PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चीनले बनाएको ड्यामको बिजुली भारतले नकिन्ने चेतावनी : यस्तो छ भारतीय मिडियामा प्रम ओलीको भ्रमण कभरेज



चीनले बनाएको ड्यामको बिजुली भारतले नकिन्ने चेतावनी : यस्तो छ भारतीय मिडियामा प्रम ओलीको भ्रमण कभरेज

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने औपचारिक भ्रमण सुरु हुने दिन शुक्रबार केही प्रमुख भारतीय अखबारहरुले पहिलो पेजमै महत्त्व दिएर समाचार छापेका छन्। 

सलमान खानलाई ५ वर्षका लागि जेल सजाय सुनाइएको खबर आज सबै भारतीय पत्रिकामा प्रमुख समाचारका रुपमा रहेको छ। त्यसका बावजुद प्रधानमन्त्री ओलीको भारत भ्रमणको समाचारलाई द इन्डियन एक्सप्रेस, द हिन्दु, एसिएन एज र टाइम्स अफ इन्डियाले पहिलो पेजमा स्थान दिएका छन्। 

'चीनले बनाएको ड्यामको बिजुली भारतले किन्दैन'


सबैभन्दा आक्रामक समाचार इन्डियन एक्सप्रेसको छ। 'यदि चीनले तपाईँहरुको ड्याम बनाउँछ भने भारतले किन्दैन : ओलीलाई प्रधानमन्त्री (मोदी) ले भन्ने' शीर्षकमा नयाँ दिल्ली डेटलाइनबाट ज्योति मल्होत्राले लेखेको समाचारको लिडलाइनमा भने मोदीले नेपाली समकक्षी ओलीलाई जतिवटा ड्याम प्रोजेक्ट चीनलाई चाहे पनि दिन सक्ने तर त्यसबाट उत्पादन हुने ऊर्जा भारतले किन्न नसक्ने बताउने 'अपेक्षा गरिएको' उल्लेख छ। 

काठमाडौँलाई नयाँ दिल्लीको कडा सन्देश कुटनीतिक भाषामा नरम रुपमा राखिने भए पनि विशेष गरी ऊर्जा र सुरक्षाको विषयमा भारतको रेडलाइनलाई स्पष्ट गरिने वरिष्ठ भारतीय अधिकारीलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ। 

समाचारमा बूढीगण्डकी जलविद्युत आयोजनाको नाम उल्लेख छ। यो दिल्ली र बेइजिङको तानातानमा परेको सन्दर्भलाई जोड्दै गत वर्ष जूनमा चीनको गेजुआ ग्रुपलाई यो आयोजना दिइएकोमा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि रद्द गरिएको स्मरण गरिएको छ। 

तर गएको महिना साउथ चाइना मर्निङ पोस्टसितको अन्तवार्तामा प्रम ओलीले बूढीगण्डकीलाई ब्युँताउने बताएको पनि समाचारमा उल्लेख छ। 
समाचारमा मोदी र ओलीले भारतीय कम्पनीले बनाउने अरुण तेस्रो जलविद्युत आयोजनाको भर्चुअल शिलान्यास गर्न लागेको र त्यसमा भारतको रणनीति लुकेको उल्लेख छ। ९०० मेगावाटको अरुण तेस्रोबाट उत्पादित बिजुलीको ठूलो परिमाण भारतले किन्ने भएको छ। 

भारतीय सार्वजनिक वा निजी क्षेत्रको कम्पनीहरु सहभागी भएर बनाउने ड्यामको मात्र भारतले बिजुली किन्ने उल्लेख गर्दै समाचारमा भारतीय अधिकारीको उद्धरण राखिएको छ- 'चिनियाँले बनाएको प्रोजेक्टको बिजुली भारतले किन्ने अपेक्षा तपाईँ गर्न सक्नुहुन्न। नेपाललाई चिनियाँको सहयोग लिन दिनुस् र चीनलाई नै त्यसबाट उत्पादित बिजुली किन्न दिनुस्।' 

चीनले ऋण पासोमा पार्ने त्रास छैन : प्रधानमन्त्री ओली


द हिन्दु र टाइम्स अफ इन्डियाले प्रधानमन्त्री ओलीको अन्तर्वार्ता छापेका छन्। द हिन्दुमा नेपाल ऋण पासोबाट डराएको छैन : ओली शीर्षकमा पहिलो पेजमा छापिएको एक कोलमको समाचारलाई भित्र छापिएको विस्तृत अन्तर्वार्तासँग जोडिएको छ। शीर्षकको सन्दर्भ चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा सहभागी हुँदा ऋण पासोमा पर्न सक्ने भनी भारतले देखाएको चासोको सन्दर्भमा छ।

'म पासो (ट्रयाप) भन्ने शब्दप्रति आपत्ति जनाउँछु। यो भारतीय दृष्टिकोणको शब्द हो र यसले दुई देश (भारत र चीन) को प्रतिद्वन्द्विता प्रतिबिम्बित गर्छ', प्रधानमन्त्रीले भनेका छन्। 

अन्तर्वार्तामा प्रधानमन्त्रीले मधेसकेन्द्रित दुई दल संघीय समाजवादी फोरम र राजपा नेपाल दुवै सरकारमा सहभागी हुनेमा आफू निश्चित भएको बताएका छन्। उनले संविधानको स्वीकार्यतामा कुनै बहस र कुनै प्रश्न नभएको बताउँदै अहिले न आफूहरुले र न मधेसी पार्टीहरुले संविधान संशोधनको कुरा उठाएको बाएका छन्। 

भारतले पनि यो विषयलाई इस्यु बनाउन छाडेको हो जब भारतीय विदेशमन्त्री सुष्मा स्वराजले काठमाडौँ भ्रमण गरेका थिए भनेर सोधिएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले भनेका छन्- पुननिर्वाचित भएदेखि मसित यो बारेमा कसैले कुरा गरेका छैनन्। 

टाइम्स अफ इन्डियाले नेपालले ओबोरमा सहभागी हुने निर्णय आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर गरेको प्रधानमन्त्रीको भनाईलाई पहिलो पेजमा राख्दै १४ पेजमा विस्तृत अन्तर्वार्ता छापेको छ। 

अब कांग्रेस राष्ट्रवादी बन्ने?

द हिन्दुस्तान टाइम्सले प्रम ओलीको भ्रमणलाई पहिलो पेजमा स्थान दिएको छैन। तर ११ औँ पेजमा तीन वटा समाचार सामाग्री भ्रमणसम्बन्धी छ। नेसनल पोलिटिकल एडिटर प्रशान्त झाको विश्लेषण तीन कोलममा प्रकाशित छ। 

झाको लेखमा तीन वटा जोखिमको कुरा उठाइएको छ। पहिलो, नेपाली कांग्रेसले उग्र राष्ट्रवादी धार समाती भारतको विरोध गर्न सक्ने। यो बूँदाको व्याख्याको लागि उनले विगत तीन महिनामा पाँच जना नेपाली कांग्रेसका नेताले दिल्ली भ्रमण गरेको र सबैले ओली र माओवादीले राज्यका अंगहरुमा कब्जा गरी प्रजातान्त्रिक स्पेसलाई खुम्च्याएको बताउँदै दुई जनाले नेताले त्यस्तो चेतावनी दिएको उल्लेख गरेका छन्। भारतले भने यसलाई कमजोर नेतृत्व, कमजोर शासन र गुटबन्दीका कारण चुनावमा कमजोर प्रदर्शन गरेको र अहिले ओभर रियाक्ट गरिरहेको भन्दै भारतसित काठमाडौँसित मिलेर जानुको विकल्प नभएको लेखमा उल्लेख छ। 

दोस्रो जोखिममा मधेसी राजनीतिक व्यक्तित्वहरु र नागरिक समाज ओली र दिल्लीको प्याचअपका कारण आफूहरुको अधिकार जोखिममा पर्ने भनी डराएको उल्लेख छ। संविधान संशोधनको एजेन्डालाई भारतले छोड्नुलाई उनीहरुले दिल्लीको धोकाको रुपमा लिएको त्यसमा उल्लेख छ।
तेस्रो जोखिमको टिप्पणी भारतीय सरकारी अधिकारीबाटै आएको उल्लेख छ। ओली खासमा उत्तरसँगै लोयल भएको र ओली र माओवादीलाई चीनले नै सँगै ल्याएको र ओलीले ढिलाचाँडो रणनीतिक रेड लाइन पार गर्ने चेतावनी भारतीय जासुसी अधिकारीहरुले दिएको उल्लेख छ। भारतलाई विकल्प आवश्यक भएको भन्दै अहिलेको एप्रोचले ओली शक्तिशाली हुने र पछि डिसलज गर्न गाह्रो हुने उल्लेख छ। 

दोस्रो समाचार सीमा क्षेत्रमा रहेको इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन बारे दुई प्रमबीच कुरा हुनेबारे छ भने तेस्रो समाचार डिमनिटाइज्ड नोटको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुरा उठाउने बारे छ। 

एसियन एजले पहिलो पेजमा प्रधानमन्त्री ओलीले आज मोदीलाई भेट्ने छोटो समाचार छापेको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell