PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विद्युत प्राधिकरणको उर्दी कसैले टेरेनन्, प्राधिकरण भन्छ- भाषाले धोका दियो



विद्युत प्राधिकरणको उर्दी कसैले टेरेनन्, प्राधिकरण भन्छ- भाषाले धोका दियो

​काठमाडौं : विद्युत प्राधिकरणले कुकुर तिहारदेखि नै साँझ ५ बजेदेखि १० बजेसम्म विद्युत प्राधिकरणको विद्युत प्रणालीबाट घर, सडक, पसल, मलमा उत्सव बत्ती नबाल्न गरेको उर्दीलाई सबैले बेवास्ता गरेका छन्। 

अघिल्ला वर्षहरुमा झैँ ती ठाउँमा झिलिमिली बत्ती बलेकै छन्। प्राधिकरणको भार प्रेषण केन्द्रसित समेत सल्लाह नगरी यो सूचना छापिएको थियो। प्राधिकरण स्रोत भन्छ, 'सूचना त हरेक वर्ष आउँथ्यो तर यसपालि भने भाषा अलि ठाडो भएकाले समस्या भयो।'

पोहोरपरार प्राधिकरणको सूचनामा पिक आवरको समयमा फ्रिज, आइरन, राइसकुकर, एसी जस्ता बढी विद्युत खपत हुने उपकरण नचलाउन भनिन्थ्यो। यस पटक भने उत्सव बत्तीसमेत नबाल्न र उर्दीको बेवास्ता गरे लाइन काट्ने चेतावनी प्राधिकरणको सूचनामा थियो।

प्राधिकरण स्रोत भन्छ - 'विद्युत भार बढी हुनासाथ स्वत: फ्युज झर्छ। प्राधिकरणबाट लाइन दिँदा नै यति क्षमता भनेर उल्लेख गरिएको हुन्छ। ग्राहकले तोकिएकोभन्दा बढी अम्पाएर प्रयोग गर्न पाउँदैनन्।' तर, प्राधिकरणले ग्राहकको घरमै गएर लाइन काटिदिनेसम्मको सूचना गर्‍यो।

कुन ग्राहकले कति विद्युत उपभोग गरिरहेको छ भनेर रियल टाइम जाँच्ने संयन्त्र पनि प्राधिकरणसँग छैन। प्राविधिक पक्षमा थोरै पनि विचार नगरी सूचना जारी हुँदा प्राधिकरण आलोचनाको सिकार हुन पुगेको हो।

'हामीले सूचनामा अत्यावश्यक नपरी उच्च विद्युत खपत गर्ने उपकरण प्रयोग नगरी विद्युत खपत कम गर्न सहयोग गरिदिनुस् भन्न खोजेका हौं,' स्रोतले भन्यो,'तर यसपटक भाषा अलि ठाडो हुँदा भन्न खोजेको कुरा फरक ढंगबाट बाहिर आयो।'

नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई मिटर वितरण गर्ने समयमा निश्चित अम्पाएर विद्युत खपत गर्ने गरी मिटर दिएको हुन्छ तर प्राधिकरणसँग भने ग्राहकले के कति बत्ती खपत गर्‍यो भनेर नाप्ने कुनै संयन्त्र छैन। ग्राहकले धेरै बत्ती बालेर घरमा जडान गरेको मिटर बक्सले त्यसको भार वहन नगरेर फ्यूज गए मात्रै बत्ती जान सक्छ।

तर प्राधिकरणको सूचनामा भने उत्सव बत्ती बाले लाइन काट्ने उर्दी थियो। बत्ती बाल्नुलाई अपराध गरे सरह हुनेगरी सूचना जारी भएको थियो।तोकिएभन्दा धेरै बत्ती बालेको भन्दै लाइन काट्ने संयन्त्र हुँदै नभएको प्राधिकरणका अधिकारी बताउँछन्।

लोडसेडिङ बढ्न सक्ने 

प्राधिकरणले लक्ष्मी पूजाको रात १३ सय मेगावाट विद्युत माग हुने जनाएको छ। १३ सय मेगावाट माग भएपनि प्राधिकरणको सप्लाई क्षमता भने आठ सय मेगावाट मात्रै छ। प्राधिकरणले तिहारको बेला विद्युत खपत उच्च हुने हुँदा त्यसलाई व्यवस्थापन गर्न नियमित लोडसेडिङ समय बाहेक अरु समयमा पनि बत्ती काट्न सक्ने 'सेड्युलसमेत तयार गरेको जनाएको छ।

प्राधिकरणले तिहारमा राष्ट्रिय प्रसारण लाइनमा करिब एकसय ३० मेगावाट विद्युत थप हुने पनि जनाएको छ। प्राधिकरणले तिहारकै लागि भनेर ९२ मेगावाटको कुलेखानी सञ्चालनको तयारी गरेको छ भने हेटौंडाको डिजेल प्लान्टबाट पनि १० मेगावाट विद्युत थप्न लागेको छ। यसका साथै विद्यु उत्पादन हुने सबै पावर प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी प्राधिकरणको छ।

सामान्य अवस्थामा नेपालमा करिब ११ सय मेगावाट विद्युत आवश्यक भएपनि प्राधिकरणले सातसय मेगावाट मात्रै सप्लाइ गर्न सकिरहेको छ। प्राधिकरणले अहिले हप्तामा साढे ५८ घण्टा लोडसेडिङ गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell