PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपालको डिभिजन २ संभावना बलियो, डिएल मेथडबाट अमेरिका १० रनले पराजित



नेपालको डिभिजन २ संभावना बलियो, डिएल मेथडबाट अमेरिका १० रनले पराजित
तस्बिर : आइसिसी

काठमाडौं: मलेसियामा जारी आइसिसी विश्व क्रिकेट लीग डिभिजन थ्री अन्तर्गत मंगलबार अमेरिकासँगको खेल दोस्रो पटक पनि वर्षाले बाधा पुर्‍याए पनि डक वर्थ लुइस मेथड अनुसार नेपाल १० रनले विजयी भएको छ। अमेरिकाविरुद्धको यो खेल जितेपछि नेपाल नेट रन रेटका आधारमा समूहको शीर्ष स्थानमा छ।  



४ खेलबाट नेपालले ६ अंक बटुलेको छ।  ६ अंक पाउने अर्को टिम युगाण्डा हो। 

नेपालले अब अन्तिम खेल मलेसियासँग खेल्न बाँकी छ। रन रेट राम्रो (+२.१०९) भएकोले नेपाललाई डिभिजन २ मा पुग्न रोक्ने अब गणितीय संभावना मात्र बाँकी छ। 

४ अङ्क रहेको मलेसिया र सिंगापुरले आफ्ना अन्तिम खेलहरु ठूलो अन्तरले जितेको अवस्थामा मात्र नेपाल डिभिजन २ मा पुग्नबाट रोकिनेछ। 

मलेसिया र नेपाल तथा सिंगापुर र अमेरिकाबीच खेल बुधबार हुनेछ। 
 
अंक तालिकामा शीर्ष स्थानमा रहेका दुई टिम मात्रै डिभिजन दुईमा पु्ग्नेछन्। शीर्ष दुई टिम बीच फाइनल बिहीबार हुनेछ। 

फाइनलमा पुग्ने टिमहरु नामिबियामा अर्को वर्ष १७ देखि २४ जनवरीमा हुने डिभिजन २ का लागि छनौट हुनेछन्। डिभिजन २ मा आयोजक नामिबियासँगै क्यानाडा, केन्या र नेदरल्यान्डस छन्। 

डिभिजन २ मा विजयी टिमका लागि एसोसिएट र एफिलियट सदस्यहरु रहेको आइसिसी इन्टरकन्टिनेन्टल कप र ५० ओभरको क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी हुने ढोका खुल्नेछ।
 

ज्ञानेन्द्र मल्ल रन लिँदै। 

जित यसरी संभव भयो
२ सय २४ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले २२ ओभरको समाप्तिमा एक विकेट क्षतिमा ७३ रन जोड्दा वर्षाले बाधा पुर्‍याएपछि खेलको परिणाम डक वर्थ लुइस मेथडबाट भएको हो।

ओपनर सुवास खकुरेल ४९ रनमा अविजित रहेका थिए भने उपकप्तान ज्ञानेन्द्र मल्ल २२ रनमा अविजित थिए। ज्ञानेन्द्र र सुवासले ७२ रनको साझेदारी गरेका थिए। खेलका म्यान अफ दि म्याच पनि खकुरेल नै भए। उनले २२ औँ ओभरमा दुई चौका प्रहार गरेका थिए। जसले नेपाललाई डकवर्थ लुइस मेथड अनुसार विजय सुनिश्चित गराएको थियो।

अर्का ओपनर नरेश बुढाएरले तीन बल खेलेर खाता नखोली आउट भएका थिए। 

एलमोर हचिन्सन अपिल गर्दै। 

टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा २ सय २३ रन बनाएको थियो। हिजो पनि अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्दै २ सय चार रन बनाएको थियो। 

अमेरिकाका लागि ओपनर फहद बबरले सर्वाधिक ५९ रन बनाए। शक्ति गौचनले क्लिन बोल्ड गर्नु अघि बबरले १ सय १४ बलको सामना गर्दै चार चौका प्रहार गरेका थिए। त्यस्तै अर्का ओपनर ट्रेलरले ४१ बल खेल्दै चार चौका र एक छक्काको मद्दतले ३६ रन बनाए। उनलाई सागर पुनले आउट गरे। ३९ रन बनाएर नेपाललाई टाउको दुखाई बनेका तिमिल पटेललाई ४७ औं ओभरमा वसन्त रेग्मीले आउट गरे।

पुच्छारका ब्याट्सम्यान मुहम्मद घोषले सोमपाल कामीको अन्तिम ओभरमा दुई छक्का प्रहार गर्दै १८ बलमा दुई चौका र दुई छक्काको मद्दतले २७ रन बनाए। अमेरिकाले अन्तिम ओभरमा १५ रन बनायो।

सुवास खकुरेल र ज्ञानेन्द्र मल्ल

हिजोको खेलमा उत्कृष्ट ब्याटिङ गरेका स्टिव मसिहालाई सागर पुनले १६ रनको व्यक्तिगत स्कोरमा आउट गरे।

अमेरिकालाई रनमा समेट्ने क्रममा शक्ति गौचनले तीन विकेट लिए। उनले बबर, अदिल भट्टी र गणेशलाई पेभेलियनको बाटो देखाएका थिए। शक्तिले १० ओभर बलिङ गर्दै ३० रन खर्चेर तीन विकेट लिएका थिए।

त्यस्तै वसन्त रेग्मीले १० ओभर बलिङ गर्दै ४० रन खर्चेर दुई विकेट हात पारे। उनले उस्मान साहुजा र तिमिल पटेललाई आउट गरेका थिए। सागर पुनले पनि ८ ओभर बलिङ गर्दै दुई विकेट हात पारे।


अमेरिकाका ख्वाजा शुजा बलिङ गर्दै।


सुवास खकुरेल म्यान अफ दि म्याच ट्रफी लिँदै। सबै फोटोः आइसिसी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell