PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मध्यरातमा सानेपामा गएको त्यो 'सुनामी' जसले डुबाउँदैछ पोखरामा कांग्रेसलाई



मध्यरातमा सानेपामा गएको त्यो 'सुनामी' जसले डुबाउँदैछ पोखरामा कांग्रेसलाई

पोखरा : काठमाडौँको सानेपास्थित नेपाली कांग्रेसको मुख्य कार्यालय। मध्यरातसम्म उम्मेदवार चयनका लागि माथापच्ची। वैशाख १८ गते साँझ गहिरिँदै थियो। लोकप्रिय युवा नेता र मन्त्री गगन थापा टिकट बाँड्ने ठाउँमा नदेखिए पनि पार्टी कार्यालयको प्राङ्गणमा यताउति चलमलाइरहेका थिए। सँगै थिए जगदीशनरसिंह केसी। कसको टिकटका लागि उनी यसरी सक्रिय थिए, कसैले पनि अनुमान गरेको थिएन। साँझ साढे ७ बजेपछि गगन त्यहाँबाट कतै हराए।

मन्त्रीसमेत रहेका कांग्रेस नेता अर्जुननरसिंह केसी राति ११ बज्दा पार्टी कार्यालयभित्रै थिए। केही घन्टाअघि ज्वाइँ गगन थापा र भाइ जगदीशनरसिंह केसीहरुको मूभमा ठप्पा लगाउँदै अर्जुननरसिंह केसीले पोखरा लेखनाथ महानगरपालिकामा कांग्रेसका तर्फबाट उम्मेदवार खडा गरे – रामजी कुँवर। 

ट्रेड युनियन कांग्रेसका नेतासँगै कुँवर केसी परिवारका बहिनी ज्वाइँ पनि हुन्। गगन र जगदीश नरसिंहको घनिभूत प्रयासले सफलता पाउँदा नरेशशंकर पालिखे भने मैदानबाट 'किक आउट' हुन पुगे। 
  

पोखरा कांग्रेसमा आएको सुनामी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवैले 'धेरै आकांक्षी भए तपाईँ नै अघि सर्नुस्' भनेपछि पोखराका पर्यटन व्यवसायी नरेशशंकर पालिखे महानगरपालिकाका मेयरका लागि तयार भए। चुनावी माहौलले उनलाई नतान्दै ठूला नेताहरुको चाहनाले उनी उम्मेदवारका हुन तयार भएका थिए। 

'जित्नेका लागि टिकट दिन' पार्टीभित्रका दुवै खेमाले नरेशलाई रोजेपछि उनी कास्कीबाट काठमाडौं हानिए। ठूलो भूगोल जोडिएको पोखरा लेखनाथ महानगरपालिकाको पहिलो मेयर बन्ने प्रतिस्पर्धामा धेरै भए पनि सतहमा उनीमात्रै देखिए। 

पूर्व पर्यटन व्यवसायी पालिखेको उम्मेदवारीमा भित्रभित्रै एक किसिमको 'सुनामी' छिर्दै थियो जसको उनी र उनका नजिकका लागि पनि अप्रत्यासित रह्यो। नेपाली कांग्रेसका हस्ती तथा मन्त्री अर्जुननरसिंह केसी र लोकप्रिय युवा नेता गगन थापाको 'खेल'ले पोखरा कांग्रेसको राजनीतिमा मध्यरातमा यस्तो आँधिबेहरी ल्यायो कि त्यसको असर यतिखेर मत गणनामार्फत् सार्वजनिक भइरहेको छ। र, भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो महानगरपालिका पोखरा लेखनाथ महानगरपालिकाको आधाआधी मतगणनाको परिणामले महानगरको आगामी नेतृत्व एमालेले गर्ने प्रारम्भिक संकेत गरेको छ। 
 

मतगणनामा देखिएको तस्बिर 

सुरुवाती मतगणनादेखि नै अग्रस्थानमा रहेर लिड गर्न नसक्नु, माओवादी केन्द्रसँग तालमेल गरे पनि अपेक्षित मत प्राप्त गर्न नसक्नु र माओवादी सोचेभन्दा कमजोर देखिनुले पोखरा महानगरमा कांग्रेसको संभावित विजयको आँकलनमा आशंकाका काला बादलहरु मडारिएका छन्।

स्थानीय पार्टी सभापति बजिरमान श्रेष्ठको आकस्मिक राजीनामाले जितको प्रतिक्षामा रहेका कार्यकर्ताबीच मनोवैज्ञानिक पराजयको तस्बिर खडा भइसकेको छ। बेला बेलामा मतगणनामै देखिएको विवादले पनि यसलाई बल दिएको छ।
 
शनिबार साँझ रोकिएर सोमबार पुनः सर्वदलीय सहमतिपछि सुरु भएको मतगणनाले पोखरा महानगरमा कांग्रेसको विजयको सुनिश्चिता दिएको छैन। केही कांग्रेसीको धारणालाई आधार मान्ने हो भने  अहिल्यै हताश भइहाल्नुपर्ने स्थिति पनि छैन। एमालेको सुरुवाती अग्रताको निरन्तरताले उसलाई हौस्याएको छ तर ढुक्क बनाइसकेको छैन।
 
अहिलेसम्मको परिणामलाई हेर्दा एमाले उम्मेद्‍वार मानबहादुर जिसी करिब ३ हजार मतले अगाडि छन्। जिसीले कांग्रेसका उम्मेदवार कुँवरलाई सुरुवाती मतगणनाबाटै लिड गरिरहेका छन्। 

कांग्रेसले आफ्नो प्रभाव क्षेत्रका रुपमा आंकलन गर्दै आएको यो महानगरमा उसले आशातित मतादेश नपाएको प्रस्ट देखिन थालेको छ। महानगरमा मेयरका उम्मेदवार कुँवर लगायतका जिल्लास्तरका नेताहरुको प्रभाव क्षेत्र भनिएका अधिकांश ठाउँमै कांग्रेसले राम्रो मत ल्याएको छैन।

सांसद शारदा पौडेलको महानगपालिकाको वडा नम्बर १, कांग्रेस नेताहरु सोभियत बहादुर अधिकारी, देवराज चालिसे र वीरेन्द्र नारायण बिजुक्छेहरुको वडा नम्बर ८ मा समेत कांग्रेसले जित हासिल गरेन। 

उम्मेदवार कुँवरको वडा नम्बर ६ मा कांग्रेसले केही बढी मत त ल्यायो तर उम्मेदवारको क्षेत्रको हिसाबले लिनुपर्ने अग्रता भने लिएन। जहाँ कांग्रेसले आफ्नो पकड भनेको थियो त्यही उसले हार बेहोर्योर। परिणाम ठीक उल्टो आएपछि कांग्रेसका नेता कार्यकर्तामा यतिखेर निराशा छाएको छ।  

पोखरा क्षेत्रको २५ प्रतिशत मतगणना सकिएपछि कांग्रेसको पोखरा लेखनाथ महानगर समितिका सभापति बजिरमान श्रेष्ठले पराजयको नैतिक जिम्मेवारी भन्दै राजीनामा दिए। उनको यो राजीनामालाई अर्थपूर्ण मानिएको छ। कांग्रेसको प्रभाव क्षेत्र र यस अगाडिका निर्वाचनहरुमा समेत एमालेले पराजय भोग्दै आएका वडा नम्बर २,३,४ लगायतमा यसपाला एमालेले राम्रो मत ल्याएर लिड गरेको छ। जुन वडामा अध्यक्ष र सदस्यमा कांग्रेस जिते त्यहाँ मतान्तर झिनो छ। 

कांग्रेसले आफ्नो राम्रो प्रभाव भएको वडा भनी आँकलन गरेका २, ३, ४, ८, ९, १०, ११, १२, १३, १५, २२, २३, २७, ३० र ३२ गरेर १५ वटा वडा सजिलै जित्ने हिसाब निकालेको थियो। त्यस्तै मेहनत गर्दा वडा नम्बर १४, २६, २८ र ३३ मा जित्न सकिने आंकलन गरेको थियो भने वडा नम्बर १, ५, ७, २९ र ३१ कठिन तथा ६, १६, १८, १९, २०, २१, २४ र २५ जित्न नसकिने निष्कर्ष थियो। तर, सजिलै जितिने निष्कर्ष निकालिएका ८,९,१३,१४ र १५ मा एमालेको झन्डा फहरायो।
 
कांग्रेसकै नजरमा २९ ३१ कठिन र २६, २८ र ३३ मेहनत गर्दा हातपर्ने सम्भावनाको आँकलन गरिएका वडाको मत गणना हुन बाँकी छ। अब मत गन्न बाँकी रहेका अधिकांश वडाहरु एमालेको राम्रो पकड क्षेत्रका रुपमा चिनिन्छन्। यी वडा एमालेका सांसद रविन्द्र अधिकारी, पूर्व मन्त्री खगराज अधिकारी, मेयरका उमेदवार मानबहादुर जीसी, र पार्टीका जिल्ला अध्यक्ष एवं पूर्व मेयर कृष्ण थापालगायतका नेताहरुको प्रभाव क्षेत्र हुन्।
 
कांग्रेसी पकड क्षेत्रबाटै सुरुदेखि अग्रता लिएका जीसीले एमालेको पकड क्षेत्रको मतगणनासँगै राम्रो मत अन्तरमा चुनाव जित्ने सम्भावना बढाएको छ। तर, बन्द मतपेटिकामा पोखरेलीको मत कसका पोल्टामा भारी छन् भनेर अहिल्यै अनुमान लगाइहाल्नु भने हतार हुनेछ।
 

कसरी भयो कांग्रेस कमजोर ?

दुई दशकपछि भएको निर्वाचनमा कांग्रेसको आंकलनमा महानगरमा ६० हजार मत ल्याएर मेयर र उपमेयरसहित बहुमत वडाहरुमा चुनाव जित्छौं भन्ने थियो। केन्द्रीय सहमति अनुसार माओवादी केन्द्रले मेयरमा कांग्रेसलाई समर्थन गरेको थियो। उसको महानगरमा करिब २० हजार मत आउने अनुमान गर्दे कांग्रेसले त्यस मध्येबाट १० हजार आफ्नो पार्टीले र महानगरका ३३ वडाबाट करिब ५५ हजार मत आफुले पाउने क्यालकुलेसन गरेको थियो। तर, माओवादी केन्द्रका उपमेयरले अहिलेसम्म हासिल गरेको मतको आंकलन गर्दा महानगरमा उनको ५ हजार मात्र मत आउने देखिन्छ। 

अर्को तर महत्वपूर्ण कारण : सिफारिश गरिएका नरेशशंकर पालिखे र चन्द्रावती पौडेलको ठाउँमा उनीहरुलाई हटाएर रातारात रामजी कुँवर र सरस्वती गुरुङको नाम सिफारिस हुनु। जसले पार्टीको एउटा खेमा पूरै बिच्कियो।   

अर्को कारण महानगरको पुर्नसंरचना गर्दा राजनीतिक जोडघटाउ गदै सांसद रविन्द्र अघिकारीले चतुर भएर एमालेको पकड क्षेत्र बनाउन विशेष भूमिका खेले। महानगरमा एमालेका पकड क्षेत्रका रुपमा चिनिएका केही साबिकका गाविसलाई गाभ्दा कांग्रेसले पत्तो नै पाएन।

यस्तै एमालेका उम्मेदवारले ५० देखि ५५ हजार र बाँकी अन्य दलले मत ल्याउने कांग्रेसले आंकलन गरेको थियो। तर, परिणाम ठ्याक्कै उल्टो देखिन थालेपछि कास्की कांग्रसको नेतृत्व अब हारियो भन्नेमा निष्कर्ष नजिक पुगेको छ। यसैको कडीको रुपमा महानगर समितिका सभापति श्रेष्ठको राजीनामालाई लिन सकिन्छ। अन्तर्घातलाई नजिकबाट नियालेका उनले पार्टीले हार्ने निश्चित भएपछि नै राजीनामा दिएका हुन्। (पोखराबाट नरहरि पौड्यालको सहयोगमा)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell