PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​भारतीय सेनाका नेपालीले नाकाबन्दी विरोध गर्नुपर्छ : एमाओवादी प्रवक्ता शर्मा



​भारतीय सेनाका नेपालीले नाकाबन्दी विरोध गर्नुपर्छ : एमाओवादी प्रवक्ता शर्मा

  • पहिलोपोस्ट-
काठमाडौं : एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले भारतले लगाएको नाकाबन्दी बिरुद्ध भारतमा रहेका नेपालीहरुले आवाज उठाउनुपर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘आफ्ना आमा, बुबा, दाजुभाइलाई यस्तो दुःखमा पार्ने भारतीय रवैयाको उनीहरुले विरोध गर्नुपर्ने बेला आयो।’

कारगिल, काश्मिर जस्ता ठाउँमा पनि नेपाली युवाहरुले भारतीय भूमि र भारतीय जनताको सुरक्षा गरेको दावी गर्दै प्रवक्ता शर्माले भारतले सामान्य युद्धका नियमहरुको पनि पालना नगरेर औषधी, विद्यालयका सामाग्रीको पारवहनमा अवरोध पुर्‍याएको बताए। ‘रेडक्रसमा रक्तदान गर्नेहरु छन् तर रगत संकलन गर्ने ब्याग भारतले रोकेको छ’ शर्माले भने।  

भारतले नेपालमा दानमा सामानहरु पठाएको नभई किनेर ल्याएको र उसको भूमिको प्रयोग गरेर ल्याएको सामानमा अवरोध गरेको उनले बताए। संविधान घोषणा गर्ने बेलामा विदेश सचिव पठाउनु र संविधान घोषणा गरेपछि नाकाबन्दी गर्नुले भारतको कुटनीतिक असफलता देखिएको शर्माको भनाई छ। 

मधेशमा देखिएको समस्या नेपालको आन्तरिक भएकाले यसलाई नेपालका राजनीतिक दल र सरकारले नै सुल्झाउन सक्ने उनले बताए। ‘मधेश हाम्रो र मधेशी जनसमुदाय हाम्रा नेपाली जनता भएकाले मधेशको समस्या पनि हाम्रै हो, हामी सुल्झाउछौं।’ शर्माले आफ्नो पार्टी नेतृत्व मधेशका नेताहरुसँग नियमित सम्पर्कमा रहेको बताउँदै मधेशी नेताहरु पनि वार्ता र छलफलबाट समस्याको समाधान गर्न सकारात्मक भएको स्पष्ट पारे।

भारतले लगाएको नाकाबन्दीका कारण बढेको कालोबजारी नियन्त्रण गर्न सरकारी सचेत हुनुपर्ने शर्माले बताए। पार्टी छाडेर बाबुराम भट्टराईले चालेको कदम दक्षिणपन्थी विसर्जनवाद भएको बताउँदै प्रवक्ता शर्माले भने ‘बाबुरामले एमाओवादी फुटाएर गल्ती गरे।’ यही पार्टीलाई सबै मिलेर नयाँ बनाउनु पर्छ भनेर आफूहरु लागी परेको उनको भनाई छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell