PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


कान्तिपुर गाथा: कृष्ण भजन, बिदा कटौति र सवारी


किशोर नेपाल

कान्तिपुर गाथा: कृष्ण भजन, बिदा कटौति र सवारी

-कान्तिपुर गाथा-

बिहीवार कुन उत्सव वा महोत्सवका लागि बिदा परेको थियो कनिकालाई थाह थिएन। बिदाको दिनमा गर्ने काम पनि थिएन। त्यसैले अफिसमा काम गर्ने साथीहरूको चार्ट बनाउँदा कनिकाले भनेकी थिई, “म बिरामी नभएसम्म मलाई बिदा चाहिँदैन। बिरामी भएको अवस्थामा भने कुरा अर्कै हो।” 

कनिकाको यो वक्तव्यले साथीहरू खुसी भएनन्। यो एक प्रकारको “मोरल” कुरा थियो, कनिकाका साथीभाइका लागि। कनिकाको पो ब्वायफ्रेण्ड थिएनन्। अरू सबैको त थिए नि। एउटा अर्को कुरा पनि थियो। कनिकालाई ब्वायफ्रेण्डको समस्या थिएन। उ त सिनेमामा भन्दा पनि छिटो बनाउँछे ब्वायफ्रेण्ड। उसका अफिसका साथीहरू जे कुरनान पनि नाईं र नुकुर गर्छन्। बेकारको एट्टिच्यूड देखाउँछन्। अनि, कसरी बनुन त ब्वाइफ्रेण्ड।

मिटिङ सकिएपछि सबै अफिसबाट निस्किए। एकछिनपछि एक हुल साथीहरू अफिसमा आए। किन? के भयो? सवारी छ रे। अब चार - पाँच बजेसम्मलाई सवारीले बाटो बन्द। सवारीले सडक बन्द भएको त कनिकाले खुबै सुनेकी थिई। तर,  त्यो दृश्यावलीमा आँखाले नजर दौडाउन पाएको थिएन। माथि अट्टालिकामा गएर हेरी कनिकाले। रमाइलो देखिँदो रहेछ शहर चारैतिरबाट। रंगीन र सुवासित पनि।

कनिकाले थाह पाएकी थिई, सवारी संसदतिर चल्दैछ। उसले सुदिप्ती पनि सवारी सँगसँगै संसद जाने कुरा सुनेकी थिई। उ सुदिप्तीको कोठामा पुगी। कनिकाले केही नभन्दै सुदिप्तीले भनी, “ए कनि,  तँ संसद कभर गर्न जा है। मेरो अन्तै अप्वाइन्टमेन्ट छ।”

सवारी संसदभित्र प्रवेश गरेपछि कनिकाले देखी - बाहिर संसदीय पण्डालमा उभिएका धेरै मानिसका आँखा उ तिर फोकस छन्। उसले आफूलाई रिभ्यू गरी। उसको पुरै रूप शरदचन्द्र वस्तीको कविताका पात्र गोपिनीहरुको जस्तो रहेछ। कनिकालाई त्यो कविता लगभग कण्ठस्थ थियो:

संस्कृतबाट स्वयम् वस्तीले नेपालीमा अनुवाद गरेका श्लोकहरूमा रहेका कृष्ण भक्ति मनमनै गुनगुनाउन लागि कनिका–तिमीले नै प्रतिज्ञा गरेका थियौ– कुनै दिन कि...“दुष्कर्मीहरूको विनास र धर्मको संस्थापनका निम्ति हरेक युगमा म अवतरित हुनेछु।'

आज यो भूमि दुष्कर्मीहरूद्वारा निरन्तर प्रताडित भइरहेको छ। ‘धर्म’ पनि ‘निरपेक्षता’ को हतियारले धरासायी हुन पुगेको छ।

आफ्ना असंख्य सन्तान (आउरेबाउरे)का कारण आफूलाई हजार–आँखावाला इन्द्र ठानिरहेको अन्धो धृतराष्ट्र आज पनि स्वर्ण सिंहासनमा नै विराजमान छ।

प्रत्येक राजमार्गमा रातदिन तिम्रै आँखा अगाडि द्रौपदीको चीरहरण भइरहेको छ। चोक–चोकमा सुभद्राहरूको किनबेच चलिरहेको छ।

उर्वशीको श्रापले फेरि एक पटक पौरुष भस्म हुन पुगेको अर्जुन आज अनेक मञ्चहरूमा हिजडाको नाच देखाइरहेको छ।
         
भीमसेन दुर्योधनका अङ्ग–उपाङ्ग मालिस गर्ने दासकर्ममा व्यस्त छ। युधिष्ठिर चाहिँ उसको बचाउमा झूठा तर्क पेस गर्न मालिप्त छ।
आज द्रोणाचार्य घुस (अवैध आर्जन) रूपी माछोको ध्यानमा तल्लीन रहेको बकुल्लो बनेको छ भने भीष्म चाहिँ आफ्ना झड्केला सन्तानहरूको स्वार्थ रक्षामा अन्धो बन्न पुगेको छ।

अब पनि,  आफ्नो प्रतिज्ञा पूरा गर्ने र धर्मको संरक्षण गर्ने समय आइपुग्यो भन्ने तिमीलाई लाग्दैन?' 
कि,  उहिल्यै राधाले अपहरण गरेको तिम्रो मन आजसम्म पनि फिर्ता आइपुगेको छैन?  यसले गर्दा पो पीडितहरूको यत्रो क्रन्दनतर्फ तिम्रो ध्यान आकर्षित हुन नसकेको हो कि?  

अथवा,  गोपिनीका कपडा चोर्न रमाउने तिमीले एउटै पेसाका रहेछन् भन्ठानेर राष्ट्रको प्रतिष्ठा चोर्ने (अपहरण गर्ने) हरूलाई मौन समर्थन पो दिएका हौ कि? 
                      
कि, गोपिनीहरूका सुपुष्ट, कठोर स्तनहरूमा राखिएका तिम्रा सुकोमल पाउमा कुचाग्र रूपी काँडा गडेर घाइते भएका त होइनन?

किंवा, शत्रुका डरले मथुराबाट भागेर समुद्रमा द्वारिकाको निर्माण गरी बसाइँ सर्न पुगेका ए कृष्ण ! दुष्टहरूको यो जत्था देखेर फेरि पनि पुच्छर लुकाएर भाग्न त खोजिरहेका छैनौ?

आफ्नो कृपामात्रले लाटोलाई पनि प्रखर वक्ता बनाइदिन सक्ने भनेर जसको प्रसिद्धि छ, उसैले आज कसरी मौन व्रत लिन सकेको हो?

अथवा,  महाभारतको युद्धमा भीष्मसामु एक पटक प्रतिज्ञा भङ्ग भइसकेकाले,  हे कृष्ण ! कतै तिमीले प्रतिज्ञा पूरा गर्न नै छोडिदिएका त होइनौ ?
आज यो भूमि दुष्कर्मीहरूद्वारा निरन्तर प्रताडित भइरहेको छ। ‘धर्म’ पनि ‘निरपेक्षता’ को हतियारले भुत्ते हुन पुगेको छ।

आफ्ना असंख्य सन्तान (आउरेबाउरे) का कारण आफूलाई हजार–आँखावाला इन्द्र नै ठानिरहेको अन्धो धृतराष्ट्र आज पनि स्वर्ण सिंहासनमै विराजमान छ। यो राष्ट्रलाई धृतराष्ट्र आफैंले वीर्यदान गरेर अस्तित्व प्रदान गरेको गान्धारीको गर्भ जस्तो ठानेर होला। उ त देश नै सय टुक्रामा विभाजित गर्न अहोरात्र प्रयत्नशील छ।

अलिकति इल्याबोरेसन सोचेकी थिई कनिकाले। तर, शुक्रवार पनि कति छिटो छिटो आउँछ।



कान्तिपुर गाथा: कृष्ण भजन, बिदा कटौति र सवारी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट