PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

स्वास्थ्यमा अनियमितताको चाङ



सागर बुढाथोकी

स्वास्थ्यमा अनियमितताको चाङ

काठमाडौं : स्वास्थ्य क्षेत्रमा करौडौं गायव पार्नेदेखि कर नतिर्नेसम्मको अनियमितता देखिएको छ। हालै सार्वजानिक महालेखापरीक्षकको प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा गुणस्तरहीन सामान खरिद, कानुन विपरित खरिद र कार्यक्रम विपरित खर्च भएको देखाएको छ। प्रतिवेदनको अनुसार उपकरण खरिद, औषधि खरिद लगायत अन्य विषयमा अनियमितताका चाङ छ।

म्याद नाघेका औषधि 
यो वर्ष १९ कार्यालयमा १३८ प्रकारका औषधि काम नलाग्ने भयो। ५ लाख २१ हजार ट्याबलेट र भायरल औषधिको म्याद समाप्त भयो। राष्ट्रिय क्षयरोग केन्द्र, भक्तपुरमा ३२ लाखभन्दा बढी मूल्य बराबरका औषधि त्यसै फ्याक्‍नु पर्यो। त्यस्तै १ लाख ६४ हजार ७०० ट्याबलेट पनि फोहोरको कन्टेनरमै मिल्काइयो।  विभिन्न ठाउँमा गरी २८ हजार १ सय ट्याबलेट स्टोरबाट बाहिर ननिक्ली म्याद नाघ्यो। त्यस्तै ताप्लेजुङ अस्पतालमा ५१ थरी औषधिको अवस्था त्यस्तै भयो।

३३ करोडको औषधि सोझै खरिद
३३ करोड १६ लाख ८८ हजारको औषधि लगायतका सामानहरु सोझै खरिद गरेको पाइएको छ। विना टेण्डर नियम विपरित औषधि खरिद गरेर अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ।

गुणस्तरहीन सामान खरिद 
सगरमाथा अञ्चल अस्पतालले एड्भान्स डप्लर मेसिन एक ४७ लाख ६ हजारमा खरिद गरेको थियो। सो मेसिनको सिस्टमले काम गरेन। मेसिन फेलियर भएको प्रतिवेदन प्राविधिकहरुले पेश गरे। तर, मेसिन फिर्ता नगरी पैसा भुक्तानी भयो।

कानुन विपरित खरिद
स्वास्थ्य सेवा विभागले १९ करोड २६ लाख लागत अनुमान भएका मेसिनरी उपकरण क्याटलग विधिबाट खरिद गर्यो। त्यसमा १५ करोड ६६ लाख ८० हजार खर्च भयो। वार्षिक खरिद योजनामा यसप्रकारको खरिद कार्य उक्त प्रक्रियाबाट नगर्ने उल्लेख छ। यो खरिदमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रम विपरित खर्च 
आपूर्ति व्यवस्था महाशाखाले बाल स्वास्थ्य महाशाखाको बजेट तथा कार्यक्रमबाट २ करोड ४ हजार खर्च गरेको छ। परिवार स्वास्थ्य महाशाखाले ३८ लाख ८९ हजार कार्यक्रमबिना नै सकाएको छ। त्यस्तै व्यवस्थापन महाशाखाले १५ लाख ७५ हजार र जिल्ला स्वास्थ्य कार्यालयहरुले ३० लाख खर्च गरेको छ।

आपूर्ति व्यवस्था महाशाखाको कार्यक्रममा मेसिन खरिद गर्ने कार्यक्रम हुदाँहुदै १ करोड १४ लाख बालस्वास्थ्य महाशाखाबाट भुक्तानी गरेको छ। 
बालस्वास्थ्य महाशाखाले खरिद गरेको २ करोड २९ लाख ९८ हजारको औषधिको भुक्तानी पुनर्जागरण महाशाखाबाट भएको छ। 

५ अर्ब ८२ करोड बेरुजु
सबैभन्दा बढी बेरुजु गर्ने मन्त्रालयको ८ औं नम्बरमा परेको छ स्वास्थ्य मन्त्रालय। स्वास्थ्य मन्त्रालय अन्तर्गतका संगठित संस्था, अन्य संस्था र समिति गरी ५ अर्ब ८२ करोड भन्दा बढी बेरुजु छ।

अनुदानको रकममा पनि अनियमितता
यो वर्ष २७ अस्पताललाई २४ करोड ९९ लाख ७९ हजार अनुदान उपलब्ध गराएको देखिन्छ।  प्रतिवेदन भन्छ - सम्झौता अनुरुप रकम उपयोग भएको देखिन्न।

नेपाल मेडिकल काउन्सिललाई दिएको १ करोड पनि अनियमितता भएको देखिएको छ। एन्टी स्‍नेक भेनम तयार गर्ने सम्बन्धमा ८५ लाख दिएको रकमको कुनै प्रगति विवरण पेश भएको छैन। नेपाल क्यान्सर अस्पताल बाँकेलाई ५० लाख दिएको अनुदानको पनि प्रगति तथा बित्तीय प्रतिवेदन पेश भएको छैन।

सरकारी अस्पतालमा कर लुकाउनेदेखि करोडौ गायब पार्नेसम्म
वीर अस्पतालले मूल्य अविवृद्धि कर २७ लाख ४५ हजार बुझाएन। वीर अस्पतालले पुरानो संरचना भत्काउँदा प्राप्त लिलामी रकमको कर नतिरेको प्रतिवेदनमा उल्लेख छ।

औषधि खरिदमा पनि वीर अस्पतालमा अनियमितता भएको छ। २८ लाख ४६ हजार बढी मूल्य तिरी ५० आइटम औषधि खरिद भएको हो। 
त्यस्तै कर्मचारीको तलब वितरण पनि नियमसम्मत भएको देखिन्न। १९ करोड ३० लाख ५ हजार सम्बन्धित निकायबाट स्वीकृति नलिइ वीर अस्पतालले तलब भुक्तानी गरेको हो।

वीर अस्पतालले १७ करोड ८९ लाख ६७ हजारको चेक नियमविपरित भुक्तानी गरेको छ। अस्पतालले बित्तीय अनुशासन उल्लघंन गर्दै चेक भुक्तानी गरेको हो।

त्यस्तै राष्ट्रिय ट्रामा सेन्टरले स्वास्थ्य उपकरण खरिद गर्दा १४ करोड ३४ लाख नियमसम्मत भुक्तानी गरेको छैन। २०७ कर्मचारीलाई ५० लाख ३२ हजार तलब नियम विपरीत भुक्तानी गरेर अनियमितता गरेको छ। त्यस्तै १५ लाख ६९ हजार करारका कर्मचारीलाई सम्झौता विपरित भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक फर्मास्युटिकल्स कम्पनीलाई लगाएको ४० करोड ४० लाख लगानी उठाउन सकेको छैन। त्यस्तै ९३ लाख ३८ हजार  भुक्तानी गरेको रकम खर्चमा नदेखाइकन अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ।

३५ लाख ४१ हजार भन्दा बढी रकम प्रतिष्ठानले सम्झौता विपरित भुक्तानी गरेको छ। ४६ लाख ४ हजार कर नै तिरेको छैन।

कान्ति बाल अस्पतालमा आम्दानीभन्दा  बढी ९५ लाख १७ हजार खर्च भएको छ। अस्पतालले सम्झौता विपरित तलबमा मात्रै ७१ लाख ७२ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ। ८८ लाख ८५ हजार रुपैयाँ नियम विपरीत फार्मशीको कर्मचारीहरुको तलबमा खर्च भएको छ।
 
भरतपुर अस्पतालमा पनि अनियमितता भएको छ। ९७ लाख ९३ हजार फिर्ता आउनुपर्ने रकम कोषमा फिर्ता नै आएको छैन।
कोसी अञ्चल अस्पतालमा ६४ लाख ७९ हजार को दोब्बर रकम भुक्तान गर्दा पनि आवश्यक सामान आयात भएको छैन।

राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरमा ८१ करोड ४२ लाख २२ हजार मध्ये १६ करोड २२ लाख बजेट खर्च नभइकन निष्क्रिय भयो।
क्षयरोग कार्यक्रममा ८ लाख ९२ हजार ६८६ अमेरिकी डलर खर्च गरेको उल्लेख छ। तर त्यो रकमको विवरण क्षयरोग केन्द्रसँग छैन।  त्यस्तै ७ करोडमध्ये ४ करोड (अमेरिकी डलर) खर्च भए पनि बाँकी रकम खर्च नभएको उल्लेख छ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले ४१ करोड ४६ लाख ७४ हजार रकम गायब गरेको देखिन्छ। कुल खर्च देखाए पनि सो रकमलाई कुनै शीर्षकमा खर्च गरेको देखाएको छैन। केन्द्रको १ करोड ६० लाख ८० हजार खर्च लेखेपनि कागजात प्रस्तुत नगरेको प्रतिवेदनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell