PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एडिएसएलको सिस्टम सुधार, रिचार्ज कार्डबाट महसूल तिर्ने सुविधा सुचारु



एडिएसएलको सिस्टम सुधार, रिचार्ज कार्डबाट महसूल तिर्ने सुविधा सुचारु

काठमाडौं : नेपाल टेलिकमले सिस्टम अपग्रेड गरेपछि एडिएसएल इन्टरनेटको महसूल पहिले जस्तै रिचार्ज कार्डबाट पनि गर्न सकिने भएको छ। टेलिकमले एडिएसएलको गति पनि पहिलेभन्दा सुधार हुने बताएको छ।
 
टेलिकमले सोमबार सूचना प्रकाशित गर्दै गएको साउन ३१ गतेदेखि बन्द गरिएको यो सेवा फेरि सुरु भएको जनाएको हो। 
 
'एडिएसएल सेवाको बिल भुक्तानीका लागि प्रयोगमा रहेको जिएसएम मोबाइल सेवाको रिचार्ज कार्ड तथा एमपिओएस प्रविधिको रिचार्ज सेवा केही समयदेखि बन्द रहेकोमा हाल परीक्षणको रुपमा सुरु गरिएको छ,' सूचनामा भनिएको छ। 
 
उपभोक्ताले रिचार्ज कार्ड र एमपिओएस पिनलेसबाट एडिएसएल इन्टरनेटको महसुल तिर्दा समस्या आएपछि नेपाल टेलिकमले यसको सिस्टम अपग्रेड गरिरहेको थियो।
 
टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले अहिले सिस्टम अपग्रेड भइसकेको बताइन्।
 
तिहारअघि नै यो सेवा सुरु भएपनि परीक्षणको क्रममा रहेको उनले बताइन्। उनले भनिन्, 'अब सिस्टमले काम गर्न थालिसकेको छ। उपभोक्ताले सेवा लिन सक्छन्।' 
 
प्रधानले यो सिस्टम अपग्रेड गर्दा इन्टरनेटको गति पनि छिटो हुने बताइन्। उनले भनिन्, 'पुरानो सिस्टमले इन्टरनेटको गतिलाई पनि प्रभाव पारेको थियो। उपभोक्ताले पक्कै केही फरक पाउनु हुनेछ।' 
 
 सिस्टम अपग्रेड गर्दा एडिएसएलको सेवामा समस्या आएर उपभोक्ता इन्टरनेट कहिले चल्ने कहिले बन्द हुने समस्याबाट हैरान भएका थिए। 
 
किन बन्द भएको थियो रिचार्जबाट शुल्क भुक्तानी ?
टेलिकमका एक इन्जिनियरका अनुसार १४१३ डायल गरेर एउटै रिचार्ज कार्डले एडिएसएलको महसुल पनि तिर्न सकिने र मोबाइलमा पनि रिचार्ज गर्न सकिने भएपछि एडिएसएलको महसुल रिचार्जबाट गर्न नमिल्ने बनाइएको थियो।

नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक महिनामा जारी गरेको एमआइएस रिपोर्ट अनुसार देशभर एडिएसएलका ग्राहकको संख्या एक लाख १४ हजार छ सय ७३ जना छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell