PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अमेरिकी सीआइए निर्देशक प्योङ्याङमा, सन् २००२ पछिको उच्चस्तरीय वार्ता



अमेरिकी सीआइए निर्देशक प्योङ्याङमा, सन् २००२ पछिको उच्चस्तरीय वार्ता

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र तथा सीआईएका निर्देशक माइक पोम्प्यो इस्टरको विदामा सुटुक्क प्योङ्याङ पुगेका छन्। 

राष्ट्रपति ट्रम्पका विशेष दूतको रुपमा पोम्प्यो प्योङ्याङ पुगेर उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट गरेको समाचार वासिङटन पोस्टले गोप्य भनिएको वार्ताबारे जानकार दुई व्यक्तिलाई उदृत गर्दै प्रकाशित गरेको छ।

यो भ्रमणलाई ट्रम्प र किमबीच हुने भनिएको वार्ताको तयारीका रुपमा लिइएको छ। 

यो भेट सन् २००२ पछि अमेरिका र उत्तर कोरियाबीच भएको  पहिलो उच्चस्तरीय हो। सन् २००२ मा विदेश मन्त्री माडेलेनी अल्ब्राइटले तत्कालीन उत्तर कोरियाली नेता किम जोङ इलसँग भेट गरेका थिए। इल वर्तमान नेता किमका पिता हुन्। 

सन् २०१४ मा अमेरिकी नेशनल इन्टिलिजेन्सका तत्कालीन निर्देशक जेम्स आर क्लापर जुनियरले प्योङ्याङ भ्रमण गरेका थिए। उनले त्यतिवेला त्यहाँका तल्लो तहका जासुसी अधिकारीहरुसँग भेट गरेका थिए। 

सीआईएले यस विषयमा खुलाउन अस्वीकार गरेको छ। ह्वाइट हाउसले समेत भ्रमणबारे प्रतिक्रिया दिएको छैन। उसले सीआईए निर्देशकको भ्रमणबारे कुनै कुरा नगर्ने जनाएको छ। त्यस्तै न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघका लागि उत्तर कोरियाली कुटनीतिक प्रमुखले समेत भ्रमणको बारेमा बोल्न अस्वीकार गरेका छन्। 

भ्रमणको एक साता पछि अमेरिकी अधिकारीहरुले किम वार्ताका लागि सकरात्मक रहेको र आणविक निशस्त्रीकरणका लागि समेत सकरात्मक रहेको टिप्पणी गरेका छन्। 

‘हामीले उत्तर कोरियासँग उच्चस्तरमा प्रत्यक्ष वार्तालाप गरेका छौँ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार जापानी प्रधानमन्त्री सिन्जो आबेसँगको द्वीपक्षी वार्तामा भनेका छन्। 

अमेरिका र उत्तर कोरियाबीच कुटनीतिक सम्बन्ध रहेको छैन। तर अमेरिका कुटनीतिज्ञहरुको भ्रमण गराउँदै विभिन्न च्यानल मार्फत प्योङयाङसँग सम्पर्क बढाइरहेको छ। 

ट्रम्पले उत्तर कोरिया र दक्षिण कोरियाबीच हुन लागेको शिखर सम्मेलनको सफलताको शुभकामनासमेत दिएको बताएका छन्। 

पछिल्लो समय उत्तर कोरिया र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्धमा सुधार हुँदै गएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना उत्तर कोरियासँग वार्ताका लागि तयार रहेको घोषण गरेका थिए। 

उत्तरले दक्षिणमा आयोजना भएको विन्टर ओलम्पिकमा आफ्ना खेलाडी पठाएर सम्बन्ध सुधारको थालनी गरेको थियो। सोही ओलम्पिकमा सहभागी हुन सोलकी अतिथि बनेर किमकी बहिनी दक्षिण कोरिया पुगेकी थिइन्। 

त्यस्तै दक्षिण कोरियाका राष्ट्रपतिका सुरक्षा सल्लाहकारले प्योङ्याङ भ्रमण गरी प्योङ्याङको सन्देश लिएर वासिङटन पुगेका थिए। ट्रम्पले दक्षिण कोरियाली सुरक्षा सल्लाहकारको व्रिफिङ पछि उत्तर कोरियासँग वार्ताका लागि तयार रहेको घोषणा गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell