PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

व्यवसाय गर्न डकुमेन्ट धरौटी राख्नुस्, सरकारले ऋण दिन्छ, सञ्चारकर्मी भाइबहिनीकोमा पनि रेकर्ड भयो होला: ओली



पहिलोपोस्ट

व्यवसाय गर्न डकुमेन्ट धरौटी राख्नुस्, सरकारले ऋण दिन्छ, सञ्चारकर्मी भाइबहिनीकोमा पनि रेकर्ड भयो होला: ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास र समृद्धिका लागि आफूले गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन्। राजधानीमा आयोजित राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूले गरेका प्रतिवद्धता पूरा गर्ने दोहोर्‍याएका हुन्।
 
‘मैले मन्त्रालयमा पद बहाली गर्दा केही प्रतिवद्धता गरेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले मन्त्रिपरिषद्को पहिलो बैठकबाट पनि केही प्रतिवद्धता गरेका छौँ। ती प्रतिवद्धताहरू सुनाउनका लागि होइन। काम गर्नको लागि गरेका हौं।’

उनले युवा उद्यमशीलताका लागि डकुमेन्ट धरौटी राखेर सरकारले ऋण प्रवाह गर्ने बताए। 'धरौटी राख्ने सम्पत्ति भए त आफै गरिहाल्थे नि,' प्रधानमन्त्री ओलीले भने, ‘सरकारले समर्थन गरोस्। म यो योजनाबाट यति कमाउन सक्छु भनेर युवाले योजना, सीप र क्षमता धरौटी राखेर ऋण पाउनुपर्छ। हामी अब युवाहरूलाई योजना धरौटी राखेर ऋण दिन्छौँ।’
 
उनले थपे, ‘रेल ल्याउँछु भन्दा मन्छेहरुले दुई वर्षअघि मजाक उडाएका थिए। म अहिले भन्दै छु अबको दुई वर्ष ती ठट्टा गर्ने मान्छे भेटिने छैनन्। किन भन्दा नेपालमा रेल कुद्छ। पानी जहाजको कुरा गरे। प्रधानमन्त्री कार्यालयअगाडि बाल्टीमा पानी हालेर कागजको डुंगा बनाएर तमासा गरे। हुनसक्छ २०७५ साल भित्र होइन भने २०७६ साल भित्र नेपालको पानी जहाजले नेपालको झन्डा गाडेर कसरी गुड्छ हामी देखाउँछौं। धेरै लामो समय होइन। सञ्चारकर्मी भाइ बहिनीले रेकर्ड गरी राख्या छन्।’
 
उनले अहिलेको सरकार देश बनाउन बनेकाले देश बनाएर छोड्ने बताए। नेपालको अर्थतन्त्र राम्रो अवस्थामा नरहेको उल्लेख गर्दै उनले अर्थतन्त्र सुधारको लागि सानो प्रयासले नहुने बताए। उनले अर्थतन्त्र सुधारको लागि भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको बताए।
 
उनले भ्रष्ट्राचार नियन्त्रणको लागि 'सदाचारको जयजय गान, भ्रष्टाचारको नामो निसान।' भन्ने नारासमेत सुनाए। ‘हामी भ्रष्टाचार नियन्त्रणका लागि दृढताक साथ लाग्छौँ,’ उनले भने, ‘भ्रष्टाचार गर्नेको अनुहार हेरिँदैन। अरूको पनि पर्न सक्छ। आफ्नो पनि पर्न सक्छ। अनुहार कसको थाहा हुँदैन। अनुहार नहेरिकन कारबाही हुन्छ।’ 

प्रधानमन्त्री ओलीले देश विकास र समृद्धिका लागि सदुपयोगको नीति लिएको हामीसँग जे छ त्यहीको सदुपयोग गरी अघि बढ्नु पर्ने बताए। उनले भने, ‘हामीले समुद्रले देखाउने होइन। हिमाल देखाउने हो। हामीले छाल देखाउने होइन। छाँगा देखाउने हो। हामीसँग छ, त्यहीबाट सुरु गर्छौ।’

व्यवसायीहरूलाई उद्यमशीलताका लागि कुनै समस्या भए समाधानका साथ सुझाव दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रधामन्त्री म छु ढुक्क रहनुहोस। देश र जनताका लागि जे गर्नु पर्छ म गर्छु।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell