PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

‘अपरेसनपछि बिरामीको मृत्यु, चिकित्सकले लापरबाही गरेको भन्दै अस्पताल घेराउ’



अनन्तराज न्यौपाने

‘अपरेसनपछि बिरामीको मृत्यु, चिकित्सकले लापरबाही गरेको भन्दै अस्पताल घेराउ’

विराटनगरः विशेषज्ञ डाक्टरले अपरेसन गर्ने भनेर बिरामीका आफन्तलाई कागज गराइएको तर सिकारु डाक्टरले अपरेसन गरेका कारण मृत्यु भएको भन्दै विराटनगरको न्युरो अस्पतालप्रति आफन्त आक्रोशित भएका छन्।

सिराहा लाहानकी २५ वर्षीया रञ्जिताकुमारी शाहका आफन्तले मङ्गलबार रातभरि अस्पतालको गेटमा नाराबाजी गर्दै धर्ना दिएका छन्। मृतक शाहका पति वीरेन्द्र कुमारका अनुसार गत फागुन २८ गते कार दुर्घटनामा परेपछि रञ्जितालाई तत्काल न्युरो अस्पताल विराटनगर ल्याइएको थियो।

उनको दाहिने तिघ्राको शल्यक्रिया गत फागुन २९ गते नै गरिएको थियो। फागुन ३० मा सङ्क्रमण अझ बढेपछि उनलाई सिसियुमा सारिएको शाहले बताए।

‘३० गते बिहान बिरामी निकै छटपटाएपछि डाक्टर आएर तपाईंको बिरामीको किड्नी खराब भयो भन्दै सिसियुमा लगेका हुन्’, घटनाबारे वीरेन्द्रले भने, ‘कहाँ लैजाँदा ठीक हुन्छ म त्यहीँ लान्छु भनेर मैले डाक्टरलाई बारम्बार भनेँ तर कतै लानुपर्दैन, यहीँ ठीक हुन्छ भनेर डाक्टरले आश्वासन दिइरहे।’

अस्पतालले बिरामीका आफन्तलाई सहीछाप गराएको पत्रमा हाडजोर्नी विशेषज्ञ डाक्टर नवीन कर्णले अपरेसन गर्ने लेखेको छ। हाडजोर्नीमा एमएस गरेका डाक्टर कर्ण अर्थोपेडिक सर्जन हुन्।

तर त्यस दिन डाक्टर कर्ण विदामा बसेको हुँदा अर्का डाक्टर शीलवन्त शाहले अपरेसन गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत राजेश भट्टराईले बताए।

डाक्टर शाह एमएस नगरेका तर हाडजोर्नीमा पिएचडी गरेका डाक्टर हुन्।

मृतकका पति वीरेन्द्र र उनका आफन्त भने एउटा डाक्टरले अपरेसन गर्ने भनेर कागज गराएर अर्को डाक्टरले किन गरेको भन्दै लापरबाहीका विरूद्ध धर्नामा उत्रिएको बताइरहेका छन्।

वीरेन्द्रले लापरबाहीका कारण नै आफ्नी पत्नीको मृत्यु भएको आरोप लगाए।

उनले पत्नीमा मधुमेह, उच्च रक्तचाप, मुटुजस्ता अपरेसन गर्दा जोखिम हुने कुनै प्रकारको रोग नरहेको जानकारी दिँदै शाहले भने, ‘यो लापरबाहीविरूद्ध कारबाही गरिनुपर्छ।’

औषधिमा दुई लाख ५० हजार र अस्पतालमा एक लाख ५० हजार गरी आफ्नो ४ लाख रुपैयाँ सकिएको पनि उनले बताए।

अस्पतालको प्रमुख कार्यकारी भट्टराईले बिरामीका आफन्तले बिरामीको सङ्क्रमणका बारेमा बुझ्न नसकेको र अन्जानमै होहल्ला मच्चाएको प्रतिक्रिया दिए।

‘यस्ता घाइतेमा हड्डीभित्रको मासी (बोनम्यारो) रगतमा मिसिएर सङ्क्रमण हुने सम्भावना हुन्छ र यस्तो अवस्थामा बचाउन मुस्किल हुन्छ’, भट्टराईले भने, ‘यसलाई चिकित्साको भाषामा फ्याट इम्बोलिज्म सिन्ड्रम भनिन्छ । मृतक रञ्जितामा यही भएको हो। यो प्राविधिक कुरा उहाँहरू बुझिरहनु भएको छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell