PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विद्यालबाट तलब नपाएपछि प्रधानाध्यापक नै बने गाउँपालिकाको पियन



रासस

विद्यालबाट तलब नपाएपछि प्रधानाध्यापक नै बने गाउँपालिकाको पियन

सल्यानः करिब आठ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गरेका हेमन्तबहादुर थापा अहिले गाउँपालिकामा कार्यालय सहयोगीको रूपमा काम गरिरहेका छन्। 

विद्यालयमा पढाउँदा तलब नै नपाएपछि दार्मा गाउँपालिका–४ भल्चौरका थापा दार्मा गाउँपालिकामा कार्यालय सहयोगी बनेका हुन्। 

दार्मा–४ मा रहेको वाल कल्याण प्राथमिक विद्यालयमा २०६६ सालदेखि निजी स्रोतमा पढाइरहेका थापाले दुई वर्षदेखि तलब नपाएपछि गाउँपालिकामा कार्यालय सहयोगीको रूपमा काम थालेको बताए। 

विसं २०६६ मा एक हजार २०० रुपैयाँ मा पढाउन सुरु गरेका उनी २०६९ सालमा प्रधानाध्यापक बनेका थिए। 

'थोरै भए पनि तलब आउँछ भनेर काम गरेँ तर दुई वर्षदेखि त्यही तलब नपाएपछि बाध्य भएर विद्यालय छोडे,' थापाले भने। 

प्रधानाध्यापक नै गाउँपालिकामा गएपछि विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ। ३१ विद्यार्थी रहेको विद्यालय अहिले एक जना बालविकास सहयोगी कार्यकर्ताको भरमा मात्रै सञ्चालन भइरहेको छ।

स्थायी दरबन्दी नरहेको उक्त विद्यालयमा स्थानीयले दिने चन्दाको भरमा विद्यालय चल्दै आएको बालविकास सहयोगी कार्यकर्ता निरा बुढाथोकीले जानकारी दिइन्। 

'पहिले दुई जना शिक्षक थियौँ प्रधानाध्यापक नै विद्यालय छोडेर जानु भयो अब मलाई समस्या भएको छ,' सहयोगी कार्यकर्ता बुढाथोकीले भनिन्, 'जिल्ला शिक्षा कार्यालयले पहिले पिसिएफको पैसा पनि दिन्थ्यो यो वर्ष दिएको छैन न त स्थानीयले चन्दा नै उठाउँछन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell