PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काठमाडौंका एक पाकेटमार, जो चढ्छन् आफ्नै कार



सविन ढकाल

काठमाडौंका एक पाकेटमार, जो चढ्छन् आफ्नै कार

काठमाडौं : पाकेटमारले महँगो गाडी चढ्छन् भन्दा तपाईँ पत्याउनुहुन्छ? नपत्याउनु भए अब पत्याउनुस्। प्रहरीका अनुसार धुलिखेलका २४ वर्षीय विवेक लामाको अरु कुनै धन्दा छैन, पाकेटमारका रुपमा प्रहरीबीच 'परिचित' उनीसँग आफ्नै गाडी छ।
 
बुधवार साँझ सात बजे काठमाडौंको सिनामंगलबाट लामा पक्राउ परेपछि उनी पाकेटमारमात्र होइन, आफ्नै कारका मालिकसमेत रहेको खुल्यो। 
 
महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले लामालाई कोटेश्वरबाट चाबहिलतर्फ जाँदै गरेको बसबाट रंगेहात समात्यो। बसमा यात्रारत सरोज कार्कीको खल्तीबाट ७५ हजार रुपैयाँ पकेट मारिरहँदा उनलाई समातिएको थियो। लामालाई रंगेहात समातिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

पक्राउ परेका लामालाई सिधै गौशाला वृत्त लगियो। पक्राउ परेको केही समयमा नै उनकी पत्नीले पति समातिएको जानकारी पाइन्। त्यसपछि उनी लागिन् प्रहरीसँग सेटिङ मिलाउन। उनलाई प्रहरीसँग कसरी सेटिङ मिलाउनु पर्छ भन्ने राम्रो हेक्का थियो। त्यसै अनुसार प्रयास गरिन्।

विवेककी २३ वर्षीया पत्नी सर्मिलाले गौशालामा कार्यारत एक प्रहरी जवानलाई सम्पर्क गरिन् मोबाइलबाट। अनि विवेकलाई छोड्दिए ३ लाख २४ हजार रुपैयाँ दिने बताइन्। सम्पर्कमा पुगेका प्रहरी जवानले उनको 'अफर' स्वीकारे। राति पौने १२ बजे गौशालामा पैसा दिने सहमति भयो।

तर, परिस्थिति यस्तो बन्यो कि प्रहरी जवानले एक्लै ३ लाख २४ हजार रुपैयाँ पचाउने हिम्मत गरेनन्। घटना माथिल्लो तहमा 'ब्रिफ' भयो। त्यहीबाट घुसको प्रकरणमा ट्विस्ट आयो।

योजना अनुसार नै प्रहरी जवान टिमसहित राति गौशालाको वनकाली पुगे। पति समातिएको ४ घन्टाभित्रै सर्मिला पैसासहित आइपुगेकी थिइन्। पैसा दिनासाथ उनी नै फन्दामा परिन्। 

पाकेटमार लामा यसअघि पनि पटक-पटक चोरीको अभियोगमा परेका थिए। एसएपी पोखरेलको शब्दमा, 'लामा भिआइपी पाकेटमार' हुन्। 'लुटेको धनले विलासी जीवनयापन गर्दै आएका रहेछन्। उनको आफ्नै गाडीसमेत रहेछ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell