PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रचण्ड भन्छन् - भारतले भित्तामै पुर्‍याउन खोजेको हो भने प्रतिवाद हुन्छ



प्रचण्ड भन्छन् - भारतले भित्तामै पुर्‍याउन खोजेको हो भने प्रतिवाद हुन्छ

  • रविराज बराल/पहिलोपोस्ट-
काठमाडौं : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको शान्तिप्रक्रियासँग जोडिएको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु बिडम्बना र आश्चर्यको विषय भएको टिप्पणी गरेका छन्।

निर्मल लामा स्मृति प्रतिष्ठानले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले हालै जेनेभामा भारतले जनयुद्धकालीन मुद्दाबारे दिएको अभिव्यक्तिको विरोध गरेका हुन्।

'जेनेभामा नेपालका प्रतिनिधि र भारतका प्रतिनिधिबीच जुहारी चलेको पनि देखियो। म त बडा गम्भीर भएको छु', अध्यक्ष प्रचण्डले भने, 'राष्ट्रसंघको सहयोग र संलग्नतामा अघि बढेको शान्तिप्रक्रियामा स्वयं भारतको पनि सहयोग रहँदै आएको हो। तर अहिले द्वन्द्वकालीन घटनाका मुद्दा छिमेक मुलुकले उठाउनु बडो अनौठो छ।'

भारतको यो कदमले राम्रो संकेत नगरेको प्रचण्डले बताए। 'राष्ट्रसंघको संलग्नतामा भएको शान्तिप्रक्रियाका बारेमा छिमेकी मुलुकले दिएको प्रतिक्रियाले के संकेत गर्न खोजेको हो भन्ने ठूलो प्रश्न आम नेपाली जनताको मनमा पैदा भएको छ', प्रचण्डले भने।

सबै नेपाली मिल्ने हो भने भारतको नेपालमाथि के नियत छ भन्ने प्रष्ट हुने भन्दै प्रचण्डले मधेस आन्दोलनसँग सम्बन्धित समस्यालाई सामूहिक ढंगले समाधान गर्नुपर्ने बताए।

'मैले नकारात्मक टिप्पणी गरेको होइन तर हामी मिल्ने हो भने भारत कसरी अघि बढ्छ भन्ने प्रष्ट हुन्छ, त्यसपछि भारतप्रतिको धारणा बनाउन सकिन्छ र हामीलाई धेरै कुरा छ्याङ्गै हुन्छ', उनले भने।  

अन्तर्राष्ट्रिय मञ्चहरुमा भारतले नेपालमा नाकाबन्दी नगरेको बरु नेपालमा भएको आन्तरिक समस्याले नाका रोकिएको भनेर ढाँटिरहेको भन्दै प्रचण्डले वृहद् राष्ट्रिय एकताबाट मात्र नाकाबन्दीसँग जुध्न सकिने बताए।  'भारतले जसरी अन्तर्राष्ट्रिय मञ्चहरुमा भन्ने गरेको छ कि हामीले नाकाबन्दी गरेको हैनौँ, नेपालभित्रकै आन्तरिक समस्याले भएको हो। तर हामीले त्यो स्थिति होइन भनेका छौँ, उनले भने, 'भारतको नियत बुझ्न पनि राष्ट्रिय एकता चाहिन्छ।'

भारतले नेपाल र नेपालीलाई भित्तामा पुर्‍याउने नीति लिएको भए अन्तिमसम्म प्रतिवाद हुने प्रचण्डले बताए। 'त्यस्तो भएन र हामीलाई भित्तामै पुर्‍याउन खोजिएको हो भने, नेपाल अन्त्यसम्म प्रतिवाद गर्न तयार हुन्छ। यसलाई प्रचण्डले फलानाका विरुद्ध आगो ओकल्यो नभनियोस्', प्रचण्डले भने, 'हामी मित्रतापूर्वक आग्रह गर्छौँ, यो नाकाबन्दी भारतले अन्त्य गरोस्। छिमेकीले हाम्रो चिन्ताको सम्मान गरोस् भन्ने हामी चाहन्छौँ, हामी पनि छिमेकीको चिन्ताको सम्बोधन गर्न तयार छौँ।'

नेपालको समस्यामा नखेल्न आग्रह

प्रचण्डले मधेसमा आन्दोलन नेपालको आन्तरिक समस्या भएकोले बाह्य शक्तिलाई यसमा नखेल्न आग्रह गरे। 'हाम्रो घरको परिवारको समस्या हामी आफै सुल्झाउन सक्छौँ। मधेसीहरु नेपाली हुन्', प्रचण्डले भने, 'हामी सबै मिलेर समाधान गर्छौँ। बाहिरकाले गिजोल्दिन हुँदैन भन्नेमात्र हाम्रो भनाइ हो।'

सकारात्मक ढंगले सहयोग गर्ने अधिकार सबैलाई भए पनि नकारात्मक ढंगले गिजोल्ने काम नगर्न उनले आग्रह गरे।

अवसर र चुनौती



नेपाल र नेपाली जनताले अहिले सामना गरिहरेको चुनौति इतिहासको सामान्य घटनामात्र नभएको भन्दै प्रचण्डले यो नेपाली राजनीतिमा निकै पेचिलो र गम्भीर मोड भएको बताए। 'हामी राष्ट्रका पक्षमा उभिन सकेनौँ भने निकै ठूलो दुर्घटना हुने खतरा पनि छ', प्रचण्डले भने, 'हामी कसैको विरोध गरिहरेका छैनौँ, आफ्नो अधिकार र स्वतन्त्रताको कुरा गरिहरेका छौँ।'

नेपालले आफ्नो स्वतन्त्रता र सार्वभौमिकताको कुरा गर्दा भारतविरोधी भनिएकोप्रति उनले आपत्ति जनाए। 'हामी कुनै पनि छिमेकीको विरोधी होइनौँ, हामी विरोधी बन्न पनि चाहँदैनौँ। हामीलाई हाम्रो स्वतन्त्रता प्यारो छ, जसरी अरुलाई आफ्नो स्वतन्त्रता प्यारो छ', प्रचण्डले भने, 'हामी कसैसँग झगडा चाहेका छैनौँ। हामीले हाम्रो राष्ट्र र जनताप्रतिको प्रतिबद्धता पुरा गर्न इमान्दारितासाथ उनका असल छोराछोरी बनेर त्यो पुरा गर्न चाहेका छौँ। त्यो हाम्रो नैसर्गिक अधिकार हो। हाम्रो अधिकारमाथि कसैले प्रश्न उठाउँछ भने त्यो हाम्रा लागि सैह्य हुन सक्दैन।' 

संविधान कसैका विरुद्ध नभइ नेपाली जनताको पक्षमा रहेकोले कोही पनि बेखुसी हुनै नपर्ने उनले बताए। 'हामीले नेपाल राष्ट्रको पक्षको कुरा गरिरहेका छौँ, कसैको विरोध होइन, विरोध गर्न पनि चाहँदैनौँ, हामी मित्रता चाहन्छौँ', उनले भने, 'तर हामीले हाम्रो पक्ष लिएबापत, जनताको संविधान बनाएबापत सजायँ भोग्नुपर्ने अवस्था जुन सिर्जना भएको छ, यो कुनै पनि स्वाभिमानी नेपालीलाई सैह्य हुनै सक्दैन। ठूला शक्तिले हामीलाई हेपेको र अभावमा पारेको कुनै तर्क र तथ्यबाट पुष्टी हुँदैन।'

भारतबाट भएको ज्यादती र नेपाली जनताले भोगिरहेको पीडा र छटपटी कुनै पनि अन्तर्राष्ट्रिय कानुन, मूल्यमान्यताबाट पुष्टि नहुने भएकोले भारतले जतिसक्दो चाँडो नाकाबन्दी अन्त्य गर्नुपर्ने प्रचण्डले बताए। 'नेपाली जनताको बाँच्ने अधिकार माथि चुनौति दिन कुन नियमकानुन र मूल्यमान्यताले दिएको छ?', प्रचण्डले प्रश्न गरे, 'भूपरिवेष्टित राष्ट्रका जनताको सार्वभौम अधिकारमाथि चुनौति कसरी जस्टिफाइ हुन्छ?'

अरु कुनै देशका नागरिकले आफ्नो देशको पक्ष लिँदा नेपालले सम्मान गर्ने भन्दै प्रचण्डले अरुको स्वतन्त्रताको हस्तक्षेप गर्ने देशको इज्जत र प्रतिष्ठा नबढ्ने बताए। 'हामीले भोकै बस्नुपर्ने? हामीले पैदलै हिँड्नुपर्ने? हामीले औषधि र उपचार नपाएर मर्नुपर्ने? हामीले के त्यस्तो गल्ती गर्‍यौँ?', प्रचण्डले प्रश्न गरे।

वर्तमान शक्ति सन्तुलनमा नेपालको संविधानले सामन्तवाद र साम्राज्यवादविरोधी सारतत्व बोकेको दाबी गरे। 'सबै वर्ग समुदायका नेपालीका हकअधिकारलाई अधिकतम सम्वोधन गरिएको प्रगतिशील संविधान हो', उनले भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell