PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एकताको विवाद टुङ्ग्याउन दुई अध्यक्ष आज पनि असफल



पहिलोपोस्ट

एकताको विवाद टुङ्ग्याउन दुई अध्यक्ष आज पनि असफल

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता विना निष्कर्ष सकिएको छ। 

मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषयहरुलाई टुंगो लगाउनका लागि दुई अध्यक्षलाई जिम्मा दिएको थियो। सोही अनुसार विवादित विषयलाई ‘फाइनल टच’ दिनका लागि बसेको दुई नेताको 'वान अन वान' वार्ता विना निष्कर्ष सकिएको हो। 

एमाले–माओवादीको संयुक्त कार्यदलले तयार पारेको प्रतिवेदनमा ‘जनयुद्ध’ चुनाव चिन्ह र एकताको मोडालिटीको विषयमा सहमति जुट्न सकेको छैन। सोही विषयलाई टुंगो लगाउनका लागि दुई नेताबीच गोप्य छलफल भएको थियो। आजको छलफलले कुनै निर्णय गर्न नसकेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 

‘एमाले–माओवादीको संयुक्त कार्यदलले पार्टी एकताबारे तयार पारेको प्रतिवेदनमा रहेका विवादित विषयबारे आज दुई अध्यक्षबीच छलफल भएको हो,’ उनले भने, ‘आजको भेटवार्ताबाट कुनै निर्णय भएको छैन। पार्टी एकतालाई निष्कर्षमा पुर्याउन भेटर्वातालाई निरन्तरता दिने गरी आजको बैठक सकिएको छ।’

उनका अनुसार दुई अध्यक्षबीच भोलि पनि वार्ता बस्ने सहमति भएको छ। प्रधानमन्त्री केपी शार्मा ओलीका सूचना सम्प्रेषक रामशरण बजगाईँले भेटवार्ता सकारात्मक रुपमा अघि बढेको जानकारी दिए।

माओवादी केन्द्रले पार्टी एकतापछि पार्टीको विधानको प्रस्तावनामा जनयुद्ध राख्नुपर्ने, चुनाव चिन्हमा ‘हसिया हतौडा’ राख्ने तथा एकता हुँदा केन्द्रदेखि तल्लो तहसम्म बराबर प्रतिनिधित्व हुनुपर्ने माग राख्दै आएको छ। एमालेले यसलाई अस्वीकार गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell