PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रम ओलीको जनसम्पर्क संयोजकमा मैनाली र प्रेस सल्लाहकारमा अर्याल, प्रदेशसभाका सांसदलाई विशेष राहदानी



पासाङ ठकुल्ला

प्रम ओलीको जनसम्पर्क संयोजकमा मैनाली र प्रेस सल्लाहकारमा अर्याल, प्रदेशसभाका सांसदलाई विशेष राहदानी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनसम्पर्क संयोजकमा अच्युत मैनाली र प्रेस सल्लाहकारमा डाक्टर कुन्दन अर्याललाई नियुक्त गरेका छन्। आज बसेको मन्त्रिपरिषद बैठकले मैनाली र अर्याललाई नियुक्त गरेको हो।
 
नवनियुक्त मैनाली नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदका सदस्य हुन्। प्रतिनिधिसभा निर्वाचनमा बारा १ बाट नेकपा एमालेका उम्मेदवार रहेका मैनालीले २०३७ सालदेखि विद्यार्थी राजनीति थालेका हुन्। उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।
 
प्रेस सल्लाहकारमा नियुक्त डाक्टर कुन्दन अर्याल त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता विषयमा पिएचडी गर्ने पहिलो व्यक्ति हुन्। पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागमा उप-प्राध्यापक पदमा कार्यरत उनी लामो समयदेखि पत्रकारितामा आवद्ध छन्। अर्याल यसअघि नेपाल टेलिभिजनको अध्यक्ष, हिमाल खबरपत्रिकाको सम्पादक रहिसकेका छन्। अर्याल रेडियो नेपालको घटना र विचार कार्यक्रमका संयोजक र वुधबार साप्ताहिकका सम्पादकसमेत रहिसकेका छन्। 

त्यसैगरी, आज बसेको मन्त्रिपरिषदले नेपाली सेनामा रहेका १३ जना महासेनानीको पदावधि दुई वर्ष थप्ने निर्णयसमेत गरेको छ। 


प्रदेशसभाका सांसदलाई विशेष राहदानी

आजको बैठकले प्रदेश सभाका सबै सांसद, जिल्ला समन्वय समितिका सबै संयोजकलाई विशेष राहदानी उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै गाउँ र नगरपालिकाका प्रमुखलाई विशेष राहदानी दिने निर्णयसमेत गरेको छ।

त्यस्तै घरबहाल सम्बन्धी दोहोरो कर नलगाउने विषयमा अर्थ मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदले पास गरेको छ। 

रानी जमरा सिंचाइ परियोजनका लागि जग्गा प्राप्तिका लागि क्षतिपूर्ति दिने विषयमा पनि निर्णय गरिएको छ। 

निर्वाचनका क्रममा भएका विस्फोट र बलात्कार घटनाका विषयमा पीडितका उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell