PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​तीनसय भन्दा बढी औषधि बोकेका ट्रक रक्सौलमा थन्काइए



पर्सा :  मधेस केन्द्रित दलले गरेको आन्दोलन तथा भारतले गरेको अघोषित नाकाबन्दीको कारण नेपालका लागि आयात गरिएका तीनसय ट्रकभन्दा बढी औषधि सीमास्थित भारतको रक्सौलमा थन्किएका छन् । 

वीरगन्जको मितेरी पुलमा मोर्चाका नेता कार्यकर्ताले गरेको धर्ना र अघोषित नाकाबन्दीका कारण नेपालका लागि आयात गरिएका तीनसयभन्दा बढी ट्रक औषधि र औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ विगत दुई महिनादेखि सीमाक्षेत्रमा थन्किएको हो । 

युद्धकालीन अवस्थामा समेत उपचार तथा औषधिलाई रोक्न नपाइने अन्तर्राष्ट्रिय कानुन भएपनि सो कानुनलाई उल्लङ्घन गर्दै भारतले नेपालका लागि आयात गरिएको औषधि रक्सौल नाकामा थन्काई राखेको नेपालका आयातकर्ताले बताएका छन् । 

नेपाल औषधि व्यवसायी महासङ्घका उपाध्यक्ष प्रकाश खण्डेलवालले भारतको रक्सौल नाकामा नेपालका लागि आयात गरिएका तीनसयभन्दा बढी ट्रक थन्किएको जानकारी दिए । 

उनले थन्किएका ट्रकहरुको रुट परिवर्तन गरी भैरहवा लैजाँदासमेत भारतले आलु प्याज नेपाल भित्रिन दिएपनि अति आवश्यकीय वस्तुको रुपमा रहेको औषधिलाई भारतमै थन्काएको आरोप लगाए। 

रक्सौलमा महिनौदेखि थन्किएका औषधि बिग्रने सम्भावना रहेका कारण केही औषधि ट्रकबाट झारेर रक्सौलकै गोदाममा राख्नुपरेको उपाध्यक्ष खन्डेलवालले जानकारी दिए। यस्तै ट्रकमै औषधि राख्दा ट्रकको विलम्ब शुल्क (जरीवाना) तिर्नुपर्ने भएकाले केही औषधि ट्रकबाट खन्याएर रक्सौलमा गोदाम भाडामा लिएर राख्नुपरेको उनले बताए। 

भारतबाट आयात गरिएका औषधिका कच्चा पदार्थ बोकेका ट्रक सिमापारी नै थन्किएपछि वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका करिब एक दर्जनभन्दा बढी औषधिजन्य उद्योग बन्द हुने अवस्थामा पुगेको उपाध्यक्ष खन्डेलवालले जानकारी दिए। 

नेपालका लागि आयात गरिएको औषधिलाई नियम कानुन र सम्बन्धसमेतलाई मिचेर भारतले देखाएको दादागिरीबाट अन्तर्राष्ट्रिय क्षेत्रमा भारतमाथि नकारात्मक प्रभाव पार्ने नागरिक समाजका अगुवा डा दीपक शाक्यले बताए। उनले भारतले नेपाललाई असल छिमेकी मान्छ भने उसको सिमाक्षेत्रमा रोकिएका अतिआश्यकीय वस्तु औषधि लगायतलाई यथाशीघ्र नेपाल पठाउनुपर्ने धारणा व्यक्त गरे। 

करिब तीन महिनादेखिको बन्द हडताल र नाकाबन्दीका कारण दशैँभर औषधिको अभाव हुँदै जाँदा सर्वसाधारणको ज्यान नै जोखिम्मा पर्न थालेको छ । 

नेपालका लागि आवश्यक ६० प्रतिशत औषधि वीरगन्ज नाकाबाटै आयात हुँदै आउने गरेको छ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell