PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विश्व भ्रमण गरिरहेकी 'भाग्यमानी गुडिया'को नेपाल यात्रा 



विश्व भ्रमण गरिरहेकी 'भाग्यमानी गुडिया'को नेपाल यात्रा 
'लिटल होस्टन' नामक गुडिया पासपोर्टको साथमा

  • राजु आचार्य -
भिसा लिन नपर्ने र टिकट पनि नचाहिने। कसैको झोलामा बस्यो, कसैको खल्तीमा बस्यो। अनि यात्रा शुरु भयो। बिना रोकतोक यसरी नै यिनको विश्व यात्रा भैरहेको छ।  यात्राको उद्देश्य भने बेग्लै छ। यिनी आफू भने बोल्दिनन्। नबोलिकनै पनि यिनले लाटोकोसेरोप्रति विभिन्न देशका मानिसहरुमा चासो बढाइरहेकी छिन्। यो गुडिया तीन महिना अघि पासपोर्ट बोकेर पोर्चुगलबाट नेपाल आइपुगिन्।  यिनको पासपोर्ट अमेरिकी सरकारले नभई संरक्षणकर्मी कार्ला ब्लोयमले हातैले तयार पारेकी हुन्। जुन देशमा यो गुडिया पुग्छिन्, तस्विर सहित यिनको पासपोर्टमा सो देशको नाम आउने गरी प्रमाणित गरिन्छ। त्यसपछि अर्को देशमा पठाइने गरिन्छ। यो गुडियाको नामाकरण गरिएको छ 'लिटल होस्टन'।   

लाटोकोसेरो संरक्षणको सन्देश विश्वभर सांकेतिक रुपमा फैलाउने उद्देश्यले अमेरिकाको होस्टनबाट यिनको यात्रा शुरु भएको हो। स्वयंसेवक संरक्षणकर्मीहरुले  एक देशबाट अर्को देशसम्म लिएर जाने वा पठाउने गर्दछन्। त्यो देशमा पुगेपछि लाटोकोसेरोको विषयमा काम गर्नेहरुले विभिन्न स्थानमा लिएर जाने गर्छन् र सोही अनुसार सहभागी गराउँछन्।  

नेपाल आइसकेपछि भने यिनको यात्रा पर्वत जिल्लाको चित्रे गाउँ र दोलखा जिल्लाको जिरीसम्म भैसकेको छ। जिरीमा सम्पन्न 'लाटोकोसेरो तथा हुचील उत्सव'मा यो गुडिया अन्तिम पटक प्रदर्शनीमा राखिएको थियो। दक्षिण अफ्रिकी लाटोकोसेरो संरक्षणकर्मी 'जोनाथन ह'सँग पठाउने भनिएपनि अन्तिम समयमा उनको नेपाल भ्रमण रद्द भएपछि गुडिया अहिले नेपालमै छिन्। केही महिना नेपाल मै रहनेछिन्। 

वैशाखको पहिलो साता देशव्यापी वन्यजन्तु सप्ताह मनाउने क्रममा वैशाख ६ गते यो गुडियाको प्रदर्शनी काठमाडौँको बबरमहलमा गर्ने तयारी छ। 

यो अवधारणा जन्माउने कार्ला ब्लोयमले भनिन्, 'आउने केही वर्षभित्र यिनको विश्व यात्रा सम्पन्न हुनेछ।'  गुडियाले हालसम्म केन्या, पोर्चुगल, अमेरिका, नेदरल्यान्ड र नेपालको यात्रा तय गरिसकेकी छिन्।    
 

प्राध्यापक करणबहादुर साह र विद्यार्थीहरु गुडियासँग फोटो खिच्दै पर्वतको चित्रे गाउँमा

पर्वतको चित्रेमा गुडियासँग फोटो खिचेका प्राध्यापक करणबहादुर साह लगायतका विद्यार्थीहरुले भने, 'संरक्षणको सन्देश फैलाउने कस्तो नवीन काम'। तर यो प्रयास विश्वमा पहिलो पटक भने होइन। यसअघि सारस प्रजातिको चरा संरक्षणको लागि पनि यस्तै विश्वव्यापी प्रयास गरिएको थियो।  

नेपालमा गुडिया ल्याउन पहल गर्ने संस्था 'प्रकृतिका साथीहरु'का वन्यजन्तु अनुसन्धान तथा संरक्षण निर्देशक यादव घिमिरेका अनुसार यो गुडियालाई छिट्टै संरक्षणकर्मीको साथमा अर्को देशमा पठाउने तयारी भइरहेको छ। 
 

जिरीमा सम्पन्न 'लाटोकोसेरो तथा हुचिल' उत्सवमा प्रदर्शनमा राखिएको गुडिया (कालो-सेतो घेरा भित्र)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell