PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'एक कप चिया दान' जसबाट ११ हजार मानिसले आँखाको ज्योति पाए 



सागर बुढाथोकी

'एक कप चिया दान' जसबाट ११ हजार मानिसले आँखाको ज्योति पाए 

काठमाडौंः तपाईँ दिनमा कति कप चिया खानु हुन्छ? एक महिनामा? एक वर्षमा? हिसाब गर्नुस् त? वर्षमा तपार्इँले चियामा कति खर्च गर्नुहुन्छ?
 
हिसाब गर्नुभयो? कति धेरै खर्च चियामा!

तपार्इँले वार्षिक रूपमा खाने चियाको आधा मात्र रकमले एउटा मानिसले संसार देख्न सक्छ। अर्थात् अन्धकारमा बाँचिरहेको मानिसहरूले आँखाको ज्योति पाउँछन्।

यही सोचबाट प्रभावित भएर स्थापना भएको एउटा संस्थाको सहयोगमा अन्धकारमा जीवन बिताइरहेका धेरै मानिसहरू उज्यालो बाटो हिँड्न सफल भएका छन्।

केही मानिसहरूले चियाको रकम दान गरेकै भरमा ११ हजार भन्दा बढीको आँखाको शल्यक्रिया भएको छ।  ५१ हजार भन्दा बढीले आँखाको उपचार पाएका छन्। १२ सय भन्दा बढी ग्रामीण भेगका मानिस लाभान्वित भएका छन्।

आठ वर्षअघि सुरु भएको 'एक कप चिया दान अभियान' बाट आँखाको ज्योति पाउनेको संख्या वर्षेनी बढ्दै छ। २२ वर्षअघि स्थापना भएको युथ आइ सर्भिस नामक संस्थाको अभियान हो, एक कप चिया दान अभियान। 

बितेका २२ वर्षमा यो संस्थाले धेरै मानिसहरुलाई आँखाको ज्योति दिएको छ। तर सुरुवात ८० जना बिरामीबाट गरेको थियो। 

नेत्र रोग विशेषज्ञ सिद्धार्थ रन्जितले तीन जना सदस्य राखेर यो संस्था स्थापना गरेका थिए। अहिले यो संस्थामा ३६५ जना भन्दा बढी सदस्यहरू आबद्ध भएका छन्।

अध्यक्ष रन्जितका अनुसार युथ आइ सर्भिस संस्थाले ८ वर्षअघि सुरु गरेको थियो 'एक कप चिया दान अभियान'। ५ रुपैयाँबाट सुरु भएको अभियानमा अहिले त्यसका सदस्यहरूले दैनिक २० रुपैयाँ बचत गर्छन्। त्यसबाट उठेको पैसा ग्रामीण भेगमा रहेका मानिसहरूको आँखा उपचारमा खर्च हुन्छ। अहिले यो अभियानमा ३६५ जना सदस्यहरू छन्। ५० जनाभन्दा बढी आजीवन सदस्य छन्। आजीवन सदस्यले एकै पटक २५ हजार रुपैयाँ बचत गर्नुपर्छ।

हरेक वर्ष मार्च ३१ मा युथ आइ सर्भिसले एक कप चिया दान अभियानको वार्षिक उत्सव मनाउने गर्छ। उक्त संस्थाले आठौँ वार्षिक उत्सव मनाउँदै आफ्नो कार्य विवरण प्रस्तुत गरेको थियो। 

आर्थिक वर्ष २०७३/७४ मा ३३ वटा ठाउँका तिन हजार ५४ जना आँखाका बिरामीहरू लाभान्वित भएको संस्थाले जनाएको छ।

कार्यक्रमका प्रमुख अथिति सांसद गोपालमान श्रेष्ठले अभियानको भविष्य उज्ज्वल रहेको बताए। उनले भने, 'अन्धकारबाट उज्यालो तर्फको अभियान अत्यन्तै प्रसंसायोग्य छ। मानव हितमा काम गर्नुस् सधैँ सफल हुनुहुनेछ।' 

सांसद श्रेष्ठले आजैबाट एक कप चिया दानको आजीवन सदस्य भएको घोषणा गरे।

कार्यक्रममा एक कप चिया दानको आजीवन सदस्यहरूलाई सम्मान गरिएको थियो। त्यस्तै भर्खरै आँखा अपरेशन गरेका २ जना व्याक्तिलाई औषधि वितरण गरिएको थियो।

सम्बन्धित लिङ्क
युथ आई सर्भिस











@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell