PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बालबालिकाले देखाए एकै मञ्चमा ३ नाटक



पहिलोपोस्ट

बालबालिकाले देखाए एकै मञ्चमा ३ नाटक

काठमाडौं: बाल कलाकारहरुले एकैदिनमा तीनवटा नाटक मञ्चन गरेका छन्। थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलले गरेको नाट्य कार्यशालाको समापनमा उक्त नाटकहरु देखाएका हुन्। मञ्चनसँगै ‘लिटल थिएटर ग्यारेज’को चौथो संस्करण सकिएको छ।

नाटकमार्फत बालबालिकाले आफ्ना आमाबुबाको स्नेह र कमजोरी दुवैलाई प्रस्तुत गरे।

५ देखि १५ वर्षसम्मका २९ जना बालबालिका सहभागी भएको कार्यशालाको समापनमा नेपाली बालसाहित्यकार शान्तदास मानन्धरको नाटक ‘म जोकर बन्छु’ र लोककथामा आधारित नाटक ‘टोपी’ र ‘मुसाको कथा’ मञ्चन भएका हुन्।

‘म जोकर बन्छु’ र ‘टोपी’को निर्देशन टिसीसी नेपालका कला निर्देशक केदार श्रेष्ठले निर्देशन गरेका थिए भने ‘मुसाका कथा’लाई थिएटर मलका प्रवन्ध निर्देशक समेत रहेकी इलिना नकर्मीले निर्देशन गरेकी थिइन्, साथै कार्यशालाका संयोजक सञ्जिता पराजुलीले नृत्य निर्देशन गरेकी थिइन्।

हरेक वर्ष अप्रिल २ बाट हुने कार्यशाला बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘आसितेज इन्टरनेशनल’को नेपाल सेन्टर आसितेज नेपालको सहकार्यमा विगत चार वर्षदेखि हुँदै आएको छ। 

तीन नाटक बारे

नाटक ‘म जोकर बन्छु’मा अभिभावकको स्नेहभन्दा पनि दवाव बेहोर्नुपरेको बालकले आफ्नो बुबाले सकर्समा जोकरको चर्तिकला हेरेर खुशी भएपछिको प्रभाव प्रस्तुत गरिएको थियो । आफ्नो अतिरिक्त क्रियाकलापबाट खुशी नभएका बाबुलाई खुशी बनाउन आफू पनि जोकर बन्न उत्साहित भएका बालकको अभिव्यक्ति नाटकमा थियो ।

त्यस्तै लोककथामा आधारित नाटक ‘टोपी’मा आमाले मायाको ऊन र ममताको कुरुस चलाएर बुनेको टोपीको अन्य कुनैपनि मुल्यवान र मंहगा टोपी वा सामाग्रीसँग तुलना नहुने कथासार थियो । आमाले बुन्दिएको टोपी राजाको श्रीपेचसँग पनि साट्न नमानी दरबारबाट निस्कन बालकले गरेको संघर्षको कथाले अभिभावकप्रति सन्तानको स्नेह र सम्मानलाई मञ्चमा देखाइएको थियो ।

अर्को नाटक ‘मुसाको कथा’मा मुसाहरुको परिवारमा सानादेखि ठूलासम्मले सबैले आ–आफ्नो कामको जिम्मेवारी लिँदै मिलिजुली खुशीसाथ जीवनयापन गरेका दृश्यहरु मञ्चमा प्रस्तुत भएका थिए ।

लैनचौरस्थित नेपाल जापान बाल पुस्तकालयमा भएको कार्यशालामा काठमाडौं उपत्यकाका विभिन्न स्कुलमा अध्ययन गरिरहेका बालबालिकाहरु सहभागी भएका थिए।

कार्यशालाको पहिलो संस्करणदेखि सहभागी अर्विन खड्काले फिल्म 'जात्रा' र नाटक 'लाटीको छोरोमा' अभिनय गरिसेकका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell