टिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार बिष्टले बुधवार बिदाई गरे।

बिदाई कार्यक्रममा विष्टले नेपाल विजेता भए प्रत्येक खेलाडीलाई नगद २ लाखर उपविजेता भए १ लाख दिने घोषणा गरेका छन्।

नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माको नेतृत्वमा २० सदस्य नेपाली टोली बंगलादेश जानेछ।

टिमको प्रशिक्षको भूमिकामा बलराम क्षेत्री र जगदिश भट् छन्। नेपाल भलिबल संघका उपाध्यक्ष यमवहादुर गुरुङ व्यवस्थापक तथा टिम अफिसियलमा नेपाल भलिबल संघका सदस्यद्धय राजकुमार गुरुङ र टेककुमार राजभण्डारी छन्।

टिमका कप्तान इमले सेटरको भूमिका निर्वाह गर्ने छन्। इमको साथमा दिनेशराज गिरी दोश्रो रोजाईको सेटरको भूमिका टिममा रहेका छन्। दिपकराज जोसी, हरि अधिकारी र सुरेन्द्रवहादुर बमले क्विक स्पाईकको भूमिकामा खेल्नेछन् भने धनवहादुर भट्ट, मानवहादुर श्रेष्ठ र कुलवहादुर थापाले ओपन स्पाईकरको जिम्मेवारी समाल्नेछन्।

अलराउण्डको भूमिकामा नरेन्द्र गिरी र राजु सेरचनले रहनेछन्। टिममा ससक्त पक्षक रहेको डिफेन्सका लागि लिब्रोको भूमिकामा इश्वर थापा र विनोद वहादुर चन्द छन्।

नियमित खेलाडीहरु भैरव बहादुर बम र महेन्द्र श्रेष्ठ घाइते भएपछि क्वीक स्पाइकरको रुपमा दीपक जोशी र सुरेन्द्र बमसँगै ५ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका हुन्।

नेपाली टोलीका मुख्य स्पाइकर मानबहादुर श्रेष्ठले यसपटक धेरै राम्रो तयारी भएकाले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिइएको बताए। ‘लामो समयसम्म क्याम्पमा रहेर तयारी गर्न पायौं, तर केहि मुख्य खेलाडी चोटग्रस्त हुनुले समस्या पारेको छ। र पनि नयाँ साथीहरुको प्रतिभावान हुनुहुन्छ, पक्कै पनि राम्रो हुनेछ।’ श्रेष्ठले भने।

पहिलो पटक राष्ट्रिय टिममा परेका नेपाल पुलिसका दीपक जोशीले वर्षौंको सपना पूरा भएको भन्दै पाएको अवसरलाई सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘सबैभन्दा ठूलो उपलब्धी त राष्ट्रिय टिममा परेको छु, क्याम्पमा पनि धेरै सुधार गरेको छु, टुर्नामेन्टमा पनि राम्रो हुन्छ होला।’

आसन्न एशियाली खेलकुद र साग गेम्सको तयारीको रुपमा पनि नेपाली टिमले यस प्रतियोगितालाई लिएको छ।

राष्ट्रिय खेल भएका नाताले राष्ट्रिय खेलकुद परिषदले भलिबललाई विशेष प्राथमिकतामा राख्ने पनि राखेपका सदस्य सचिव विष्टले बताए। उनले ३१ वर्षपछि एशियाली खेलकुदमा पहिलो पटक भलिबललाई समावेश गरिएको भन्दै महिला टिमको सहभागिताका लागि पनि प्रयास भइरहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell